मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ फाल्गुण १४ शुक्रबार ११:२४:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अबको निकास : नयाँ पुस्ताको प्रधानमन्त्री

Read Time : > 4 मिनेट
२०७७ फाल्गुण १४ शुक्रबार ११:२४:००

सर्वोच्च अदालतले अदालतको मान सर्वोच्च रहने गरी फैसला गर्‍यो । यो फैसला नेपालको लोकतान्त्रिक र संवैधानिक आन्दोलनका निम्ति कोसेढुंगा साबित हुनेछ । कुनै पनि मुद्दा पर्दा कानुनमा के लेखिएको छ भनेर हेर्नुको सट्टा मेरो मुद्दा कुन न्यायाधीशकोमा पर्‍यो र वकिल कुन पार्टीको हो भनेर खोज्नुपर्ने अवस्थामा न्यायालयप्रति थोरै शंका गर्नु नागरिकको दोष होइन ।

झन् केपी ओलीले ‘सेटिङ मिलाइसकेँ’ भनेका आशंका उब्जनु स्वाभाविकै हो । तर, जनभावनाको अगाडि ‘सेटिङ’हरू टिक्दैनन् भन्ने यो फैसलाले प्रमाणित गरेको छ । लोकतन्त्रको सुन्दरता भनेकै लोकतन्त्रभित्रको समस्याको समाधान पनि लोकतन्त्रले नै दिन्छ भन्ने हो । ट्रम्प हुन् वा ओली, अधिनायकवादलाई ठेगान लगाउन लोकतन्त्र आफैँ सक्षम छ भन्ने यो मुद्दासँगै प्रमाणित भएको छ । यसपालि केपी ओलीको तानाशाही बन्ने महत्वाकांक्षालाई लोकतन्त्रले लगाम लगाएको छ ।

अदालतको फैसलामा तीनवटा सकारात्मक पक्ष छन् । पहिलो, यस्ता घटना लोकतन्त्रका निम्ति ‘भ्याक्सिन’जस्ता ठहरिन्छन् । यस्ता घटनाले लोकतन्त्रलाई थप परिपक्व बनाउँछन् । यसपालि जे भयो, जसरी फैसला आयो, यसले न्यायपालिकाप्रतिको नागरिकको विश्वास र आस्थालाई थप मजबुत बनाएको छ । साथै, शक्ति पृथकीकरणको लोकतान्त्रिक सिद्धान्तबारे पनि थप विश्वास जगाएको छ ।

यस्तै घटनालाई पार लगाएर नै लोकतन्त्र बलियो हुने हो । दोस्रो, यो फैसलासँगै हाम्रो संविधान थप बलियो बनेको छ । हिजोको दिनमा केही नेताको मात्र अपनत्व रहेको संविधानबारे आज चिया पसल, क्याम्पस, प्रशासन सबैतिर छलफल भएको छ । हिजोको दिनमा भन्दा आज यो संविधानमा नागरिकको अपनत्व बढेको छ । यसले हाम्रो संविधानको स्वीकार्यता बढाएको छ । अदालतको फैसला अब संविधानको अंग बनेको छ । त्यो फैसलामा मेरो पनि अपनत्व छ भन्ने भावले संविधानलाई थप दिगो बनाउनेछ ।

तेस्रो, यी घटनासँगै एउटा स्पष्ट सन्देश के गएको छ भने अहिलेको युवापुस्ता लोकतन्त्र र संविधान बचाउन सचेत अनि सक्षम छ । राजनीतिलाई सही ट्र्याकमा ल्याउन युवापुस्ता सक्षम छ भन्ने कुरा पुनः प्रमाणित भएको छ । ‘इनफ इज इनफ’ अभियानदेखि यो प्रतिगमनविरुद्धको संघर्षसम्म हेर्ने हो भने युवापुस्ताको नेतृत्व र सक्रियताले थप ऊर्जा भरेको छ । साथै युवापुस्ताले लोकतन्त्र अनि संविधानवादका बारेमा बुझ्ने मौका पनि पाएको छ ।

