मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण १३ बिहीबार १०:३९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

६ महिनामा पौने तीन खर्बको डिजिटल कारोबार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण १३ बिहीबार १०:३९:००

प्रविधिको विकाससँगै बैकिङ कारोबारमा यसको प्रयोग बढ्न थालेको छ । छिटो र सहज कारोबारका लागि मानिसले डिजिटल माध्यमबाट नै भुक्तानी गर्न थालेका हुन् । चालू आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा २ खर्ब ७८ अर्बको डिजिटल कारोबार भएको छ ।

एटिएम कार्ड, कनेक्ट आइपिएस, डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट, क्युआर बेस पेमेन्ट, पोइन्ट अफ सेल र ई–कमर्समार्फत ३ करोड ५९ लाखपटकमा यस्तो कारोबार भएको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ । 

 कार्डमा अभ्यस्त बन्दै नेपाली
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार एटिएम कार्डबाट मात्रै ५८ अर्ब ७६ करोड रुपैयाँ निकालिएको छ । ६ महिनामा सो रकमका लागि ६७ लाख ९० हजार ६ सय ४६ पटक एटिएम प्रयोग भएको छ । त्यस्तै, डेबिट कार्डको ७४ लाख ७८ हजारपटक हुँदा ६१ अर्ब ६० करोडको कारोबार भएको छ । क्रेडिट कार्ड भने १ लाख ५१ हजारपटक प्रयोग गरी ९५ करोड ५ लाखको कारोबार भएको छ । 

एटिएमपछि बैंकिङ कारोबारका लागि वालेटको प्रयोग पनि उत्तिकै बढेको देखिन्छ । राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आवको पुस मसान्तसम्म वालेटमार्फत ९८ लाख ९० हजारपटक कारोबार भएको छ । जसबाट ९ अर्ब ६५ करोड रुपैयाँबराबरको कारोबार भएको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ । मोबाइल बैंकिङमार्फत ८६ लाख ८१ हजार ३ सय ९ पटकमा ३३ अर्ब १५ करोड रुपैयाँबराबरको कारोबार भएको छ । त्यस्तै, इन्टरनेट बैंकिङमार्फत ३ लाख २ हजार ५६ पटकमा ८ अर्ब ५० करोड रुपैयाँबराबरको कारोबार भएको छ । 

 कोभिडले बढायो प्रविधिको प्रयोग 
विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमण पछि बैंकिङ कारोबारमा प्रविधिको प्रयोग तीव्र गतिमा बढेको छ । महामारीमा प्रविधिको प्रयोगबाहेक अन्य विकल्प सहज नहुँदा मानिसहरूले यसतर्फ अझै आकर्षित भएको केन्द्रीय बैंक कार्यकारी निर्देशक निलम ढुंगानाले बताइन् । उनका अनुसार महामारीको अवधिमा मात्रै एटिएमको प्रयोग ७.८३ प्रतिशतले बढेको छ । डेबिट कार्डको ११.१३ प्रतिशत, क्रेडिट कार्डको १२ प्रतिशत, प्रिपेड कार्डको १७ प्रतिशत, मोबाइल बैंकिङको १८ प्रतिशत र इन्टरनेट बैंकिङको ९ प्रतिशत बढेको छ । 

कारोबारमा प्रविधिको प्रयोगलाई सुरक्षित बनाउन केन्द्रीय बैंकिङ नीति–नियम पनि बनाउँदै गरेको कार्यकारी निर्देशक ढुंगानाले बताइन् । तर, प्रविधिको प्रयोग नेपालकै लागि नयाँ भएकाले केन्द्रीय बैंकले आवश्यक सुधार गरिरहेको 
उनले बताइन् ।  नेपाल सरकार पूर्वसचिव पुरुषोत्तम ओझाले बैंकिङ र विद्युतीय वालेटको प्रयोग बढ्दो क्रममा रहेको बताए । तर, सबै व्यक्ति डिजिटल ज्ञानका हिसाबले साक्षर छैनन् । त्यसैले सबैले यसको लाभ लिन नसकेको उनले बताए ।

मोबाइल बैंकिङका प्रयोगकर्ता सवा करोड पुगे
राष्ट्र बैंकको तथ्यांकअनुसार मोबाइल बैंकिङ सेवा लिनेको संख्या १ करोड २६ लाख ८९ हजार पुगको छ । जसमध्ये वाणिज्य बैंकका सेवाग्राही १ करोड १३ लाख ५५ हजार, विकास बैंकका १२ लाख १९ हजार र वित्त कम्पनीका १ लाख १४ हजार पुगेका छन् । 

त्यस्तै, इन्टरनेट बैंकिङका सेवाग्राही १० लाख ९० हजार ३२२ पुगेका छन् । चालू आवको ६ महिनाको अवधिमा ४ हजार २ सय ५४ एटिएम कार्ड जारी भएका छन् । सो अवधिमा ८० लाख ४९ हजार ५९ वटा डेबिट कार्ड जारी भएको छ ।