मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७७ फाल्गुण १० सोमबार ०२:५८:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

शिव पौडेलको परिवारको प्रश्न– हत्यारालाई राष्ट्रपतिबाट नै आममाफी हुन्छ भने जनताले के सोच्ने ?

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण १० सोमबार ०२:५८:००

विनु रायमाझी पौडेलले भनिन्– राष्ट्रपतिले आफ्नो श्रीमान्को हत्यारा खोज्न सक्नुभएन । अर्की महिलाको श्रीमान्को हत्यारा पत्ता लाग्दासमेत आममाफी दिनुभएको छ । हामी यसमा धेरै चिन्तित छौँ । किन न्याय हराएको भयो यो देश ? हत्यारालाई राष्ट्रपतिबाट नै आममाफी हुन्छ भने जनताले के सोच्ने ? हामीले कसरी न्याय पाउँछौँ अब ? न्याय पाउन के गर्नुपर्छ ?

......

तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिवप्रसाद पौडेलकोे हत्यामा जेल सजाय भोगिरहेका तीनजनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएकोमा परिवारले आक्रोश पोखेको छ । भरतपुरमा आइतबार पत्रकार सम्मेलन गर्दै परिवारका सदस्यले सत्ता र शक्तिको आडमा राष्ट्रपति भण्डारीले हत्याका दोषीलाई सफाइ दिएकोमा असन्तुष्टि जनाए । 

सर्वस्वसहित जन्मकैद फैसला भएका आठजनामध्ये सुनील केसी, फणीन्द्र श्रेष्ठ र दिलबहादुर मोक्तानलाई प्रजातन्त्र दिवसका अवसरमा आममाफी दिइएको छ । आममाफी नदिइएको भए केसी २० असार ०८७, श्रेष्ठ २३ साउन ०८७ र मोक्तान ३ भदौ ०८७ सम्म कारागारमै रहनुपर्ने थियो । सरकारको सिफारिसमा आममाफी पाउने तीनैजना नेकपा ओली समूहका समर्थक हुन् । छुटेका तीनैजना तत्कालीन नेकपा एमालेको युवा संघका कार्यकर्ता हुन् । 

मृतक शिवकी पत्नी विनु रायमाझी पौडेल, उनका १६ वर्षीय छोरा सिबिनजंग, दाजु तारानाथ र भाइबुहारी रीताले राष्ट्रपति भण्डारीले आममाफी दिएकोमा विरोध गरे ।

विनुले हत्याको मुद्दामा कारागार रहेका व्यक्तिलाई प्रजातन्त्रकै खिल्ली उडाउँदै आममाफी दिइएको र यसले आफूहरूमाथि अन्याय भएको बताइन् । उनले भनिन्, ‘अपराधी जेल गएर पश्चात्ताप गर्दै थिए । कैद सजाय भुक्तान गरेपछि छुट्नु स्वाभाविक थियो, तर पहिले नै छुट्नु पीडितमाथि अन्याय भयो ।’

विनुले नेकपा फुटेपछि कार्यकर्ता बढाउन प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएको आरोप लगाइन् । राष्ट्रपति भण्डारीले आफू नारी भएर पनि अन्य नारीको मर्म नबुझेको उनले गुनासो गरिन् । ‘प्रधानमन्त्री र राष्ट्रपतिले आफ्नो पार्टीको सदस्य भयो भन्दैमा अपराधीलाई आममाफी दिने ?’ उनले प्रश्न गरिन् ।

उनले राष्ट्रपति भण्डारीलाई प्रश्न गरिन्, ‘उहाँ (राष्ट्रपति)ले आफ्नो श्रीमान्को हत्यारा खोज्न सक्नुभएन । अर्की महिलाको श्रीमान्को हत्यारा पत्ता लाग्दासमेत आममाफी दिनुभएको छ । हामी यसमा धेरै चिन्तित छौँ । किन न्याय हराएकोे भयो यो देश ? हत्यारालाई राष्ट्रपतिबाट नै आममाफी हुन्छ भने जनताले के सोच्ने ? हामीले कसरी न्याय पाउँछौँ अब ? न्याय पाउन के गर्नुपर्छ ?’ 

शिवका भाइ गोविन्द पौडेलको पनि ३ जेठ ०६६ मा सार्वजनिकस्थलमै आक्रमणपछि मृत्यु भएको थियो । भाइको हत्या अभियोगमा थुनिएका बन्दीहरूको एउटा समूहले २० मंसिरमा भरतपुर कारागारमा गरेको आक्रमणबाट सख्त घाइते तरुण दल चितवनका अध्यक्ष शिवको काठमाडौंस्थित न्युरो अस्पतालमा उपचार गर्दागर्दै २ पुसमा मृत्यु भएको थियो । 

चितवन केराबारीमा सञ्जय लामाको हत्या भएपछि पौडेलविरूद्ध हत्या अभियोगमा उजुरी थियो । अभियोगमै पौडेल पुर्पक्षका लागि भरतपुर कारागारमा थुनामा थिए । तत्कालीन कांग्रेस नेतृत्वको सरकारले शिवलाई सहिद घोषणा गरेको थियो । यस विषयमा नेपाल तरुण दलले पनि आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ ।