मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ फाल्गुण १२ बुधबार २०:२८:००
Read Time : > 3 मिनेट
फिचर

ब्रिङ ब्याक आवर गर्ल्स : क्रूर आतंककारी समूह बोकोहरामबाट उम्केकी किशोरीको कथा 

Read Time : > 3 मिनेट
२०७७ फाल्गुण १२ बुधबार २०:२८:००

सात वर्षअघि इस्लामिक लडाकु समूह बोकोहरामले नाइजेरियाको एक स्कुलको छात्रवासबाट सयौँ किशोरीलाई अपहरण गरी जंगलमा लुकाएको थियो । जहाँबाट ती किशोरीहरू जीवितै फर्कने कसैले कल्पनासमेत गरेका थिएनन् । तर, अपहरणमा परेको तीन वर्षसम्मको लगातार टकराव र धैर्यबाट ती किशोरीहरूले जित हात पार्न सफल भएका थिए । बोकोहरामजस्तो क्रूर आतंकावादी समूहबाट उनीहरूले जीवन रक्षा मात्रै गरेनन् विश्वलाई नै एउटा सन्देश दिएका छन् ‘आत्मविश्वास र संगठित भए जस्तोसुकै परिस्थितिलाई हराउन सकिन्छ ।’ 

ती किशोरीहरूले तीन वर्षसम्म बोकोहराम लडाकुले दिएको कठोर यातना सामना गरे । उनीहरूलाई बोकोहरामको कब्जाबाट छुटाउन अमेरिकाका तत्कालीन राष्ट्रपति बाराक ओबामकी श्रीमती मिसेल ओबामाले सामाजिक सञ्जालमा अभियान नै चलाइन् । मिसेल ओबामाले ह्यासट्याग ‘ब्रिङ ब्याक आवर गर्ल्स’ (हाम्री छोरीहरूलाई फर्काउनुपर्छ) ट्विट अभियान चलाएकी थिइन् । यस ह्यासट्यागमा विभिन्न क्षेत्रबाट सहयोग भयो । अभियानकै कारण बोकोहरामको अधिपत्य रहेको जंगलबाट ती बन्धक किशोरीहरूले नयाँ जीवन पाए । 

यही पृष्ठभूमिमा उनै बहादुर युवतीहरूको कथा समेटिएको पुस्तक अर्को महिना बजारमा आउँदै छ । ‘ब्रिङ ब्याक आवर गर्ल्स’ नामको पुस्तकमा दुई सय महिलाको बोकोहरामद्वारा दिइएको यातना र उनीहरूविरुद्धको लडाइँ सम्बन्धमा उल्लेख छ । पुस्तकअनुसार बोकोहरामले पश्चिम नाइजेरियाको चिवुक राज्यको स्कुलबाट दुई सय किशोरीलाई अपहरण गरेको थियो । यस घटनालाई पछिल्लो दशककै सबैभन्दा कुख्यात सामूहिक अपहरणका रूपमा लिने गरिन्छ । 

ब्रिङ ब्याक आवर गर्ल्स पुस्तकका सहप्रकाशक जोए पार्किसनले अपहरणमा परेका दुई सय किशोरीकै कथालाई प्रमुख आधार बनाएका छन् । ‘हामी पुस्तकको माध्यमबाट ती किशोरीहरू बोकोहरामजस्तो आतंककारी समूहबाट कसरी उम्कन सफल भए भन्ने कथा भन्न चाहन्छौँ,’ पुस्तकका सहप्रकाशक पार्किसनले भने, ‘उनीहरूलाई मुक्त पार्न किन यति लामो समय लाग्यो, आफैँमा रहस्यमयी विषय हो । तर, सामाजिक सञ्जालको अभियानले नै उनीहरूलाई मुक्त पार्न सकिएको हो ।’

