मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
बालकृष्ण माबुहाङ
२०७७ फाल्गुण १८ मंगलबार १०:०८:००
Read Time : > 6 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

शिक्षामा प्रतिगमन कहिलेबाट ?

Read Time : > 6 मिनेट
बालकृष्ण माबुहाङ
२०७७ फाल्गुण १८ मंगलबार १०:०८:००

बृहत् नागरिक आन्दोलनको ब्यानरमा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सक्रियतामा फागुन ३ गते ‘प्रतिगमनविरुद्ध प्रतिरोध’ कार्यक्रमको आयोजना भयो । कार्यक्रममा प्राध्यापकहरू सञ्जीव उप्रेती, विजयलाल कर्ण, तारालाल श्रेष्ठलगायत वरिष्ठ पत्रकार नारायण वाग्ले, राजेन्द्र महर्जन, उज्ज्वल प्रसाईंलगायत थुप्रै युवा पत्रकारको सहभागिता थियो ।

नागरिक आन्दोलनका हस्ती श्याम श्रेष्ठ, विमल अर्याललगायत थुप्रै नागरिक अधिकारकर्मी, कवि साहित्यकारको सहभागिता थियो । खासगरी शिक्षामा निजीकरण, माफियातन्त्र, दलीय भागबन्डा, अव्यावहारिक शिक्षालगायत थुप्रै विषयमा वक्ताहरूको विचार सुन्न पाइयो । 

मुलुकको सबैभन्दा पुरानो र ठुलो विश्वविद्यालयमा आफूले अध्यापन गरेको २५औँ वसन्त पार गरिसकेको समय, अध्यापन गरिरहेको विषय, विश्वविद्यालयको हबिगत र वक्ताहरूले व्यक्त गरेको विचार सुन्दा, एउटा भीमकाय बेमेल शिक्षामा देख्दा, साँच्चै नै ठूलो प्रतिगमन भइरहेको बुझ्न सकिन्थ्यो । त्यसकारण यो आलेखको उद्देश्य शिक्षामा प्रतिगमन र बृहत् नागरिक आन्दोलनको प्रतिरोधको विषयमा प्रकाश पार्नु रहेको छ ।

संसारको यो पाटो, इन्डियन कन्टिनेन्टको मानव बसोवास बुझ्दा डेकन उपत्यका, गंगाको मैदान र हिमालयको दक्षिणी पोल्टामा जीवन व्यतीत गर्ने मानव जातिहरूको चर्चा गर्नुपर्ने हुन्छ । मानव जातिको सुरुवाती बसोवासको कुरा गर्दा आस्ट्रिक र द्रबिडियन जनजाति डेकन र गंगेटिक प्लेनमा सबैभन्दा पहिले विचरण गरेको इतिहासवेत्ता तथा नृवंशशास्त्रीहरूको मत छ ।

क्रमशः पूर्वबाट छिरेका मंगोलियन नश्लका जनजाति, हिमालयको दक्षिणी पोल्टाको कुना–कन्दरामा आदिम जातिका रूपमा बसोवास गरेको बुझिन्छ । पश्चिमबाट मोहनजोदारो र सिन्धुघाँटी पार गरेर गंगाको मैदानमा वैदिक आर्यहरू आइपुग्दा द्रबिडियनहरूसित संसर्ग भयो । समयक्रमसँगै आस्ट्रिकहरू विस्थापित भएर अन्ततः आन्दमान निकोबारतिर पुगे भने द्रबिडियनहरू भारतका विभिन्न प्रान्त तमिलनाडु, बिहार, झारखण्डसम्म सर्वत्र छन् । मंगोलियन भारतको उत्तर–पूर्वी क्षेत्रदेखि फैलिँदै नेपालको पहाडी, हिमाली, भित्री–मधेस र मधेसमा विशेषतः सघन बसोवास छ । वैदिक आर्यको फैलावट उत्तर भारत हुँदै नेपालभरि छरिएर रहेको अवस्था छ ।

सभ्यताको हिसाबले मोहनजोदारो र इन्दुस उपत्यकाबाट विकास भई विस्तारित वैदिक आर्य सभ्यताले गंगाको मैदान टेकेपछि द्रबिडियन जातिसितको उठबस र सम्मिश्रणले सनातन हिन्दू सम्प्रदायमा कथित तल्लो जात, अछुतको निर्माण गरियो । उपल्ला जातकाले हजारौँ वर्षदेखि कथित तल्लो जातमाथि दलन गरे । कथित उपल्ला जातको हजारौँ वर्षदेखिको उत्पीडन स्मरण गराउँदै बाबासाब डा. भीमराव अम्बेडकरले आफूलाई ‘दलित’ नाम दिएका थिए । जुन मौलिक रूपमा द्रबिडियन मूलको भएको कतिपय विद्वान्को तर्क छ ।

नेपालीमा भएको चेतनाले परिकल्पना गरेको ज्ञान–विज्ञान हाम्रो शिक्षाको विषयवस्तु बनेन । एकातिर शासक वर्ग युरोपियन भाषा, शिक्षा, संस्कृति र रहनसहनलाई आधुनिकीकरण र विकासको सूचक मान्ने, अर्कोतिर जनता आ–आफ्ना संस्कृति, भाषा, र मूल्य–मान्यताप्रति अनिच्छुक बन्न थालेपछि नेपाल र नेपालीको उच्च शिक्षा बेकामे बन्न पुग्यो ।

जैविक रूपमा मानवीय चेतना र विकासको दृष्टिकोणबाट लिने हो भने मानिस सधैँ अग्रगमनकै बाटोमा हुन्छ । तर, त्यो सभ्यता र संस्कृतिको विकासको दृष्टिकोणमा कति अग्रगामी छ भन्ने मात्र हो । जस्तो, ब्राह्मी लिपिको विकास इसापूर्व ५००–२५० बीचमा विकसित गरी मानवीय चेतना, परम्परा, मूल्य–मान्यताको लेखनकार्य जुन तरहमा भयो, त्यो अहिले २५ सय, तीन हजार वर्षपछि पनि मननीय छन् । वैदिक आर्यहरूको सभ्यताको सूचक ब्राह्मी लिपिको विकास र लेखन पद्धतिले आर्य संस्कृतिको विकास मात्र गरेन, धेरै जाति, तथा जनजातिको विषयमा जात व्यवस्थाको बिटुलो संस्कृतिको साहित्यसमेत सिर्जना गर्‍यो ।

त्यसरी नै सातौँ शताब्दीतिर तिब्बती राजा स्रङचङगम्पोको पालामा सम्बोटा लिपिको विकास भयो । तिब्बतीहरूको चेतना, संस्कृतिको लेखन र चिन्तनमननमा उपयोगी बन्यो । नेपालकै पूर्वी क्षेत्रमा मोराङ राजाको पहलमा किराँत लिपिको विकास नवौँ शताब्दीमा गरेर प्रचलनमा ल्याएको भनिएको छ, जुन पछि ‘सिरिजंगा’ले विकास गरेर १८औँ शताब्दीमा चल्ती लेखनमा ल्याएको पाउँछौँ । ११औँ शताब्दीमा विकास गरिएको नेवारी भाषाको रञ्जना लिपि मध्यकालीन नेपालको एउटा प्रमुख लिपिका रूपमा प्रचलनमा थियो, जुन नेपाल–तिब्बतबीचको सम्बन्धमा प्रयोग हुन्थ्यो ।

उत्खनन वा आविष्कार र प्रचलनका प्रयास विशुद्ध मानवहितका लागि भए वा अरू कामका लागि भए भनेर घोत्लिएर सोच्दा, समय–कालमा राज्यको उत्पत्ति र विकासक्रममा एउटा समूहले सभ्यता, संस्कृति र शिक्षालाई आफ्नो समूहविशेषको हितका लागि प्रयोग गर्न थालेको वेलादेखि नै प्रतिगमन पनि सँगसँगै सुरु भयो ।

उच्च शिक्षाको कुरा गर्दा प्राध्यापक कमलप्रसाद मल्लका अनुसार दशौँ, एघारौँ शताब्दीताका उत्तर भारतमा, मगधकालमा विक्रमशीला महाविद्यालय (विश्वविद्यालय)मा नेपालबाट रत्नश्री, विरोचन, कनकश्री नामका विद्वान्हरू अध्येताका रूपमा गएका थिए । बागेश्वरी कृति महाविद्यालयको विभागीय प्रमुख थिए । त्यसवेला विभागीय प्रमुख हुनु भनेको ठूलो इज्जतको कुरा हुन्थ्यो ।

