मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ फाल्गुण १४ शुक्रबार ०६:३३:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

संस्कृत विश्वविद्यालयको १३ सय ३६ बिघा जग्गा २० वर्षदेखि स्थानीयको कब्जामा

चार सय आठ बिघामा मोही, वार्षिक साढे सात लाख कर तिर्ने विश्वविद्यालयको आम्दानी भने शून्य

Read Time : > 2 मिनेट
२०७७ फाल्गुण १४ शुक्रबार ०६:३३:००

नेपाल संस्कृत विश्वविद्यालयको स्वामित्वमा रहेको दाङ देउखुरीस्थित १३ सय ३६ बिघा जग्गा २० वर्षदेखि स्थानीयले कब्जा गरेका छन् । जसमध्ये चार सय आठ बिघा जग्गामा मोही दाबी गरेका छन् । 

विश्वविद्यालयको नाममा रहेको एक हजार तीन सय ३६ बिघा जग्गामध्ये चार सय आठ बिघामा मोही देखिएको र १२ बिघामा ‘तेरोमेरो’ विवाद देखिएको उपकुलपति प्रा.यादवप्रकाश लामिछानेले जानकारी दिए । अहिले नयाँनयाँ व्यक्तिहरूले मोहीको दाबी गर्दै आएकाले समस्या निम्त्याएको उनको भनाइ छ । विश्वविद्यालयको जग्गा रहेको देउखुरीमा जग्गा महँगिएको र समस्या सिर्जना गरेर लाभ लिन खोज्नेहरूले ठूलो समस्या निम्त्याएको लामिछानेले बताए । 

विश्वविद्यालयले ०५८ सालदेखि आफ्नो स्वामित्वमा रहेको जग्गामा भोगाधिकार गर्न पाएको छैन । आफूसँग अनुमति नै नलिई र सम्झौता नगरी स्थानीयले जग्गा भोगचलन गरेकाले विश्वविद्यालयले आम्दानीसमेत गुमाएको छ । तर, विश्वविद्यालयले भने बर्सेनि साढे सात लाखदेखि आठ लाख रुपैयाँ राज्यलाई कर तिर्दै आएको छ । मोही दाबी गर्नेको संख्या बढेर दबाब दिएपछि विश्वविद्यालयले आफ्नै जग्गाबाट लाभ लिन नपाएको हो । 

‘वास्तविक मोही छिटो टुंग्याउन विश्वविद्यालय तयार छ, तर नाजायज फाइदा लिन चाहनेहरूले समस्या सिर्जना गरेका छन्,’ उपकुलपति लामिछानेले भने, ‘विश्वविद्यालयले मोही कायम भएको चार सय आठ बिघामा ५० प्रतिशत दिन तयार छ ।’ विश्वविद्यालयको नाममा रहेको जग्गामा विश्वविद्यालयले कर तिर्ने, तर आवश्यकताअनुसार उपभोग र लाभ लिन नसक्ने अवस्था छ । उपकुलपति लामिछानेका अनुसार ०५८ सालयता भोगचलन र केही पनि आम्दानी गर्न सकिएको छैन । 

तुलसीपुर उपमहानगरपालिकामा पर्ने ३३५ बिघाको कर भने तिर्नु नपरेको उनले बताए । उपमहानगरपालिकाले शिक्षण संस्थाका जग्गामा कर नलिने भनेकाले आफूहरूले तिर्नु नपरेको उनको भनाइ छ । 

समस्या समाधान गर्न  सरकार उदासीन
विश्वविद्यालयले केन्द्रीय कार्यालय रहेको दाङमा आफ्नो नाममा रहेको जग्गाकर तिर्दै आएको र समस्या समाधानका लागि संघीय सरकारसँग आगह्र गरे पनि अहिलेसम्म कुनै पहल नभएको उपकुलपति लामिछानेले बताए । विश्वविद्यालयको ७१औँ बैठकले जग्गाको द्वैध स्वामित्व अन्त्यका लागि विशेष प्रस्ताव पारित गरेको थियो ।

