मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
मुस्ताङ हेलिकोप्टर
केदार दाहाल काठमाडौं
२०७७ फाल्गुण १३ बिहीबार १०:४१:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

कोभिड–१९ को संकटबीच थपिँदै चार हेलिकोप्टर कम्पनी, कम्तीमा ४ अर्ब लगानी

कोरोना महामारीमा सबैभन्दा बढी मारमा परेका एयरलाइन्स कम्पनीहरूमा नयाँ उत्साह सुरु भएको छ । गत वर्ष नै इजाजत पाएका तीन हेलिकोप्टर कम्पनी उडान अनुमति लिँदै छन् भने एक नयाँ कम्पनीले केही साताअगाडि मात्रै इजाजत पाएको छ

Read Time : > 2 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ फाल्गुण १३ बिहीबार १०:४१:००

कोभिड– १९ को महामारीबाट हवाई क्षेत्र थला परिरहेका वेला चार नयाँ हेलिकोप्टर कम्पनी उडानको तयारीमा लागेका छन् । त्यही केही विमान कम्पनीमा नयाँ लगानीकर्ता भित्रिएका छन् । विदेशी पर्यटक अहिलेसम्म आउन नसकेको तथा स्वदेशी यात्रुलाई पनि सस्तो भाडामा उडान गर्नुपर्ने अवस्थाबीच पनि यस क्षेत्रमा नयाँ कम्पनीहरू आउन लागेका हुन् ।

तर, पछिल्लो समय हेलिकोप्टर र जहाज कम्पनीमा नयाँ लगानी भित्रिन लागेको हो । यता एयरलाइन्सतर्फ पनि सिम्रिक, सीता तथा सौर्य एयरलाइन्समा नयाँ लगानीकर्ता थपिने र नयाँ जहाज खरिदको प्रक्रिया पनि अगाडि बढेका छन् ।  नयाँ कम्पनीहरू पनि आउनेक्रम चलिरहेको र पुरानाहरूले पनि यस क्षेत्रलाई चलायमान बनाउन खोजिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । ‘कोभिड– १९ पछि अब पर्यटक पनि आउने हिसाबले नयाँ कम्पनीहरूको चासो बढेको हुन सक्छ,’ महानिर्देशक पोखरेलले भने । 

गत वर्ष तीन हेलिकोप्टर कम्पनीहरू मुस्ताङ, आरएस र अन्नपूर्ण हेलिकोप्टरले इजाजत पाएका थिए । ती तीनवटै कम्पनी नागरिक उड्डयन प्राधिकरणमा उडान अनुमति (एओसी)को प्रक्रियामा छन् । त्यसमध्ये मुस्ताङ हेलिकोप्टरले एकथान हेलिकोप्टर खरिद गरेसँगै एओसी पाउने अन्तिम चरणमा रहेको छ । यता आरएस र अन्नपूर्णले इजाजत लिए पनि हेलिकोप्टर भने ल्याएका छैनन् । हेलिकोप्टर नआएसम्म एओसी नपाउने व्यवस्था छ । इजाजत पाएको दुई वर्षसम्म पनि हेलिकोप्टर नल्याएमा इजाजत खारेज हुने व्यवस्था छ । 

यता केही साताअगाडि मात्रै हेलिकोप्टर क्षेत्रमा नयाँ कम्पनीका रूपमा रोयल त्रिलोक एयरलाइन्स भित्रिएको छ ।मन्त्रालयबाट त्रिलोकले हेलिकोप्टर सञ्चालनका लागि लाइसेन्स प्राप्त गरेको हो । निर्माण व्यवसायमा संलग्न अनिल गौतमले रोयल त्रिलोक एयरलाइन्स सञ्चालन गर्न लागेका हुन् । योसँगै नेपालमा हेलिकोप्टर कम्पनीको संख्या १४ वटा पुगेको छ । 
मन्त्रालयबाट नयाँ हेलिकोप्टर कम्पनीका रूपमा आरएसमा राज साउद सञ्चालक रहेका छन् । त्यस्तै, मुस्ताङमा रोनान लामिछाने रहेका छन् । भुवन प्रधान सञ्चालक रहेको अन्नपूर्ण हेलिकोप्टर कम्पनी रहेको छ । 

गत वर्षदेखि नै उडान गर्ने गरी प्रक्रिया अगाडि बढाएको भए पनि कोभिडका कारण एक वर्ष धकेलिएकाले मुस्ताङ हेलिकोप्टर कम्पनीका सञ्चालक रोनान लामिछाने बताउँछन् । ‘एओसीका लागि अन्तिम चरणका काम भइरहेको र छिट्टै उडान गर्ने गरी काम गरिरहेका छौँ,’ लामिछानेले भने । 

मन्त्रालयबाट अनुमति पाएपछि हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट वायुसेवा सञ्चालन अनुमतिपत्र (एओसी) लिनुपर्छ । एओसी लिएपछि मात्रै व्यावसायिक उडान गर्न पाइन्छ । एओसी लिन प्राधिकरणले तोकिएको सर्त पूरा गर्नुपर्ने हुन्छ । 

नयाँ जहाज कम्पनीले इजाजत लिन कम्तीमा १५ करोड रुपैयाँको चुक्ता पुँजी देखाउनुपर्छ । १० हजार निवेदन दस्तुर र १ लाख रुपैयाँ राजस्व दाखिला गर्नुपर्ने व्यवस्था छ । यो व्यवस्था आन्तरिक उडानका वायुसेवाका लागि हो । अब सरकारले नयाँ हवाई नीतिमार्फत हेलिकोप्टर कम्पनीको चुक्ता पुँजी ५० करोड, जहाज कम्पनीको १ अर्ब पु¥याउने प्रक्रियामा रहेको छ । हाल नेपाली आकाशमा १० वटा हेलिकोप्टर कम्पनीले सेवा दिइरहेका छन् । यी कम्पनीका विभिन्न क्षमताका ३३ वटा हेलिकोप्टर छन् । 

 डाँफे हेलिकोप्टर कम्पनी पनि इजाजत माग्दै मन्त्रालयमा
केही दिनअगाडि मात्रै अर्को हेलिकोप्टर कम्पनी डाँफे एयरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा इजाजतका लागि आवेदन दिएको छ । कम्पनीले दुई हेलिकोप्टरबाट उडान गर्ने गरी प्रस्ताव पेस गरेको छ । 

हेलिकोप्टरमा लगानी कति ?
नयाँ हेलिकोप्टर कम्पनीले एओसीको चरणसम्म पुग्दा १ अर्ब रुपैयाँभन्दा बढी लगानी आवश्यक पर्छ । नयाँ एकथान हेलिकोप्टरको अहिले बजार मूल्य ३७ करोड रुपैयाँ हाराहारी पर्छ । दुई हेलिकोप्टरमा ७४ करोड रुपैयाँ लगानी पर्छ । अन्य प्रक्रियालगायत अफिससम्म लगानी गर्दा १ अर्ब हाराहारी लगानी आउने मुस्ताङ हेलिकोप्टर कम्पनी सञ्चालक रोनान लामिछाने बताउँछन् । अहिले इजाजत पाएका चार हेलिकोप्टर कम्पनीको एओसी लिँदासम्मको लगानी ४ अर्ब हाराहारी हुन्छ ।