मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
२०७७ फाल्गुण १६ आइतबार १०:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री ओली गृहजिल्ला आउँदै, तीन दर्जनभन्दा बढी योजनाको उद्घाटन र शिलान्यास गर्ने 

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण १६ आइतबार १०:५४:००

प्रधानमन्त्री केपी ओली आइतबार गृहजिल्ला झापा आउने भएका छन् । तीन दर्जन बढी योजनाको उद्घाटन र शिलान्यासका लागि ओली आइतबार गृहजिल्ला आउने भएका हुन् । उनको निर्वाचन क्षेत्र झापा– ५ मा विभिन्न योजनाको शिलान्यास र उद्घाटनका लागि ओली गृहजिल्ला आउन लागेको प्रधानन्त्रीका सचिवालय सदस्य होमबहादुर थापाले जानकारी दिए । उनका अनुसार ओली केहीबेरमा झापा आउनेछन् । 

उनले चिनियाँ लगानीमा बन्ने ‘चीन–नेपाल फ्रेन्डसिप इन्डस्ट्रियल पार्क’को शिलान्यास गर्नेछन् । यो पार्क दमक– १०, गौरादह– ५ र कमल गाउँपालिका– ७ को दुई हजार १५ बिघा क्षेत्रफलमा बन्नेछ । प्रधानमन्त्रीले आइतबार शिलान्यास गर्ने औद्योगिक पार्कको अहिलेसम्म पनि मुआब्जा विवाद टुंगिएको छैन ।

पार्कको डिपिआरसमेत लगानी बोर्डले स्वीकृत गरेको छैन । यो पार्कका लागि चीनको ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोइन्ट कन्स्ट्रक्सने ७४ अर्ब खर्चेर औद्योगिक पार्क निर्माण गर्न लागेको हो । दुई वर्षभित्र काम सक्ने गरी योजना बनाइएको पार्कमा बजेट नपुगे थपिने पार्कका अध्यक्ष गोविन्द थापाले जानकारी दिए ।

यो चिनियाँ सरकारको बिआरआई परियोजनाअन्तर्गत बन्न लागेको परियोजना हो । ‘काम पहिले नै सुरु भइसक्थ्यो । कोभिडले रोकियो,’ उनले भने, ‘एक महिनाभित्र बनाउन सुरु हुन्छ । यो अरूजस्तो शिलान्यास हाेइन । बजेट तयार छ । कम्पनी कति बस्ने भन्ने पनि तयार छ । त्यसकारण दुई वर्षभित्र काम सकिन्छ ।’ 

ओलीले निर्वाचन क्षेत्रअन्तर्गत अन्य विभिन्न खोलाको पुल शिलान्यास गर्ने कार्यक्रम रहेको सचिवालय सदस्य थापाले जानकारी दिए । ओलीले मदन भण्डारी राजमार्गमा पर्ने विभिन्न ३१ वटा पुलको समेत शिलान्यास गर्ने कार्यक्रम छ ।