एक दिन बालक अष्टावक्रले आफ्ना साथीहरूसँग खेलेर फर्केपछि आमालाई सोधे, ‘बुबा कता जानुभयो, साँझ पर्दा पनि उहाँ देखिनुभएको छैन ।’ पुत्रको जिज्ञासा सुनेर आमाले भनिन्, ‘पुत्र ! तिम्रो बुबा राजा जनकको सभामा विद्वान्हरूसँग शास्त्रार्थ गर्न जानुभएको थियो, तर अहिलेसम्म फर्किनुभएको छैन ।म निकै चिन्तित र व्याकुल छु ।’
आमाको कुरा सुनेर अष्टावक्रले भने, ‘आमा ! तपाईं चिन्ता नलिनुस्, म भोलि बिहानसम्ममा बुबालाई जसरी पनि घर ल्याइपुर्याउँछु ।’ पुत्रको कुरा सुनेर आमाले भनिन्, ‘बाबु ! तिमी निकै साना छौ, राजसभामा तिमीले प्रवेश पाउन सहज छैन र त्यहाँ तिम्रो अपमान पनि हुन सक्छ, किनभने तिम्रो शरीर आठ ठाउँमा बांगोटिंगो छ ।’ अष्टावक्रले यसमा डराउनुपर्ने केही पनि छैन भन्दै आमालाई आश्वस्त पारे, ‘तपाईं नआत्तिनुस्, म बुबालाई जसरी पनि खोजेर ल्याइपुर्याउँछु ।’ भोलिपल्ट अष्टावक्र राजसभा पुग्छन् ।
राजसभामा उनको बांगोटिंगो शरीर देखेर सभामा उपस्थित सबै विद्वान् हाँस्न थाल्छन् कि यस्तो बालकले पनि हामीसँग शास्त्रार्थ गर्छु भन्दै छ । सभामा उपस्थित विद्वान्को हरकत देखेर अष्टावक्र पनि हाँस्न थाल्छन् । उनलाई हाँस्दै गरेको देखेर सभामा उपस्थित सबै विद्वान् आश्चर्यमा पर्छन् ।
यत्तिमै राजा जनकले अष्टावक्रलाई हाँस्नुको कारण सोध्छन् । त्यसपछि अष्टावक्रले भन्छन्, ‘हे राजन ! तपाईंको सभा देशी–विदेशी विद्वान्हरूद्वारा सुशोभित छ भन्ने सुनेको थिएँ, तर यो कुरा त झुटो रहेछ । यहाँ ज्ञानको घमण्डले चुर भएकाहरूको मात्रै उपस्थिति रहेछ । त्यसैले म यी कथित विद्वान्लाई देखेर हाँसिरहेको छु ।’ उनी बोली नै रहेका थिए । उनले भने, ‘हे राजन ! निश्चय नै सोध्नुपर्ने भयो कि ‘यो हाड, छाला र मासुले बेरिएको शरीरमा हेर्न लायक नै के छ र ? तर, तपाईं भन्नुस के शरीर बांगोटिंगो हुँदैमा आत्मा पनि बांगोटिंगो हुन्छ ? नदी बांगोटिंगो भयो भने के पानी पनि बांगोटिंगो नै हुन्छ ?’ अष्टावक्रको कुरा सुनेर रजसभाका सबै विद्वान्ले शिर झुकाए ।