मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
हरिनारायण लम्साल
२०७७ फाल्गुण ९ आइतबार ०८:२६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

शाखारहित बैंकिङ सेवाको नाममा गाउँलेको ८० लाख ठगेर एजेन्ट फरार

स्थानीयले बैंकमा राख्न एजेन्टलाई पैसा दिए पनि लम्सालले व्यक्तिगत ब्याज दिने सर्तमा पैसा लिएको मेगा बैंकको जिकिर

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण ९ आइतबार ०८:२६:००

मेगा बैंकको शाखारहित बैंकिङ एजेन्ट सञ्चालन गरिरहेका मालिका गाउँपालिका–७, घमिर गुल्मीका हरिनारायण लम्साल स्थानीयको करिब ८० लाख रुपैयाँ उठाएर फरार भएका छन् । उनले कतिपयलाई रकम जम्मा गरिएको भौचरसमेत नदिएको तथा कतिपयलाई लम्साल कम्युनिकेसनको छाप लागेको मेगा बैंकको भौचर दिने गरेको पाइएको छ । शाखारहित बैंकिङ सेवा घमिरका सञ्चालक उनी १७ माघदेखि फरार छन् । 

मालिका गाउँपालिका–७, घमिरकी जमुना लम्साल तीन वर्षपहिले आफ्नै घरमा मेगा बैंकको शाखारहित बंैकिङ सेवा सुरु भएपछि खुसी थिइन् । आफन्त हरिनारायण लम्साल एजेन्ट भएर आएपछि उनले चारपटकमा साढे १२ लाख रकम मुद्दती खातामा जम्मा गरिन् । उनका पति निमबहादुर लम्सालले पनि ३ लाख ३५ हजार मुद्दतीमा जम्मा गरे । तर, माघको पहिलो साता बैंकमा जम्मा गरेको ५ लाख निकाल्न खोज्दा आफ्नो खातामा पैसा नभएको पाएपछि उनी छक्क परिन् ।

आफ्नै घरमा मेडिकल राखेर शाखारहित बैंकिङ सेवा सुरु भएकाले हरिनारायणसँग विश्वासमा भौचरसमेत नलिएको उनी बताउँछिन् । त्यस्तै, स्थानीय पूर्णबहादुर बुढामगरले पनि माघको पहिलो हप्ता लम्साललाई ५ लाख दिएका थिए । तर, दोस्रो हप्ताबाट लम्साल परिवार नै घरमा नभएको स्थानीयको भनाइ छ । सञ्चालकसहित परिवार नै भागेकाले रकम डुब्नेमा बुढामगरसहित थुप्रै स्थानीय चिन्तामा छन् । 

‘मसहित थुप्रै गाउँलेको रकम बैंकमा नभएपछि बल्ल ठगिएको पत्तो पायौँ,’ पूर्णबहादुरले भने, ‘सोझा गाउँलेलाई नक्कली भौचर कसरी थाहा हुन्छ ?’ पीडित पक्षले आफूहरू ठगिएको विषयमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुका साथै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको समेत ध्यानाकर्षण गराएका छन् । जिल्ला प्रहरी गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेयले बैंक र पीडितसँग समन्वय गरेर फरार व्यक्ति खोज्ने काम भइरहेको बताए । तर, आरोपित भागेको एक महिना पुग्न थाले पनि पत्ता लगाउन सकेको छैन । उनले प्रयोग गर्दै आएको लु५३प १५७१ नम्बरको मोटरसाइकल बुटवलमा फेला परेको छ ।  

स्थानीयले बैंकमा राख्न एजेन्टलाई पैसा दिएको बताए पनि हरिनारायणले व्यक्तिगत रूपमै ब्याज दिने सर्तमा पैसा उठाउने गरेको मेगा बैंकको जिकिर छ । ‘बैंकको एजेन्टसमेत रहेका कारण बैंकको नाम आउनु स्वाभाविक हो,’ बैंकका प्रमुख सञ्चालन अधिकृत राजेश शर्माले भने, ‘तर, उनले स्थानीयलाई विश्वासमा पारेर ब्याज दिने गरेर आफ्नै संस्थाको नाममा पैसा उठाउने गरेको देखिएको छ ।’ बैंकको नाममा भने लम्सालले रकम उठाउने नगरेको शर्माको जिकिर छ । 

शाखारहित बैंकिङ सेवा प्रदान गर्ने एजेन्टहरूको दैनिक कारोबार सीमा अधिकतम १ लाखसम्म हुने र यस्ता एजेन्टले मुद्दती निक्षेप संकलन गर्न नपाउने व्यवस्था छ । तर, लम्सालले बैंकको नाम दुरुपयोग गरेर पैसा उठाउने गरेको भेटिएको हो । एजेन्टहरूले प्रतिग्राहक १० देखि २० हजारसम्म कारोबार गर्न पाउँछन् ।

पस मेसिन, मोबाइल तथा ट्याबलेटका माध्यमबाट यस्तो रकम जम्मा गरिने र रकम जम्मा हुनेबित्तिकै ग्राहकले एसएमएसमार्फत जानकारी पाउँछन् । यस्तो बैंकिङ प्रणालीको जानकारी अभावमा स्थानीयहरू ठगिने सम्भावना देखिँदै आएको बैंकरहरू बताउँछन् । ‘ग्राहकमा शाखारहित बैंकिङसम्बन्धी शिक्षा अभावमा पनि स्थानीयहरू फस्ने अवस्थामा छन्,’ सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले भने, ‘ग्राहकहरूलाई आफ्नो रकम जम्मा भएपछि मोबाइलमा एसएमएस आउँछ भन्ने जानकारी नहुँदा पनि ठगिने अवस्था आएको हो ।’  

०७० सालबाटै अभ्यासमा आएको बैंकिङ प्रणालीलाई ०७२ को भूकम्पपछि भने प्रोत्साहन नै गरियो । युके एडको कार्यक्रमअन्तर्गत बैंकहरूसँगको साझेदारीमै यसलाई अगाडि बढाइएको थियो । स्थानीय प्रतिनिधि तोकिएर सञ्चालन गरिने यस्तो सेवाको दुरुपयोग रोक्न राष्ट्र बैंकले निर्देशिकामा कारोबार सम्पन्नपछि ग्राहकले बुझ्ने गरी स्पष्ट रूपमा यसको जानकारी गराउनुपर्ने व्यवस्था छ । यस्तो कारोबारसम्बन्धी जोखिमको व्यवस्थापन गर्ने दायित्व बैंक तथा वित्तीय संस्थाकै हुने व्यवस्था निर्देशिकामा गरिएको छ ।