मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
कमला उप्रेती
२०७७ फाल्गुण १६ आइतबार ०८:३८:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

बलात्कारको जड : समाजको मनोविज्ञान

Read Time : > 2 मिनेट
कमला उप्रेती
२०७७ फाल्गुण १६ आइतबार ०८:३८:००

हाम्रो देशमा केही समययता केही यस्ता अपराधका घटना चर्चाको शिखरमा छन्, जुन सुन्दासमेत आङ सिरिङ हुन्छ । र, यी डरलाग्दा अपराधमा कलिला बालबालिकाको संलग्नताले सबैलाई नराम्रोसँग झस्काउन थालेको छ । बलात्कार एउटा डरलाग्दो र समाजलाई नै कलंकित पार्ने अपराध कर्म भएकाले बलात्कारको अपराधमा भएको वृद्धि र त्यसमा पनि नाबालकको यसमा बढ्दो संलग्नताले भयावहको संकेत गर्छ । 

यसले हाम्रो समाज आधारभूत रूपले नै समस्याग्रस्त रहेकोतर्फ संकेत गर्छ । बलात्कारजन्य अपराध कर्म वर्तमान नेपाली समाजको मनो–सामाजिक समस्याका रूपमा देखिएको छ । जसले घरमा छोरी–नातिनी हुने आमाबुबा राति मात्र होइन कि दिनको उज्यालोमा समेत आफ्नी छोरीको सुरक्षालाई लिएर निश्चिन्त हुन सक्ने अवस्था छैन । छोरीहरू कार्यस्थल, विद्यालय, खेतबारी मात्रै होइन, घरमै पनि असुरक्षित हुन थालेका छन् । 

यौनहिंसाले पल–पल उनीहरूको अस्मिता लुटिइरहेको छ । प्रहरी, न्यायालय, समाज कसैले पनि छोरीलाई न्याय दिन नसकिरहेको सन्दर्भमा बलात्कारका घटना वृद्धि हुनु नौलो पनि होइन । हामीले हाम्रो सामाजिक संरचना र समाजको मनोविज्ञानमै परिवर्तन नगरेसम्म छोरीहरू सुरक्षित हुँदैनन् र बलात्कारमा किशोर छोराहरूको संलग्नता भई नै रहनेछ ।

हुन त बलात्कारका घटना पहिला पनि हुने गरेका थिए, तर विगत पछिल्ला केही वर्षमा भने यो सरुवा रोगको संक्रमणझैँ तीव्र गतिमा बढिरहेको देखिन्छ । नेपाल प्रहरीको सन् २०१७—०२० सम्मको तथ्यांक केलाउँदा सन् २०१७–०१८ मा एक हजार चार सय ८० महिला तथा बालिका बलात्कारको सिकार भएकोमा सन् २०१८–०१९ मा यो संख्या बढेर दुई हजर दुई सय ३० पुगेको र यो वर्ष दुई हजार एक सय ४४ पुगेको देखिन्छ । 

त्यसमा पनि पछिल्लो वर्षमा बलात्कारपीडित धेरैजसो बालिका छन् । जसमा आमाको दूध चुुसिरहेकी ६ महिनाकी शिशुदेखि ७५ वर्षकी वृद्धासम्म यस जघन्य अपराधको सिकार भएका छन् । त्यसमध्ये झन्डै दुईतिहाइ १५ वर्षभन्दा मुनिका बालिका रहेको देखिन्छ । अपराधको यो शृंखला कोरोना संक्रमणपछि लकडाउनको समयमा तीव्र गतिमा बढेको तथ्यांकले देखाउँछ ।

नेपाल प्रहरीको सन् २०१७–०२० सम्मको तथ्यांक केलाउँदा सन् २०१७–०१८ मा एक हजार चार सय ८० महिला तथा बालिका बलात्कारको सिकार भएकोमा सन् २०१८–०१९ मा यो संख्या बढेर दुई हजर दुई सय ३० पुगेको र यो वर्ष दुई हजार एक सय ४४ पुगेको देखिन्छ

गत चैतको मध्यदेखि भदौको मध्यसम्म आइपुग्दा एक हजार दुई सय २१ जना महिला तथा बालिका बलात्कारको सिकार भएको देखिन्छ र त्यसमा भागरथी भट्टलगायत केहीको निर्मम तरिकाले हत्यासमेत भएको छ । एउटा गैरसरकारी संस्थाले प्रकाशित गरेको प्रतिवेदनअनुसार बलात्कारका घटनामध्ये एक सयमा पाँचजना मात्र प्रहरीमा उजुर गर्न पुग्छन् । बाँकी घटना समाजभित्रै गुपचुप रहन्छन् ।

