मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण १३ बिहीबार ०८:५८:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

केटु हिमाल आरोहीलाई जंगी अड्डामा सम्मान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण १३ बिहीबार ०८:५८:००

नेपाली सेनाले हिउँद याममा पहिलोपटक केटु हिमालको सफल आरोहण गर्ने नेपाली आरोहीलाई बुधबार सम्मान गरेको छ । पाकिस्तानमा रहेको विश्वको दोस्रो अग्लो हिमाल आरोहण हिउँद याममा अहिलेसम्म हुन सकेको छैन । विश्व कीर्तिमानी नेपाली आरोहीहरूलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगी अड्डामा कदरपत्रले सम्मान गरेका हुन् । 

नेपाली आरोहण दलले ३ माघमा ८६११ मिटर अग्लो केटु हिमाल सफलतापूर्वक आरोहण गरेको थियो । उनीहरूले केटु हिमालको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा फहराउनुका साथै नेपाली राष्ट्रगानसमेत बजाएका थिए ।  जंगी अड्डामा आयोजित कार्यक्रममा आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये जाडो मौसममा सफल आरोहण नगरिएको ८,६११ मिटर अग्लो केटु हिमालसम्बन्धी वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।

आरोहण दलका टोली नेता निर्मल पुर्जामगरले मृत्युलाई चुनौती दिएर नेपालीको नाम विश्वमा चिनाउन केटु हिमाल आरोहण गरेको अनुभव सुनाए । उनले नेपाल र नेपालीको नाम विश्वभर फैलाउन नेपालको राष्ट्रगान गाउँदै चुचुरोमा नेपालको राष्ट्रिय झन्डा फहराउन सफल भएकोसमेत बताए । पुर्जा बेलायती सेनाको स्पेसल फोर्सबाट सेवानिवृत्त पूर्वसैनिक हुन् । 

प्रधानसेनापति थापाले सामूहिक भावना तथा दृढ विश्‍वास एवं लगनशीलताले केटु जस्तो खतरायुक्त हिमालको सफल आरोहण गरेकोमा नेपाली टोलीलाई बधाई दिए । उनले विदेशमा प्राप्त अनुभव तथा सीपलाई स्वदेशको प्रगतिमा उपयोग गर्नुपर्नेमा जोड दिए ।