मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ फाल्गुण १० सोमबार १०:१०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सीमानाका खोल्न दबाब दिँदै बेलहियामा साताैँ दिन पनि धर्ना

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण १० सोमबार १०:१०:००

रुपन्देहीका पर्यटन व्यवसायीहरूले आइतबार सातौँ दिन पनि सीमानाका बेलहियामा धर्ना दिएका छन् । नाकालाई सहज रूपमा सञ्चालन गर्ने वातावरण तयार गर्न दबाब दिने उद्देश्यले आयोजना गरिएको धर्नामा विभिन्न व्यावसायिक संघ–संस्थाहरूले पनि ऐक्यबद्धता जनाएका छन् ।

एक महिनाअगाडि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाएर बेलहिया नाका सहज बनाउन माग गरेका उनीहरूले माग सुनुवाइ नभएपछि सीमा क्षेत्रमा धर्ना सुरु गरेका हुन् । साताव्यापी आयोजना गरिएको धर्ना कार्यक्रमबाट पनि माग सम्बोधन नभएपछि अब सीमानाकामा सवारी तेस्र्याएर अवरोध गर्ने सिद्धार्थ होटेल एसोसिएसन सानका अध्यक्ष सिपी श्रेष्ठले बताए ।

पर्यटन व्यवसायीले साताभर नेपाल–भारत दशगजामा धर्ना, मैनबत्ती जुलुसलगायतका विरोधका गतिविधिहरू गर्दै आएका थिए । आइतबार नेपालका मात्र नभई भारतीय व्यापारीसमेत उक्त आन्दोलनमा सहभागी भए । उनीहरूले नाका सहज गर्न नेपाल तथा भारतीय सरकारसँग माग गरे । नवव्यापार मण्डल उत्तर प्रदेशका अध्यक्ष संसाद खानले नाका सहज नहुँदा नेपाल–भारत दुवैतर्फका व्यापारीको व्यवसाय धराशायी भएको भन्दै दुवै देशका सरकारलाई नाका सहज गरी ठप्प भएको पर्यटन व्यवसायलाई राहत दिन आग्रह गरे । 

व्यवसायीले स्थलमार्ग भई सबैभन्दा बढी पर्यटक आउने नाका बेलहिया सरकारले नाम मात्र खोलेको भन्दै सवारीसाधन आवागमनसहितको व्यवस्थाका साथ सीमा सुचारु गर्नुपर्ने माग राखेका छन् । पर्यटन व्यवसायीको मागमा सिद्धार्थ उद्योग वाणिज्य संघको समेत ऐक्यबद्धता रहेको संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले बताए ।

सञ्चारमाध्यममा नाका सुचारु भयो भनेर समाचार आयो, तर सीमानाकामा ओहोरदोहोर गर्न पहिलेजस्तै कठिन छ, जसका कारण जनजीवन सहज बने पनि पर्यटन व्यवसाय बढ्न नसकेकाले सरकारलाई सुनाउनका लागि धर्नालगायतका कार्यक्रमहरू गरेको उद्योग व्यापार संगठनका अध्यक्ष भण्डारीको भनाइ छ । नाका सहज नभए थप आन्दोलनका कार्यक्रमहरू अगाडि बढाउने र यसमा संगठनको साथ रहने अध्यक्ष भण्डारीले बताए । 

नेपाल–भारत सीमानाकामा भएको विरोध कार्यक्रममा सिद्धार्थ होटेल एसोसिएसन नेपाल सान, सोसाइटी अफ ट्राभल्स एन्ड टुर्स, होटेल तथा रेस्टुरेन्ट व्यवसायी संगठन, लुम्बिनी होटेल एसोसिएसन, सिद्धार्थ उद्योग वाणिज्य संघ, उद्योग व्यापार संगठन, पश्चिमाञ्चल यातायात, लुम्बिनी मनी चेन्जर, बेलहिया गाउँ समाज, गृहलक्ष्मी  समूह, बेलहियाका स्थानीय, सुनौली व्यापार मण्डल, नेपाल–भारत अवधमैत्री समाज, नेपाल–भारतका उद्योगी–व्यवसायीहरूले ऐक्यबद्धता जनाएका छन् ।