केही मिलापत्रमा टुंग्याएर दोषीलाई उन्मुक्ति दिइन्छ । यसपछाडिको मूल कारण मूलतः सामाजिक र राजनीतिक रहेको छ । समाज र सामाजिक मनोविज्ञानको संरचना बलात्कारका निम्ति बढी दोषी छ भने उन्मुक्तिमा राजनीतिक शक्ति र पहुँचले काम गर्ने गरेको छ । 

बलात्कार यस्तो अपराध हो, जसको दोषीलाई जति सजाय दिए पनि अपुगजस्तो लाग्छ । तर, सबैभन्दा बढी उन्मुक्ति यौनहिंसा तथा बलात्कारजन्य अपराधमै हुने गरेका छन् । यसमा छोरीलाई दर्जाविहीन व्यवहार गर्ने सामाजिक मनोविज्ञानले काम गरेको छ । समाजको यो चेतलाई नफेरेसम्म समाधान मुस्किल देखिन्छ । सहरको तुलनामा गाउँमा बलात्कारका घटना बढी भएको देखिन्छ । यो तथ्यले हाम्रो सामाजिक सदाचारका मूल्यहरू नासिएकोतर्फ इंगित गर्छ ।

नेपाल प्रहरीको अनुसन्धान दक्षिण एसियामै राम्रो स्तरको छ भनेर पनि चर्चा हुने गरेको छ । तर, विडम्बना ! यति कुशल नेपाल प्रहरी बलात्कारका दोषी पत्ता लगाउन वर्षाैंसम्म असफल हुन्छ । प्रहरीको यो असफलताको मूल जरो निमुखा र पहुँचवालाबीच अन्तर गर्ने, फरक दृष्टिले हेर्ने चरित्रमा छ । एउटा गम्भीर प्रश्न आज प्रहरीतिर तेर्सी बसेको छ । जुन प्रश्नको जवाफ दिन प्रहरीले बलात्कारका प्रत्येक घटनामा निष्पक्ष रहेर शीघ्रातिशीघ्र जरासम्म पुगेर जाँच गरिहाल्ने तत्परता देखाउन जरुरी हुन्छ । 

बलात्कारका अधिकांश घटना चिनेजानेकै व्यक्तिबाट हुने भएकाले अनुसन्धानको दायरा पनि साँघुरो हुन्छ । यस अर्थमा त बलात्कारका अधिकांश घटनामा दोषी तत्कालै भेटिहाल्नुपर्ने हो । तर, समस्या बलात्कारका घटनालाई यथासम्भव लुकाउने र सामाजिक प्रतिष्ठा जोगाउन खोज्ने प्रवृत्तिमा छ ।

यस्ता घटनालाई बाहिर ल्याए समाजबाट आफू बहिष्कृत भइने, प्रतिष्ठा खस्किने भयले ठूलो काम गरेको छ । बलात्कारलाई हेर्ने समाजको खोटपूर्ण दृष्टिले पीडितलाई प्रहरीसम्म पुग्न अवरोध गरिरहेको छ, पीडितलाई हतोत्साही बनाइरहेको छ । अपराधीको मनोबललाई गिर्न दिइरहेको छैन, जोगाउने प्रपञ्चहरूमा आडभरोसा दिइरहेको छ भने कसरी छोरीहरू सुरक्षित हुन सक्छन् ? कसरी बलात्कार घट्छ ? कसरी समाज सभ्य र सुसंस्कृत हुन सक्छ ? 

अर्को महत्वपूर्ण पाटो छ– बलात्कारका घटनाहरू छरछिमेक, घरकोठा, कार्यस्थल, स्कुल जाने बाटो, शौचालयजस्ता वरिपरिकै स्थानमा हुने गरेका छन् । यो जघन्य अपराधलाई समाजमा दोहोरिन नदिने, छोरीहरूको अस्मिताको रक्षा गर्ने, समाजलाई छोरीहरूका निम्ति साँच्चै सुरक्षित बनाउने हो भने सडकमा नारा लगाएर मात्रै हुँदैन, छोरीहरूमा प्रहरीसम्म पुग्ने मनोबल बढाउन, दोषीलाई कठघरामा उभ्याउन, प्रहरीलाई अनुसन्धानमा सहयोग पुर्‍याउन पनि उत्तिकै जरुरी छ ।

बलात्कारविरुद्ध समाजलाई उभ्याउने खालको अभियानको आवश्यकता छ । किनकि, समस्याको मूल जरो हाम्रै समाजमा गढेर बसेको छ । यसको ओखती पनि यही समाजका संरचनाको फेरबदलमा खोज्नुपर्छ । 


(उप्रेती महाराजगन्ज नर्सिङ क्याम्पसकी  सह–प्राध्यापक हुन्)