काठमाडौं उपत्यकाका आजका ‘बहाल’हरू तत्कालीन शैक्षिक केन्द्र थिए, जहाँ तन्त्रशास्त्र, प्रस्तरकला, काष्ठकला, मूर्तिकला, चित्रकला इत्यादिको अध्ययन–अध्यापन गरिन्थ्यो । एघारौँ शताब्दीताका भारत वर्षमा महाविद्यालयको उच्च शिक्षामा काठमाडौँको महत्वपूर्ण प्रभाव थियो । जब मुगलको आक्रमणमा परी महाविद्यालयजस्ता नालन्दा, विक्रमशीला महाविहार ध्वस्त भए, ती विश्वविद्यालयमा अध्यापनरत प्राध्यापकले पुस्तकको संरक्षण र महत्व बुझेर हजारौँ पुस्तक लिएर आएका थिए । शिक्षा (उच्च)मा त्यत्रो महत्व बुझेको नेपालको इतिहास, संस्कृति र सभ्यता आज खण्डहर बनेको छ ।

आजको दिन पनि पाटन, ललितपुरतिर प्रस्तरकला, काष्ठकला, र मूर्तिकला परम्परा धान्न नसकेर घिडघिडोमा केही परिवारको व्यवसाय बनेको छ । तर, ती उच्च शिक्षाको ज्ञानको न भण्डार बने, न ज्ञान विस्तार गर्ने उच्च शिक्षाको केन्द्र । मध्यकालमा काठमाडौंमा तीनवटा भाषा नेवारी, मैथिली र संस्कृतको बरोबर प्रयोग हुन्थ्यो । आज संस्कृत भाषा दैनिक बोलचालमा मरिसकेको अवस्था छ भने मैथिली मिथिला क्षेत्रका मैथिल ब्राह्मणको घरपरिवारको परिसरमा बाँचेको छ । नेवारी नेवार जनजातिका पछिल्लो पुस्तामा प्रयोग त छ, तर बिस्तारै लोपोन्मुख अवस्थामा । 

प्राध्यापक माणिकलाल श्रेष्ठका अनुसार ‘नेवारी भाषा किराँतकालीन भाषा थियो, जुन लिच्छवीहरूको आगमनपश्चात् प्रतिगमनमा पर्‍यो । त्यसपछि मल्ल राजाहरूले देश भाषाका रूपमा नेवारी भाषालाई मान्यता दिए, जुन किराँत र मैथिली भाषाको बरोबर मिश्रण थियो ।

जंगबहादुर राणाको पालामा जंगबहादुरले देखेजति बौद्ध धर्मसम्बन्धी नेपाल भाषाका पुस्तक फालिदिए, जुन तत्कालीन ब्रिटिस राजदूत ब्राइन हड्सनले बेलायत लगे । ती पुस्तक आज पनि लन्डनको म्युजियममा सुरक्षित छन् । सन् १८५० मा युरोप भ्रमणबाट फर्केपछि सन् १८५४ मा थापाथली दरबारको भुइँतलामा जंगबहादुरले आफ्ना छोरा, भतिजलाई अंग्रेजी भाषा पढाउन सुरु गरे । त्यहाँ राणाखलक मात्र पढ्न पाउँथे, सन् १८९६ पछि गैरराणाका छोरा–छोरीका लागि पनि खोलियो । 

सन् १९१८ मा त्रिचन्द्र कलेजको स्थापना भयो भने सन् १९२४ मा पहिलोपटक काठमाडौं पटना बोर्डको एसएलसी केन्द्र तोकियो । सन् १९३३ पछि मात्र आफ्नै एसएलसी बोर्ड गठन भयो । यसरी हेर्दा सन् १९५९ मा त्रिभुवन विश्वविद्यालयको स्थापनापछि विधिवत् उच्च शिक्षाको सुरुवात नेपालमा नै भएको थियो । 

प्रजातन्त्र, समाजवाद, राष्ट्रियताको ध्येय बोकेको नेपाली कांग्रेसकोे नवउदारवादबाट शैक्षिक संस्थाहरू व्यापारीको हातमा पुग्यो । साम्यवादी विचारधाराको सरकार आज छ, नेपालमा । तर, सार्वजनिक चिकित्सा शिक्षाको सपना बुन्ने डा. गोविन्द केसीलाई अनशनको घाटमा पुर्‍याएर साम्यवादी नेताहरू निजी विद्यालय खोलेर नाफा कमाउन व्यस्त छन् । 

