१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७७ फाल्गुण १९ बुधबार ०८:२०:००
Read Time : > 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

सुधार गर्न तत्पर होऊ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७७ फाल्गुण १९ बुधबार ०८:२०:००

एउटा गाउँमा बाबु–छोरा बस्ने गर्थे । बाबुचाहिँ राम्रो चित्रकारमा दरिन्थे । उनीहरूको जीवन चित्रकारितामै निर्भर थियो । बाबुले यो कला छोरालाई पनि सिकाए र केही समयपछि दुवै बाबु–छोरा मिलेर आफ्नो चित्र बेच्न बजार जान थाले । बाबुको चित्र जति मूल्यमा बिक्ने गथ्र्यो, छोराको चित्र भने त्योभन्दा निकै कममा बिक्री हुने गथ्र्यो ।

एक दिन छोराले बाबुलाई भन्यो, ‘चित्र बनाउनका लागि तपाईंले जत्तिकै मिहिनेत मैले गर्दा पनि मेरो चित्र जम्मा पाँच सयमा बिक्री हुन्छ, तर तपाईंको चित्र पाँच हजारमा बिक्री हुन्छ । मानिसले मेरो चित्रको न्यून मूल्यांकन किन गरेका होलान् ?’ बाबुले छोराको प्रश्नलाई गम्भीरतापूर्वक लिँदै भने, ‘मलाई थाहा छ, तिमीले आफ्नो चित्र तयार पार्नका लागि मैलेजत्तिकै मिहिनेत गर्ने गरेका छौँ, तर तिमीमा अझै पनि कमजोरी छ । त्यसैले सुधार गर्नका लागि प्रयास गर ।’ छोराले बाबुको कुरालाई महत्व दियो र थप मिहिनेत गर्न थाल्यो । समय बित्दै गयो र बाबुको भन्दा छोराको चित्रको मूल्य दोब्बरमा बिक्री हुन थाल्यो ।

एक दिन दुवैजना बजारबाट फर्कँदै गर्दा छोराले बाबुलाई भन्यो, ‘अब त मेरो चित्र तपाईंको भन्दा दोब्बर मूल्यमा बिक्री हुन थालेको छ ।’ छोराको कुरा सुनेर बाबुले भने, ‘तिम्रो चित्र मेरोभन्दा दोब्बरमा बिक्री हुनु निकै खुसीको कुरा हो, तर पनि त्यसमा धेरै सुधारको आवश्यकता छ । त्यसैले तिमीले आफ्ना कमजोरी सुधार्ने प्रयास जारी राख ।’ बाबुको कुरा सुनेर छोराले भन्यो, ‘अब त म राम्रो चित्रकार भइसकेँ, किनभने मेरो चित्र तपाईंको भन्दा पनि दोब्बर मूल्यमा बिक्री हुन थालेको छ । अब पनि मैले सुधार गर्नुपर्ने के छ र ?’ छोराको कुरा सुनेर बाबुले नम्र हुँदै भने– छोरा ! जीवनमा कहिल्यै पनि आफूभित्र अहंभाव आउन नदेऊ । महान् कलाकार बन्न चाहन्छौ भने प्रत्येक पल आफूलाई सुधार गर्न तत्पर होऊ र आफूभित्र अहंभाव आउन नदेऊ ।