यस पुस्तकमा थप एक सयभन्दा बढीको अन्तर्वार्ता समावेश छ । जसमा विद्यार्थी, अपहरणमा परेका किशोरीका परिवार तथा पूर्वसैनिक अफिसरको अन्तर्वार्ता राखेको उनले बताए । अपहरणमा परेकीमध्ये एक विद्यार्थी नाओमी अडमुले पूरै समय बहादुरी देखाएको उल्लेख छ । कालो पहिरनमा आएका समूहले स्कुलबाट अपहरण गरेको नाओमी बताउँछिन् । ‘उनीहरूले हामीलाई कालो कपडाले पूरै शरीर छोपे, त्यसपछि कहाँ लगियो थाहा भएन,’ नाओमी भन्छिन् । अपहरणको समयमा गोप्य रूपमा नाओमीले दैनिक डायरी लेख्न छुटाइनन् । संयोग कस्तो रह्यो भने अपहरणमा पर्दा उनीसँग एउटा नोटबुक थियो । 

उनी यसै नोटबुकको माध्यमबाट सामाजिक सञ्जालमा जोइडिन् । नाओमीले नोटबुकमै डायरी लेख्थिन् । नाओमीसँग नोटबुक भएको लडाकुहरूले सुइँकाेसम्म पाएका थिएनन् । समयसमयमा बोकोहराम लडाकुहरूले युवतीहरूलाई भनेको कुरा नमान्दा मार्ने धम्की दिने गरेको नाओमीको भनाइ छ । ‘हामीहरूको बुद्धि बिगार्ने काम भएको थियो, उनीहरू धर्म परिवर्तन गर्न दबाब दिन्थे, लडाकुहरूसँग विवाह गर्नुपर्ने र सन्तान जन्माउनुपर्ने कुरा गर्थे, यी कुराहरू नमान्दा हामीले पटकपटक राइफल र बुटको सामना गर्नुपर्‍याे ।’ नाओमीले पुस्तकमा भनेकी छिन्, ‘बोकोहरामको धम्की सहन नसकेकाहरूले विवाह गरे, कैयौँ साथीहरू यौन दुर्व्यवहारको सिकार भए ।’ यद्यपि बोकोहरामले अपहरणमा राखेका किशोरीहरूलाई दासका रूपमा प्रयोग मात्र गरेनन् श्रमदानसमेत गराएको उनले बताइन् ।

सन् २०१४ मा देखापरेको बोकोहरामले विश्वलाई देखाउन अपहरण तथा निर्दोष व्यक्तिको ज्यान लिने गर्दै आएको छ । सन् ०१५ को मध्यतिर बोकोहरामले नाओमी र केही किशोरीलाई मार्ने धम्की दिइएको पुस्तकमा उल्लेख छ । तर, उनीहरू डराएनन् । एक–आपसमा हौसला आदानप्रदान गर्दै लडाकुविरुद्ध लड्ने घोषणा नै गरे । यसको नेतृत्व स्वयं नाओमीले नै गरिन् । उनी भन्छिन्, ‘त्यहाँ भएकामध्ये म सबैभन्दा जेठी थिएँ, यसकारण म नै नेता भएँ ।’ बोकोहरामका लडाकुहरूले सूक्ष्म रूपमा नाओमी र उनीहरूको विद्रोह अभियानको सूचना संकलन गरिरहेका थिए ।

किशोरीहरूको अभियान बिस्तारै दरिलो हुँदै गयो । यस अभियान समाप्त पार्न बोकोहरामले उनलाई पुनः एकपटक मार्ने धम्की दियो । ‘यसबीच ममाथि सांघातिक आक्रमण भएको थियो, उनीहरूले मलाई मार्ने मात्र धम्की दिएनन्, कुट्नेसमेत काम गरे,’ नाओमी घटना सम्झिन्छिन्, ‘तर, उनीहरूले मलाई जीवनरक्षाको एउटा प्रस्ताव राखे, कुनै पनि लडाकुसँग विवाह गर्दा सबै गल्ती माफ गर्ने । मैले स्वर्ग वा पृथ्वीको कुनै पनि स्थानमा उनीहरूसँग विवाह नगर्ने र कुनै प्रस्ताव स्वीकार नगर्ने प्रत्युत्तर दिएँ ।’ 
नाओमीले पूरै तीन वर्ष बोकोहरामका नेताहरूलाई कमजोर हृदय भएका व्यक्ति भनेर सम्बोधन गरिन् । नाइजेरियन, बेलायत र अमेरिकाका संयुक्त सैनिक अभियानपछि बोकोहराम पराजित भयो । यस अभियानमा नाइजेरियका राष्ट्रपति र अन्य पार्टीको ठूलो सहयोग थियो । बेलायती एउटा विमानले किशोरीहरूको उद्धार गरेको थियो । बोकोहरामको हेडक्वार्टरमा दुईपक्षीय लडाइँ हुँदा १० किशोरीले ज्यान पनि गुमाएका थिए । ३० जना घाइते भएका थिए । सबैतिरको दबाबपछि बोकोहरामले बन्धक बनाएका किशोरीहरूलाई छाड्न बाध्य भएको पुस्तकमा उल्लेख छ । 

