मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७७ फाल्गुण १९ बुधबार ०७:२६:००
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

असुरक्षित प्रधानमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७७ फाल्गुण १९ बुधबार ०७:२६:००

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा उनको पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्दै आफूमाथि भौतिक आक्रमणको सम्भावना भएको र त्यसले आफ्नो ज्यानै पनि जान सक्ने खतरा भएको जनाउ दिएका छन् । आफूमाथि केही तलमाथि भइहाले पनि पार्टी र कार्यकर्ताले आफ्ना लक्ष्य पूरा गर्ने विश्वास पनि उनले व्यक्त गरे । उनको भनाइ भावुक थियो, कार्यकर्ताले खुब ताली बजाएर आफ्ना नेताको भावुकतामा साथ दिए ।

उनी कार्यक्रममा बोलिरहँदा उनका नजिक देशको सुरक्षाको जिम्मेवारी लिने गृहमन्त्री पनि थिए, रक्षा मन्त्रालय स्वयं प्रधानमन्त्रीको मातहत छ र राष्ट्रिय गुप्तरच विभागसमेत उनले प्रधानमन्त्री कार्यालयमातहत राखेका छन् । यसरी सम्पूर्ण सुरक्षा निकायका प्रमुख रहेका व्यक्तिको जीवन नै तलमाथि हुन सक्ने गरी कसबाट कस्तो प्रकारको खतरा उत्पन्न भएको हो भन्ने प्रश्न उठेको छ । त्यसभन्दा बढी उनले यस्तो खतरा महसुस गरेको कुरा सार्वजनिक वृत्तमा यसरी नै भन्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न पनि उठेको छ । 

देशलाई आन्तरिक तथा बाह्य सुरक्षा खतराबाट मुक्त राख्ने जिम्मेवारी लिएको व्यक्ति नै असुरक्षित महसुस गरेर हिँडिरहेको छ भने अरूले कसरी सुरक्षित रहेको महसुस गर्ने भन्ने जिज्ञासा पनि स्वतः उठ्ने नै भयो । उनको अभिव्यक्तिपछि सुरक्षा क्षेत्रका अधिकारी र विज्ञहरूले यो अभिव्यक्ति राजनीतिक रूपले या शासन सञ्चालनका न्यूनतम दायित्व र कर्तव्य पालनाका दृष्टिले समेत आपत्तिजनक रहेको बताएका छन् । त्यसो हो भने प्रधानमन्त्रीले यही वेला यस्तो भनाइ किन राखे त ? प्रधानमन्त्री ओली पछिल्लो समय नेपालले पाएका शक्तिशाली प्रधानमन्त्री मध्येका हुन् । राजनीतिक रूपले उनले निर्वाचन जित्दा जनताको अपार समर्थन थियो । उनी देशको सबैभन्दा शक्तिशाली राजनीतिक दलका मुख्य नेता थिए । 

देशलाई आन्तरिक तथा बाह्य सुरक्षा खतराबाट मुक्त राख्ने जिम्मेवारी लिएको व्यक्ति नै असुरक्षित महसुस गरेर हिँडिरहेको छ भने अरूले कसरी सुरक्षित रहेको महसुस गर्ने भन्ने जिज्ञासा उठ्ने नै भयो
 

शान्तिपूर्ण र वैधानिक राजनीतिका सीमाबाहिर रहेको नेकपाको विप्लव समूहसँग स्वयं प्रधानमन्त्री संवादमा छन् र विप्लव शान्तिपूर्ण राजनीतिमा आउन लागेको भनेर झापामा आइतबार मात्रै ओलीले सार्वजनिक रूपमा बोलेका छन् । कुनै आतंकवादी समूहको सक्रियता पनि नेपालमा देखिएको छैन । त्यसमाथि प्रधानमन्त्रीलाई नै लक्षित गर्ने गतिविधि गरिरहेको समूहको अस्तित्व पनि देखिएको छैन ।

भारतीय गुप्तचर संस्थाका प्रमुखसँग बालुवाटारमा तीन घन्टा संवाद गरेर भारतसँग एउटा कामकाजी सहमतिमा पुगेका प्रधानमन्त्रीविरुद्ध बाह्य गुप्तचर संस्थाको षड्यन्त्रको सम्भावना पनि कमसेकम देखिन्न । यस्तो अवस्थामा प्रधानमन्त्रीले किन यस्तो अभिव्यक्ति दिए । अवश्य पनि उनी भयभित मनोदशामा छन् । भयभित मनोदशामा भएको व्यक्ति आफूलाई कसैले आक्रमण गर्ने र हत्यासम्म गर्न सक्ने भयले ग्रस्त हुन्छ । यो काल्पनिक शत्रु र हत्याको आशंका हुन थालेपछि मानिस बेचैन हुन्छ । जता हेर्‍यो त्यतै जोखिम मात्र देख्छ । ओलीको यस्तो अवस्थाबारे मनोचिकित्सकले विस्तृत रूपमा व्याख्या गर्न सक्लान् । 

त्यसो त उनी पछिल्ला राजनीतिक घटनाक्रमपछि आफ्नो राजनीतिक भविष्यलाई लिएर भयभित छन् भन्ने नै देखिन्छ । आफैँले विगतमा गरेका निर्णयका कारण छँदाखाँदाको बहुमतको सरकार अप्ठ्यारोमा परेको, आफ्नो दलबाट सरकारको नेतृत्व नै अर्को दलमा जान सक्ने र जनमतको अपमान गरेको आरोप खेप्नुपरेको, दलभित्र आफूले लिएको कदमको विरोधले अत्तालिएका उनले भावनात्मक मध्यमबाट आमजनता र कार्यकर्ताको समर्थन लिन खोजेको भान हुन्छ । कारण जे–जस्ता भए पनि यो भनाइले उनी अब देशको प्रधानमन्त्रीको जिम्मेवार पदमा बसिरहन र सरकारको नेतृत्व गर्न बिलकुल अयोग्य छन् भन्ने सन्देश प्रसारित भएको छ ।