साताको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्से र कारोबार रकम दुवै घटेको छ । बिहीबार नेप्से एकोहोरो घटेर अघिल्लो दिनको भन्दा करिब ४५ अंकमुनि आइपुगेको हो । यस दिन बजार बन्द हुँदा २ हजार ५ सय ५४ बिन्दुमा नेप्से आइपुगेको छ ।
साताको सुरुदेखि नै कारोबार रकम दैनिक ८ अर्ब भइरहेकोमा बुधबारबाट ६ अर्बमा सीमित भइरहेको हो । बजारमा आएको गिरावटलाई कतिपयले नियमित करेक्सन भनिरहेका छन् भने कतिपयले नयाँ सरकार बन्दा अर्थमन्त्री को हुनेछन् र उनले कस्तो नीति लिनेछन् भन्ने द्विविधामा पनि बजार घटेको आकलन गरेका छन् ।
पछिल्लो समय बैंकहरूको कर्जा विस्तार उच्चदरमा वृद्धि हुन थालेकाले निक्षेप र कर्जाको ब्याजदरमा वृद्धि हुन सक्ने आशंकामा लगानीकर्ता रहेका छन् । बैंकहरूले पछिल्लो समय ७५ अर्बमाथि सेयर धितोमा कर्जा लगानी गरेका छन् । बजार उच्च तहबाट घट्न थालेको अनुमानमा पनि लगानीकर्ता केही प्यानिक हुन थालेको देखिएको छ ।
यद्यपि, पछिल्लो समय बजारको प्रवृत्ति बुझ्ने सक्रिय लगानीकर्ता बढेकाले यसलाई सामान्य करेक्सनका रूपमा लिनुपर्ने एक ब्रोकरले बताए । यस दिन २ सय ६ प्रकृतिका धितोपत्र र ऋणपत्रको किनबेच हँुदा ६ अर्ब ९ करोड ८१ लाख ८८ हजार रुपैयाँबराबरको कारोबार भएको छ । १ करोड ५८ लाख ५६ हजार कित्ता सेयर खरिद–बिक्री भएको हो ।
यस दिन नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा) को १६ लाख ४९ हजार कित्ता सेयर किनबेच हुँदा ९० करोड ३५ लाख ६७ हजार मूल्यबराबरको कारोबार भएको छ । निफ्राको सेयर मंगलबारदेखि घट्दो क्रममा छ । यस दिन चन्द्रागिरि हिल्स ३४ रुपैयाँले बढेर ३ सय ७७ मा कारोबार भएको छ । कम्पनीको मूल्य करिब १० प्रतिशतको वृद्धिसहित सकारात्मक सर्किट लगाएर बन्द भएको छ ।