तीन वर्षको बन्दी जीवनबाट मुक्त हुँदा ती किशोरीहरू निकै खुसी भए । त्यसवेला पनि बोकोहरामले उनीहरूलाई एउटा प्रस्ताव राखेको थियो । बाहिरिँदा हिजाब अनिवार्य रूपमा लगाउनुपर्ने र क्रिस्चियन धर्म अपनाउनुपर्ने । किशोरीहरूले दुवै प्रस्ताव मानेनन् । ब्रिङ ब्याक आवर गर्ल्सका सहप्रकाशक पार्किसनले पुस्तकमा उल्लेख गरेका छन्, ‘त्यसवेला पनि लडाकुहरूले प्रस्ताव स्वीकार नगरे मृत्युदण्ड दिने चेतावनीसमेत दिएका थिए ।’

पार्किसन घटनाको प्रत्यक्ष अनुसन्धान गर्न घटनास्थलमै पुगेका थिए । यसक्रममा उनले जंगलमा कैयौँ महिलाको शव देखेको बताए । उनी लेख्छन्, ‘जंगलको एउटा क्षेत्रमा पुग्दा धेरै शव गन्हाएको अवस्थामा देखियो, त्यो दृश्य मन छुने थियो ।’

तीन वर्षपछि बाहिरी संसार देखेकी नाओमीले लडाकुहरूसँग निकै रिसाएको प्रतिक्रिया पुस्तकमा दिएकी छिन् । ‘ममा यति आत्मविश्वास थियो, जस्तोसुकै परस्थितिमा पनि उनीहरूसँग लड्ने हिम्मत थियो, किनभने म अपहरणमा परेकी थिएँ । ज्यानै जाने भएपछि बहादुरीका साथ लडेर सहिद हुनुपर्छ,’ नाओमीले भनिन्, ‘हामीसँगै रहेका ३० जना साथीलाई धर्म परिवर्तन तथा लडाकुसँगै विवाह गराएपछि म झनै उग्र भएँ ।’ नाओमीले एकैपटक लड्न नसकिने भएपछि समूह–समूह बनाएर लडाकुविरुद्ध रणनीति बनाएको बताइन् । 

नाओमीले बोकोहरामबाट रिहा भएको दिनलाई ‘खुसीको दिन’ भनेकी छिन् । त्यसवेला उनीसँगै अन्य युवतीहरूले ‘चिवुक गीत’ गाएका थिए । नाओमी कहालीलाग्दो दिन जतिपटक नसम्झने प्रतिज्ञा गरे पनि ध्यान उतै जाने गरेको बताउँछिन् । अहिले उनी परिवारका साथ खुसी जीवन बिताइरहेकी छिन् । 
अझै पनि उनी नाइजेरियामा महिला सुरक्षित नरहेको उनी मान्छिन् । तीन वर्षको बीचमा बोकोहरामले १० हजार युवालाई अपहरण गरी लडाकु बनाएको नाओमी बताउँछिन् । ‘हाम्रो समस्या भनेको चिवुक क्षेत्र नाइजेरियाको सबैभन्दा असुरक्षित क्षेत्र हो । यदि यहाँ केही परिवर्तन भएन भने अझै मजस्ता कैयौँ किशोरी अपहरणमा पर्न सक्छ,’ नाओमीले ब्रिङ ब्याक आवर गर्ल्समा भनिन् । 
–एजेन्सीको सहयोगमा