Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ फाल्गुण १६ आइतबार १०:१७:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कोरोनाले देखाएको बाटो : दश वर्षदेखि बाँझो रहेको जमिनमा सामूहिक भैँसीपालन

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण १६ आइतबार १०:१७:००

कोरोनाले निम्त्याएको संकटपूर्ण समयलाई अवसरको रूपमा उपयोग गरी लमजुङमा व्यवसायीक भैंसीपालन सुरु गरिएको छ । लमजुङको राइनास नगरपालिका–१ साइलीटारमा १० वर्षदेखि बाँझो रहेको जमिनमा सामूहिक भैँसीपालन सुरु गरिएको हो । उपयोगमा नआएको खेर गएको बाँझो जमिनमा ३४ जना स्थानीय आबद्ध भई भैँसीपालन सुरु गरेका हुन् ।

‘दिगो कृषि व्यवस्थापन तथा अनुसन्धान सहकारी’मार्फत भैँसीपालन सुरु गरिएको सहकारीका अध्यक्ष खिला शर्मा घिमिरेले जानकारी दिए । सहकारीमा आबद्ध सदस्यले प्रतिव्यक्ति २० हजार रुपैयाँ संकलन गरी वीरगन्जबाट मुर्रा जातको थारा भैँसी ल्याई व्यवसाय सुरु गरिएको घिमिरे बताउँछन् ।

उनका अनुसार सुरुमा २० वटा थारा भैँसी र प्रजननका लागि एउटा राँगा पालिएको छ । कम लगानी, समय र श्रममा धेरै आम्दानी लिन सकिने भएकाले सामूहिक रूपमा भैँसीपालन व्यवसाय सुरु गरिएको उनको भनाइ छ । कोरोना भाइरसले अहिले असहज परिस्थिति सिर्जना गरेकाले सहज परिस्थित सिर्जना भएसँगै दुहुना भैँसी पाल्ने र दूध संकलन र बिक्री कार्यलाई अघि बढाइने सहकारीको लक्ष्य छ ।

कोरोनाले निम्त्याएको यो संकटपूर्ण समयलाई पनि आफूहरूले अवसरको रूपमा उपयोग गरी खेर गएको ६ सय रोपनी बाँझो जमिनको उपयोग गरी कृषि तथा पशुपालनलाई अघि बढाइएको घिमिरे बताउँछन् । मसार कागती पकेट समितिका अध्यक्ष गजेन्द्रराज घिमिरेले दुई सय रोपनी जग्गामा कागती खेती सुरु गरिएको बताए ।

‘६ सय रोपनी बाँझो जग्गामध्ये तीन सय रोपनीमा भैँसीपालन र दुई सय रोपनी क्षेत्रफलमा कागती खेती सुरु गरिएको छ,’ उनी भन्छन् । कृषि ज्ञान केन्द्रको सहयोगमा दुई सय रोपनी जग्गामा ४५ सय सुन कागती जातको कागतीका बिरुवा लगाइएको घिमिरेको भनाइ छ । सहकारीले भैँसीपालनलाई थप विस्तार गरी आगामी दिनमा माछापालन, केराखेती, मौरीपालन र बाख्रापालन पनि सुरु गर्ने भएको छ ।