मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण १७ सोमबार १०:५२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

४१ करोड राजस्व चुहावट अभियोगमा चारजनाविरुद्ध मुद्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण १७ सोमबार १०:५२:००

 राजस्व अनुसन्धान विभागले ४१ करोड १७ लाख रुपैयाँ राजस्व चुहावट गरेको भन्दै चारजनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले मोरङका तीन र वीरगन्जका एक व्यवसायीले राजस्व चुहावट गरेको भन्दै छुट्टाछुट्टै मुद्दा दायर गरेको हो । 

विराटनगर महानगरपालिका–९ स्थित बाबा फ्लोर मिल्स प्रालिका सञ्चालक तथा गोपाल फ्लोर मिल प्रालिका मुख्य कारोबारी सुरेशकुमार राठी, सञ्चालक सुमन राठी र प्रबन्धक गिरधरीलाल अग्रवालले राजस्व चुहावट गरेको भन्दै १५ करोड ३६ लाख ६३ हजार रुपैयाँ बिगो जरिवाना र कैद सजाय मागदाबी गर्दै मुद्दा दायर गरेको हो । उनीहरूले वास्तविक बिक्री आम्दानीभन्दा घटी देखाई मूल्य अभिवृद्धि कर, लाभांश कर र आयकरसमेतको राजस्व चुहावटको कसुर गरेको विभागले जनाएको छ ।

त्यस्तै, विभागले वीरगन्ज उपमहानगरपालिका–१० स्थित रजनीश ट्रेडिङ कन्सर्न तथा डल्फिन ट्रेडर्स प्रालिका सञ्चालक तथा प्रोपाइटर रजनीशकुमार गुप्ताले राजस्व चुहावट गरेको अभियोगमा २५ करोड ८० लाख ६५ हजार रुपैयाँ बिगो असुल गरी जरिवाना र कैद सजाय मागदाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । गुप्ताले भन्सार चोरी–पैठारी गरी भन्सार, मूल्य अभिवृद्धि कर र आयकरसमेतको राजस्व चुहावटको कसुर गरेको देखिएको विभागले जनाएको छ ।