गत मंसिरमा बसेको विश्वविद्यालय सभाले जग्गाको द्वैध स्वामित्व अन्त्यका लागि आवश्यक व्यवस्था मिलाइदिन र विश्वविद्यालयको आन्तरिक आयस्रोत अभिवृद्धिमा टेवा पुर्‍याउन उच्चस्तरीय आयोग गठन वा अन्य उचित निर्णय गरिदिन सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो । तर, त्यसमा खासै प्रगति भएको छैन । 

२०१० सालमा तत्कालीन जनता महाविद्यालयको नाममा दाङ जिल्ला निवासी मजगैयाँ परिवारका ५६ जनाले दान दिएको र पछि नेपाल संस्कृत विश्वविद्यालयको नाममा हक हस्तान्तरण भएको दाङ देउखुरीस्थित जग्गाको द्वैध स्वामित्व अन्त्यका लागि यसअघि पनि प्रयास भएको थियो ।

विश्वविद्यालयको १४औँ सभाले दिएको निर्देशनअनुसार जिल्लास्थित प्रशासनिक कार्यालय, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका सदस्यहरू रहेको समस्या निरुपण तथा समाधान सुझाब समितिले जग्गासम्बन्धी तथ्यांक संकलन गरी समाधानको उपाय दिएको थियो । तर, अहिलेसम्म समस्या जहाँको तहीँ छ ।

१८ बिघामा बोटानिकल गार्डेन बनाउन पाँच करोड विनियोजन
विश्वविद्यालयको प्रशस्त जग्गा भए पनि सही उपयोग तथा कतिपय जग्गामा भोगचलन गर्न नपाएको संस्कृत विश्वविद्यालयले अहिले भने शिक्षा र पर्यटनलाई जोड्ने गरी जग्गा सदुपयोगको कार्य अघि बढाएको छ । विश्वविद्यालयले अब केन्द्रीय कार्यालय रहेको बेलझुन्डीमा रहेको तीन सय ३५ बिघा जग्गामध्ये १८ बिघामा बोटानिकल गार्डेन बनाउने भएको छ ।

बोटानिकल गार्डेनका लागि यस वर्ष पाँच करोड विनियोजन भइसकेको उपकुलपति यादव लामिछानेले बताए । बोटानिकल गार्डेनमा योगा हलदेखि जडीबुटीको अध्ययनस्थल बनाउने योजना छ । विश्वविद्यालयमा आयुर्वेदिक विषय अध्ययन गर्ने विद्यार्थीहरूले बोटानिकल गार्डेनमा अध्ययन गर्ने अवसर पाउनेछन् । गार्डेनलाई व्यावसायिक रूपमा अघि बढाउने योजना छ । गार्डेन निर्माणका लागि ११ करोड रुपैयाँ लाग्ने प्रस्ताव छ, तर विश्वविद्यालय प्रशासनले भने कम लागतमा निर्माण गर्ने योजना बनाएको छ । 

अब संस्कृत विश्वविद्यालयमा वैदिक कृषिदेखि इन्जिनियरिङका कोर्स
नेपाल संस्कृत विश्वविद्यालयले वैदिक कृषि तथा वास्तु इन्जिनियरिङका कक्षा सञ्चालन गर्ने भएको छ । विद्यार्थीहरूलाई आकर्षित गर्न परम्परागत ज्ञानलाई आधुनिकतासँग जोडेर स्नातक (शास्त्री) तहमा कृषि, इन्जिनियरिङलगायतका कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

 संस्कृत विश्वविद्यालय सभाले वैदिक कृषि, वास्तु इन्जिनियरिङ, योग तथा प्राकृतिक चिकित्सामा स्नातक तहमा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरी प्रक्रिया अघि बढाएको हो । स्नातक तहमा औषधि उत्पादन विज्ञानमा समेत कार्यक्रम सञ्चालनको तयारी गरेको छ ।

जुनसकै विधाबाट आएका विद्यार्थीलाई पनि उपयुक्त हुने गरी जीवनशैली व्यवस्थापन विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्नेसमेत निर्णय गरेको छ । संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. लामिछानेले सभाबाट पारित भएर पाँच विषयको कोर्स तयारी भइरहेको बताए । वेदमा उल्लेख भएका विषयवस्तुका आधारमा आधुनिक कृषिलाई जोडेर कोर्स बनिरहेको उनको भनाइ छ ।