केपी ओलीसँग ऐतिहासिक मौका थियो । हाराहारी दुईतिहाइको सरकार थियो । लगभग सात प्रदेशमध्ये ६ ओटा प्रदेशमा सरकार आफ्नै थियो । नागरिकको साथ र समर्थन थियो । प्रतिपक्षको असहयोग थिएन । समृद्धिको एउटा ठोस मुद्दा थियो । तर, केपी ओलीले यो अवसर गुमाए । देशले एउटा सुनौलो अवसर गुमायो । ओलीलाई समृद्ध नेपालको बाहक, संविधान कार्यान्वयनको बाहक र नयाँ युगको बाहक बन्ने मौका थियो । तर, उनी केही व्यक्तिको ‘बा’ बन्नमै रमाए ।

विगतका तीन वर्षलाई फर्केर हेर्दा ओली सरकार सञ्चालन र नागरिकको अपेक्षा पूरा गर्नमा पूर्ण रूपमा असफल भएका छन् । चिट चोरेर, प्रश्नपत्र आफैँले बनाएर, सेन्टर कब्जा गरेर आफैँले कापी जाँच्दासमेत ओली फेल भए । दम्भ र घमन्डले भरिएका ओलीले आफूलाई अनि आफ्नालाई शक्तिशाली बनाउन तिकडमबाजीमै तीन वर्ष खेर फाले ।

दोषी ओली मात्र होइनन् । दोषी ओली प्रवृत्ति जन्माउने र प्रोत्साहन गर्ने यो राजनीतिक संस्कार हो । ०५० सालपछि देखिएको राजनीतिक प्रवृत्तिकै पुनरावृत्ति हो ओली प्रवृत्ति । पार्टीकै झगडाका कारण ०५८ सालमा संसद् विघटन गर्ने देउवा, दुई–दुई ठाउँबाट हार्दा पनि प्रधानमन्त्री बनेर लोकतन्त्रको मूल्य–मान्यताको धज्जी उडाउने माधव नेपाल, परिस्थितिलाई आफूअनुकूल व्याख्या गरेर सिद्धान्तको तिलाञ्जलि दिई जोसँग हिमचिम गर्दा चुनाव जितिन्छ, ऊसँगै गठबन्धन गर्न तम्सने प्रचण्ड वा चुनाव हार्दाहार्दै पनि राष्ट्रिय सभामा पस्ने नारायणकाजी वा वामदेव प्रवृत्तिकै पुनरावृत्ति मात्र हुन् ओली ।

अबको उत्तम बाटो भनेकै प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले नैतिकताका आधारमा राजीनामा दिएर संसद्मार्फत नयाँ पुस्ताको नेतृत्वलाई प्रधानमन्त्री बन्ने अवसर दिनु हो । राजीनामा नआए प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव र राष्ट्रपतिविरुद्ध महाभियोग लगाउनुपर्छ ।

हालको नेतृत्वसँग नैतिकता अनि लोकतान्त्रिक चरित्रबारे अरूलाई प्रश्न सोध्ने अधिकार र नैतिकता नहुनु नै आजको राजनीतिक विडम्बना हो । केपी ओली प्रवृत्ति जन्माउने यही राजनीतिक संस्कार हो । यिनै नेता र पार्टी हुन् ।
विगत दुई महिनामा हामीले सडकमा रमाइला, तर पीडादायी दृश्य देख्यौँ । प्रमुख दृश्य के थियो भने ओली पक्ष वा प्रचण्ड–माधव पक्ष दुवैले बाटो बन्द गरेर नागरिकलाई दुःख दिई आफ्नो शक्ति प्रदर्शन गरे ।

