Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण ११ मंगलबार ०६:३०:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

पौडेलको ‘मधेस सम्मान यात्रा’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण ११ मंगलबार ०६:३०:००

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल मधेस यात्रामा निस्किएका छन् । पार्टीको १४औँ महाधिवेशनको मिति टुंगो लागिसकेको अवस्थामा उनले महाधिवेशनलक्षित मधेस सम्मान यात्रा सुरु गरेका हुन् । पौडेलले कांग्रेसभित्र संसद् पुनस्र्थापनाको मुद्दा लिएर पार्टी आन्दोलनमा जानुपर्ने मत राख्दै आएका छन् । 

सुनसरीको धरानमा बिपी कोइरालाको सालिक अनावरण गरेर मधेसतिर लागेका पौडेलले आइतबार सप्तरी प्रेस युनियनको पत्रकार सम्मेलनमार्फत ‘मधेस सम्मान यात्रा’ गर्ने घोषणा गरेका थिए । १३ फागुनसम्म उनले सप्तरी, सिराहा, धनुषा र महोत्तरीका १३ वटा निर्वाचन क्षेत्रमा पुगेर कार्यक्रम गर्दै छन् । 

यसैअनुसार पौडेलले सोमबार सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा पुगेर कार्यकर्ता भेटघाट गरेका छन् । संविधान र लोकतन्त्रमाथि आक्रमण भएका वेला मधेसका जनताको धारणा बुझ्न आफूले यात्रा सुरु गरेको बताए । ‘मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका हरेक क्रान्तिमा मधेसको योगदान अतुलनीय छ, म मधेस र उहाँहरूको योगदानको सम्मानका लागि मधेस यात्रामा निस्किएको छु । मुलुकमा संविधान र लोकतन्त्रमाथि आक्रमण भएका वेला मधेसका जनताको धारणा पनि बुझ्नु छ,’ पौडेलले भने । 

कांग्रेसमा न्याय र पद्धति पनि छायामा परेको भन्दै अबका दिनमा कांग्रेसले लिने बाटो तय गर्न मधेसका जनतासँग अमूल्य सुझाब लिने पौडेलले बताए । ‘कुनै वेला मधेस–पहाड भन्ने भावना नै थिएन, पछिल्ला वर्षहरूमा कम्युनिस्टले जातीय र क्षेत्रीयताको नारा लगाए र भड्काए, साथै विभाजनको प्रयत्न गरे,’ पौडेलले भने, ‘तर, कांग्रेसले सधैँ सबै नेपालीलाई जोड्ने काम गर्दै आएको छ ।’ 

पौडेलले हुलाकी राजमार्ग भएर मधेसका गाउँगाउँसम्म पुगेर प्रजातान्त्रिक आन्दोलनका पुराना नेता र सहिद परिवार तथा कार्यकर्ता भेटघाट गर्दै छन् । पौडेलले आइतबार सप्तरीको ब्रह्मपुरमा प्रजातान्त्रिक आन्दोलनका नेता मुलेश्वर पण्डितलाई घरैमा पुगेर भेटेका छन् । त्यसपछि पौडेल तिलाठी पुगेका थिए । त्यहाँ उनले स्वर्गीय रामेश्वरप्रसाद सिंहको परिवारलाई भेटे ।

सोमबार सप्तरीको हनुमाननगरबाट सुरु भएको पौडेलको मधेस यात्रा महोत्तरीको गौशाला पुगेर रोकिनेछ । हनुमाननगर त्यो ठाउँ हो, जहाँ भारतीय स्वतन्त्रता संग्रामताका भारतकै केही समाजवादी नेताहरू आएर लुकेर बसेका थिए । त्यसवेला नेता जयप्रकाश नारायणसहितलाई हनुमाननगरबाट राणा सरकारले पक्राउ गरेको थियो । तर, स्थानीय रामेश्वरप्रसाद सिंहसहितका नेताहरूले राणाविरोधी आन्दोलन चर्काएका थिए । र, जेल तोडेर भारतीय नेताहरूलाई भगाएका थिए । पौडेलले सोमबार सिंहको गाउँ अवलोकन गरेका छन् ।

यसपछि कांग्रेसका पुराना नेताहरू सूर्यनारायण दास र रामप्रसाद मिश्रको गाउँमा पनि पुग्ने कार्यक्रम छ । दास सिराहाको औरहीका हुन् । ‘जिल्लैपिच्छे पुराना नेता र प्रजातान्त्रिक आन्दोलनका सहिद परिवारलाई भेट गर्ने र कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम छ,’ पौडेलको सचिवालयले भन्यो ।

हुलाकी राजमार्गका सप्तरी, सिराहा, धनुषा र महोत्तरीका सबैजसो क्षेत्रहरूमा पुगेर अन्तक्र्रिया गर्ने योजना रहेको पौडेलको सचिवालयले जनाएको छ । धनुषामा स्वर्गीय महेन्द्रनारायण निधिको गाउँ पुगेपछि पौडेल महोत्तरी हुँदै शुक्रबार काठमाडौं फर्किनेछन् ।