मानव चेतनाअनुरूप विकास भएको शिक्षा र उच्च शिक्षाले कला, प्राकृत र समाज विज्ञानको उन्नयन हुँदा युरोप, अमेरिका, जापानजस्ता मुलुकहरूमा उच्च शिक्षालाई अनुकूल बनाउँदै लगे । तर, हाम्रो जस्ता धेरै मुलुकमा शिक्षा शासकको चाकरी गर्ने, जागिरे बन्ने ध्येयभन्दा पर गएन । नेपालीमा भएको चेतनाले परिकल्पना गरेको ज्ञान–विज्ञान हाम्रो शिक्षाको विषयवस्तु बनेन । एकातिर शासक वर्ग युरोपियन भाषा, शिक्षा, संस्कृति र रहनसहनलाई आधुनिकीकरण र विकासको सूचक मान्ने, अर्कोतिर जनता आ–आफ्ना संस्कृति, भाषा, र मूल्य–मान्यताप्रति अनिच्छुक बन्न थालेपछि नेपाल र नेपालीको उच्च शिक्षा बेकामे बन्न पुग्यो । 

२०औँ शताब्दीको मध्यतिर मुलुकमा प्रजातन्त्र आयो, तर प्रजातान्त्रिक पद्धति र त्यसको मूल्य–मान्यता प्रवद्र्धन गर्ने शिक्षा आएन । सन् १९६० को दशकमा राजा महेन्द्रले ‘कु’ गरेर नेपाली हावापानी र माटोसुहाउँदो पञ्चायती व्यवस्था ल्याएको भने । तर, त्यो समयको शिक्षाले पनि नेपाली समाजको विविधता, हावापानी र माटोको कुरो गरेन । ३० वर्षपछि बहुदलीय प्रजातन्त्र आयो, तर पनि समाज, संस्कृति र मानवीय बहुलताको मूल्य–मान्यता शिक्षामा उतारिएन ।

प्रजातन्त्र, समाजवाद, राष्ट्रियताको ध्येय बोकेको नेपाली कांग्रेसले नवउदारवादी शिक्षा भित्र्यायो । शैक्षिक संस्थाहरू व्यापारीको हातमा पुग्यो । साम्यवादी विचारधाराको सरकार आज छ, नेपालमा । तर, सार्वजनिक चिकित्सा शिक्षाको सपना बुन्ने डा. गोविन्द केसीलाई अनशनको घाटमा पुर्‍याएर साम्यवादी नेताहरू आफैँ निजी विद्यालय खोल्न र नाफा कमाउन व्यस्त छन् । नेकपा माओवादी १० वर्ष सशस्त्र युद्ध गरेर सत्तामा पुग्यो, तर भुइँमान्छेहरूको जीवन, संस्कृति, वेशभूषा सबै भुल्यो ।

बृहत् नागरिक आन्दोलनमा विशेषतः दलीय विचारधाराले कांग्रेस वा कम्युनिस्ट पार्टीले छरेको सपनामा हुर्केका पुस्ता, तर बेथितिले विरक्तिएका ऊर्जाशील युवाहरूको आवाज एकैपटक विस्फोट भएको अनुभव हुन्छ । उनीहरूको आँखा, बोली र सक्रियतामा उनीहरू नै नेपाल र नेपालीलाई माया गर्ने भविष्यका नेता हुन् जस्तो लाग्छ ।

उनीहरूबीच जात, धर्म, लिंग, भाषा, संस्कृतिको विविधता छ, तर भेदभाव छैन । हुन त खड्गप्रसाद ओली, प्रचण्ड, माधवकुमार नेपाल, शेरबहादुर देउवाले पनि क्रान्तिको कुरो गर्दा ‘इगालिटारियन’ संस्कृतिका हौँ भनेका थिए, तर आज त्यो बिल्कुलै छैन । यथास्थितिका पृष्ठपोषकझैँ देखिन्छन् । आजभोलिका अभियन्ताहरू त्यही हुन्नन् भन्ने के विश्वास ? तर, उनीहरूलाई यो छुट छैन । उनीहरूलाई थाहा छ, छुट पायो भने राज्य र राजनीति पूरापूर प्रतिगमनमा जाने रहेछ । जे देखिरहेका छन्, त्यो भइरहेको वास्तविकता हो र त्यो उनीहरूको आँखामा घृणाका कुरा हुन् ।

केपी शर्मा ओलीले गरेको प्रतिगमन उनीहरूका लागि न प्रेरणाको पाठ थियो, न दशवर्षे जनयुद्धमा दुनियाँको घरबाट उठिवास गरेर आलिसान जीवन शैली अपनाउने प्रचण्डको दिनचर्या उनीहरूको आदर्श हो । उनीहरू अहिले पनि नागरिक आन्दोलनको मार्चपासमा साम्यवादी साहित्य सर्जक स्व. कृष्ण सेन इच्छुकको ‘कविता’ पढिरहेछन् । दलित अधिकारका अगुवा आहुतिका कविता पढिरहेका छन् । बालुवाटार घेराउमा भिड्न उनीहरूलाई छिनभर लाग्दैन । राज्यको प्रतिगमनकारी हर्कतका विरुद्ध लड्न–भिड्न अग्रपंक्तिमा आफू छुटेकोमा धक मान्छन् ।

त्यसकारण बृहत् नागरिक आन्दोलन कांग्रेस पार्टीको नेता बन्न बनेको न लिस्नु हो, न नेकपाको कार्यकर्ता बनेर राज्यको ढुकुटी लुट्न चाहिने एम्बुस हो । यो बृहत् यसर्थ छ कि यहाँ हिजो दलित आन्दोलनको छुवाछुतविरुद्धका मुद्दा बोक्नेहरू, जनजातिको स्वशासन र स्वायत्तताको मुद्दा बोक्नेहरू, महिला, जो हजारौँ वर्षदेखि पितृसत्ताबाट पिल्सिएका छन्, आज जोडिएका छन् ।

निर्मला पन्तको हत्याको मुद्दा उठाउँदा घरबाट निकालिएकादेखि भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको दर्दनाक घटनाको दोषी राज्यले नभेट्दा क्रोधित महिलाहरू जोडिएका छन् । त्यसकारण बृहत् नागरिक आन्दोलनको धोको भनेको एक्लै वा सेक्टोरल आन्दोलन धेरै भयो, अब सबै जोडिएर गर्ने आन्दोलन हो । त्यसका लागि ज्ञान, विज्ञान र पद्धतिको मीमांस पनि जोड्न त्यत्तिकै जरुरी छ । त्यो मीमांस उच्च शिक्षाको गहन अध्ययन र विवेचनाबाट मात्र प्राप्त हुन्छ । उच्च शिक्षाले रोजगार दिएन, व्यावहारिक ज्ञान दिएन, उत्पादनशील सीप दिएन भनेर निरंकुश, तानाशाही, स्वेच्छाचारीहरूको दास बन्ने होइन । बरु नदिने व्यवस्था र नदिनेहरूका विरुद्ध आन्दोलित हुने हो ।

हिजो विक्रमशीला महाविहारलाई चाहिने अध्येता उत्पादन गर्ने नेपालमा कला संस्कृति र जीवनको आधारशीला बोकेको संस्कृति र शिक्षा आज छैन । त्यो विसंगति धिक्कारेर बस्नुपर्ने नभई त्यसको पुनर्जागरण गर्ने समय हो, यो । त्यसका लागि संयम, विवेकशील, र सधैँ आन्दोलित हुने आगोको भुंग्रो हुन जरुरी छ । परिवर्तनका लागि उभार बनेर बोल्न जरुरी छ ।

प्रतिरोधका लागि सँगसँगै सडकमा निस्कनु छ र वास्तविक उच्च शिक्षाको पाठ्यक्रम, पाठ्यपुस्तक र पुस्तकालयको निर्माण गर्नु छ । त्यसकारण उच्च शिक्षामा भएको अग्रगमन र प्रतिगमन बृहत् नागरिक आन्दोलनको विषयवस्तु बन्नु स्वागतयोग्य कुरो हो । सम्पूर्ण प्राज्ञिक जगत्ले यसरी बुझ्न सक्नुपर्छ, न कि एउटा नेताको विरुद्ध अर्को नेताको पिछलग्गु बनेर अग्रगमन सम्भव छ ।