संविधानले स्कुल जान पाउने, काम गर्न पाउने, हिँडडुल गर्न पाउने अधिकार दिएको छ । त्यसलाई मिचेर, नागरिकलाई आदेश दिएर राजनीति गर्न खोज्नुले पनि हाम्रा नेतृत्वहरू लोकतन्त्र, संविधान र नागरिक अधिकारप्रति कति संवेदनशील छ भन्ने देखाउँछ ।

दुवै पक्षले नागरिकलाई बसमा हालेर काठमाडौं ल्याई दुःख दिए । मिडियामा आएका र आफँैले संवाद गर्दा उनीहरू विचार वा एजेन्डा बुझेर सडकमा आएका थिएनन् । केपी ओलीकै भेलामा आएका नागरिकले केपी ओलीलाई चिन्दैनथे । प्रचण्ड–माधवकै भेलामा आएका नागरिकलाई सोध्दा उनीहरूलाई त्यही भेलाको नेतृत्वसँग अपेक्षा छैन भनिरहेका थिए । कति फ्रीमा लालपुर्जा पाइन्छ भनेर त कति काठमाडौँमा रहेको आफ्नो परिवारको सदस्यलाई भेट्न काठमाडौँ आए । 

सबैभन्दा आपत्तिको विषय के हो भने हाम्रा दलले नागरिकलाई प्रदर्शनको वस्तु ठानेर सडकमा ल्याई घन्टौँ प्रदर्शन गरे । कार्यकर्ता र नागरिकलाई रैती मान्ने मानसिकता हाम्रा नेताको मस्तिष्कबाट हटेको छैन । नागरिकलाई सम्मान गर्न नसक्ने नेतृत्वले यी चप्पल पनि नलगाई आएका नागरिकको प्रतिनिधित्व गर्न सक्दैनन् ।

‘आई लभ यू केपी ओली’ भनेर सिकाउने, तर ‘विधिको शासन आई लभ यू’ भनेर सिकाउन नसक्ने नेतृत्वले देश बनाउन सक्दैन । नेपाली सपना र सहिदका सपनाबारे आयोजना गरिएको सडक गोष्ठी थिएन त्यो प्रदर्शन, सत्तास्वार्थ केन्द्रित अभियान थियो । विगत एक वर्ष नेकपाको झगडाले देशको परिस्थिति, पत्रिकाको कागज र नागरिकको समय बर्बाद भएको छ । यसको भर्पाई कसले गर्ने ? कसरी गर्ने ? अब हामी नागरिकले यो कुरा बुझ्न जरुरी छ ।

अदालतले असंवैधानिक कदम त रोक्यो, तर फेरि अराजनीतिक र अनैतिक खेल सुरु हुने देखिएको छ । प्रचण्ड–नेपाल लड्डु खाँदै अर्को खेमाका सांसद तान्दै हिँड्न थालेका छन् । बुढानिलकण्ठ धाउन थालिसकेका छन् । देउवा पनि मौकामा चौका हान्न तयार देखिएका छन् । त्यसैले प्रचण्ड वा देउवा प्रधानमन्त्री भए भने अबको राजनीतिक बाटो थप जटिल हुनेछ । पार्टीभित्र र नागरिकमा पनि थप निराशा छाउनेछ ।

प्रचण्डले अघिल्लोचोटि काठमाडौंमा भएको आमसभामा भनेका थिए– ‘यो आन्दोलन हामी प्रधानमन्त्री बन्न गरेका होइनौँ ।’ त्यसपछि, एउटा अनौपचारिक भेटघाटमा पनि मैले उनलाई यो कुरा सोध्दा उनले अब नयाँ पुस्तामै जाने हो भनेका थिए । कांग्रेसभित्र पनि नयाँ पुस्ताको नेतृत्वको माग उठिरहेको छ । कि संसद्भित्र यी तीन–चारजनाबाहेक बाँकी सबै अक्षम हुन् भन्नुपर्‍यो, नत्र बाँकी सांसद पनि प्रधानमन्त्री बन्न योग्य छन् भन्ने विश्वास गरेर आफ्नो पार्टीका अन्य नेतालाई नेतृत्व सुम्पिने साहस गर्नुपर्‍यो ।

