१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण १५ शनिबार ०८:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भारतीय सहयोगमा २५ स्वास्थ्यचौकी पुनर्निर्माण हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण १५ शनिबार ०८:५९:००

भारतको ५३ करोड रुपैयाँ आर्थिक सहयोगमा धादिङ र सिन्धुपाल्चोकका २५ स्वास्थ्यचौकीको पुनर्निर्माण हुने भएको छ । भारतीय राजदूतावासका विकास साझेदारी तथा पुनर्निर्माण विभागका प्रमुख तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन)का परियोजना निर्देशक डा. केएम प्रफुल्लचन्द्र शर्माले शुक्रबार चारवटा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

भारतीय दूतावासका अनुसार धादिङमा १२ वटा र सिन्धुपाल्चोकमा १३ वटा सरकारी स्वास्थ्यचौकी पुनर्निर्माण हुन लागेको हो । ‘२०७२ सालको भूकम्पले क्षति पुर्‍याइएका यी स्वास्थ्यचौकी नेरु. ५३ करोडको लागतमा पुनर्निर्माण हुन लागेको हो’ भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

स्वास्थ्यचौकी निर्माणका लागि बोलपत्रदातालाई कार्य हस्तान्तरणका लागि ठेकेदार र केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन)का बीच चारवटा ठेक्का सम्झौतामा पनि शुक्रबारै हस्ताक्षर भएको छ । स्वास्थ्यचौकीको निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थान (सिबिआरआई), रुड्कीले प्राविधिक सहयोग प्रदान गर्नेछ । केन्द्रीय भवन अनुसन्धान संस्थान (सिबिआरआई) भूकम्प प्रतिरोधी पुनर्निर्माण क्षेत्रमा भारतकै शीर्ष संस्थानमा पर्दछ ।

भारतले १० जिल्लाका स्वास्थ्य क्षेत्रमा पुनर्निर्माणका लागि पाँच करोड अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्धताअनुसार १४७ वटा स्वास्थ्य परियोजनामध्ये यी २५ वटा स्वास्थ्यचौकीको पुनर्निर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत हुन लागेको हो । भारतीय दूतावासका अनुसार बाँकी परियोजना बोलपत्र आह्वान प्रक्रियाको सुरुवाती चरणमा छन् । 

स्वास्थ्य क्षेत्रमा पूर्वाधार संरचना सुदृढीकरण गर्न भारतले सन् २००३ देखि हालसम्म भारत सरकारद्वारा आर्थिक सहयोग पुर्‍याइएका साना विकास परियोजना योजनाअन्तर्गतका ४० वटाभन्दा बढी स्वास्थ्य शिविर र स्वास्थ्यचौकी निर्माण सम्पन्न भइसकेका छन् ।