मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण १३ बिहीबार ०७:०३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

माटोको उर्वराशक्ति किसान आफैँले परीक्षण गर्ने प्रविधिको विकास

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण १३ बिहीबार ०७:०३:००

किसानले आफ्नो खेतको उर्वराशक्तिबारे जानकारी पाउन सक्ने प्रविधि कार्यान्वयनमा आएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बुधबार एक कार्यक्रम गरी ‘डिजिटल सोयल म्यापिङ’ कार्यक्रमको सुरुवात गरेको हो ।

दक्षिण एसियामै पहिलोपटक कार्यान्वयनमा ल्याइएको डिजिटल सोयल म्यापिङले देशभरका किसान लाभान्वित हुने मन्त्रालयको भनाइ छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले अमेरिकी दातृ संस्था युएसआइडीको सहयोगमा चार वर्षको  अध्ययनपछि यो प्रविधि विकास गरेको हो । नार्कका कार्यकारी निर्देशक दीपक भण्डारीले कम्प्युटर अगाडि बसेर आफ्नो जग्गाको उर्वराशक्तिबारे थाहा पाउने  किसानमैत्री प्रविधिको विकास गरेको बताए ।

‘किसानले आफ्नो जग्गामा कुन बाली लगाउँदा उपयुक्त हुन्छ, माटोको उर्वराशक्ति कस्तो छ । माटोमा मलको मात्रा कस्तो छ भन्ने जानकारी थाहा पाउने प्रविधि ल्याएका छौँ । त्यसैले यसबाट धेरैभन्दा धेरै किसान लाभान्वित हुने अपेक्षा छ’ उनले भने ।

नार्कको वेबसाइटमा गएपछि ‘सोयल म्याप’ एप्लिकेसनमा क्लिक गरी दिइएको निर्देशन पछ्याउँदा आफ्नो खेतको उर्वराशक्ति, अम्लीयपन, मलको मात्रालगायतका विषयमा जानकारी आउने नार्कले जनाएको छ । बुधबार केपी शर्मा ओलीले यो कार्यक्रमको उद्घाटन गर्दै कृषि क्षेत्रको विकासमा सरकार लागिरहेको बताए । ‘हामी अहिले डिजिटल म्यापिङको युगमा प्रवेश गरेका छौँ’ उनले भने ‘यो प्रविधिका बारेमा बाहिर कुरा आएपछि किसानहरूले बुझ्न खोज्लान् । किसानले खोजेकै ठाउँको राम्ररी बुझाएर सेवा दिनुस्’ उनले भने ।

कार्यक्रममा मन्त्री पद्मा अर्यालले डिजिटल सोयल म्यापिङको सुरुवात भए पनि कार्यान्वयन चुनौतीपूर्ण भएको बताइन् । ‘सार्क क्षेत्रमै पहिलोपटक डिजिटल सोयल म्याप त ल्यायौँ । तर, यसको प्रयोग कसरी गर्छौँ, व्यवहारमा कसरी कार्यान्वयन गर्छौँ भन्ने चुनौती छ’ उनले भनिन् ।

उनले पछिल्लो तीन वर्षमा कृषि क्षेत्रले ठूलो फड्को मारेको बताउँदै सरकार किसानमैत्री नीति र कार्यक्रम लागू गर्दै अघि बढेको बताइन् । उनले १५औँ योजनाको लक्ष्यअनुसार कृषि क्षेत्रको विकासलाई सम्बोधन गरिरहेको पनि दाबी गरिन् ।

कार्यक्रममा कृषिसचिव डा. योगेन्द्रकुमार कार्कीले कृषिलाई प्रतिस्पर्धी र व्यावसायिक बनाउन माटोको उर्वराशक्ति जाँच्ने प्रविधि निकै उपयोगी हुने बताए । ‘पहिले निश्चित प्रयोगशालाले माटोको उर्वराशक्ति र त्यसमा भएको तत्वको परीक्षण हुन्थ्यो । अब प्रत्येक किसानले आफैँ माटोको गुणस्तर जाँच्न सक्ने प्रविधि ल्याइएको छ’ सचिव कार्कीले भने ।

यसरी पत्ता लगाउन सकिन्छ माटोको उर्वराशक्ति
 मोबाइल वा कम्प्युटरमा नार्कको वेबसाइट खोलेपछि माथिल्लो भागमा म्यापसम्बन्धी टुल्स राखिएको छ । त्यसलाई क्लिक गरी सोयल म्याप छनोट गर्नुपर्छ । यति छनोट गर्दा नेपालको पूरा नक्सा आउँछ । त्यसपछि प्रदेश, जिल्ला र पालिका भरेर आफ्नो क्षेत्रको नक्सामा जान सकिन्छ । यसलाई थप जुम गरी कुन ठाउँ, कुन प्लट हो त्यहाँसम्म पुगेपछि नक्सामा तीन वा चारकुने घेरा बनाउनुपर्छ । घेरा बनेपछि माउसलाई छाडिदिनुपर्छ, लगत्तै माटोको बारेमा विवरण स्क्रिनमा आउँछ ।