युवापुस्तामा जाँदैमा समाधान आउँछ–आउँदैन ग्यारेन्टी छैन, तर यसले राजनीतिमा ताजगी भने पक्कै ल्याउने छ । नयाँ आशाको सञ्चार गर्नेछ । राजनीतिको बहस नयाँ कोणबाट सुरु हुनेछ ।अहिलेको परिस्थिति हेर्दा अर्को दृश्य पनि देखिन्छ । यदि नेकपाको फुट कायम रहे, कांग्रेस आन्तरिक कारणले सरकारमा नजाने र अर्को दललाई समर्थन पनि नगर्ने अवस्था आए संसद्ले सरकार दिन नसक्ने अवस्था आउनेछ र संविधानअनुरूप प्रतिनिधिसभाको निर्वाचनमा देश जानेछ । त्यो अवस्थामा पनि अब पार्टीले नेतृत्व हस्तान्तरण गरेर नयाँ पुस्तालाई अगाडि सारेर अघि बढ्दा नै दलका निम्ति हितकर हुनेछ र अहिलेका शीर्ष नेतृत्वको उचाइ पनि बढ्नेछ ।

तसर्थ, अबको उत्तम बाटो भनेकै ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले नैतिकताका आधारमा राजीनामा दिएर संसद्मार्फत नै नयाँ पुस्ताको नेतृत्वलाई प्रधानमन्त्री बन्ने अवसर दिनु हो । राजीनामा नआएमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव र राष्ट्रपतिविरुद्ध संसद्ले महाभियोग लगाउनुपर्छ । त्यसो हुन नसकी यिनै पुराना नेतृत्वलाई प्रधानमन्त्री बनाउने खेलमा संसद् फसे फेरि पुरानै खेल सुरु हुनेछ ।

अबको आवश्यकता नागरिकलाई जोड्ने, आशाको किरण छर्ने, विधिको शासन मान्ने, संस्थालाई बलियो बनाउने, सुशासन कायम राख्ने र नागरिकको शिक्षा, स्वास्थ्य, रोजगारी, सुरक्षाको प्रत्याभूति गराउने नेतृत्व आउनु हो । यी कामहरू यो नेतृत्वबाट सम्भव छैन । त्यसैले पनि नेतृत्व परिवर्तन हुन जरुरी छ । साथै, अबको नयाँ पुस्ताको प्रधानमन्त्रीसँगै आमनागरिकले पनि राष्ट्र निर्माणको नेतृत्वको शपथग्रहण गरेर देश विकासमा लाग्नुको विकल्प छैन ।

एउटा कथासँगै अन्त्य गरौँ– एकजना जँड्याहा बुबाका दुईजना छोरा रहेछन् । एकजना बुबाभन्दा पनि महा जँड्याहा भएर निस्किएछ अनि अर्को कुलतमा नफसेको कुशल समाजसेवी भएर निस्किएछ । एक दिन पत्रकारले दुवै छोरालाई सोध्यो, ‘कसरी तपाईं यस्तो हुनुभयो ?’ जँड्याहा छोराले भन्यो, ‘मैले घरमा जे देखेँ, त्यस्तै बने, राम्रो बन्ने वातावरण नै थिएन ।’

अर्को छोराले उत्तर दिएछ, ‘मैले शिशु अवस्थादेखि जे देखेँ, जे भोगेँ त्यस्तो गर्दिनँ भन्ने बाचा गरेँ । बुबा कहाँ चुक्नुभयो भन्ने हेरेर मैले ती काम गरिनँ, त्यही भएर सफल भएँ ।’ आज केपी ओलीको असफलता नयाँ पुस्ताका लागि पाठ बनेको छ । अब यो पाठ सिकेर नयाँ पुस्ता अघि बढ्नुपर्छ र राजनीतिलाई नयाँ गन्तव्यमा पुर्‍याउनुपर्छ ।