१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ फाल्गुण ७ शुक्रबार ०८:४१:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सिद्धबाबाविरुद्ध सरकारी वकिल कार्यालय पुनरावेदन जाने

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण ७ शुक्रबार ०८:४१:००

आफ्नै अनुयायी बलात्कार आरोपमा जिल्ला अदालत सुनसरीबाट सफाइ पाएका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको मुद्दा सरकारी वकिलको कार्यालय सुनसरीले उच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरेको छ । 

गिरीलाई सफाइ दिएको फैसालाको पूर्णपाठ कार्यालयमा बुधबार प्राप्त भएपछि अध्ययन थालिएको जिल्ला न्यायाधिवक्ता नारायण रिमालले जानकारी दिए । ‘सफाइ पाउने फैसला भएको दुई महिनापछि पूर्ण पाठ हात परेको छ । हामीले अध्ययन सुरु गरेका छौँ । अध्ययनपछि पुनरावेदन प्रक्रियामा जान्छौँ,’ न्यायाधिवक्ता रिमालले भने । फैसलाको पूर्णपाठ ७५ पृष्ठ लामो भएकाले अध्ययनमा केही समय लाग्ने उनले बताए ।

फैसला प्राप्त भएको मितिले ७० दिनभित्र पुनरावेदन गर्नुपर्ने हुन्छ । त्रि–दण्ड धारण गरेकाले आफू स्त्री र अग्निबाट टाढा रहने अनुयायीलाई महिलाले शरीर समर्पण गरेपछि भएको तर्कसहित प्रमुख न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले गत २२ मंसिरमा बलात्कार नठहर्ने फैसला सुनाएको थियो । ‘जाहेरवाली र प्रतिवादीबीच आदानप्रदान भएका म्यासेजबाट सहमतिमा शारीरिक सम्पर्क भएको भन्ने देखिएकाले अभियोग दाबीबमोजिम जबर्जस्ती करणीको कसुर कायम गर्न मिल्ने देखिएन,’ भन्ने व्यहोराको फैसला आएको कोइरालाले जानकारी दिए । 

गत ४ कात्तिक ०७६ मा सिद्धबाबाले करणी गरेको भन्दै ती महिलाले ११ मंसिर ०७६ मा जाहेरी दर्ता गराएकी थिइन् । जिल्ला प्रहरीले जाहेरी लिन नमानेपछि प्रहरी प्रधान कार्यालयमार्फत जाहेरी दर्ता गराइएको थियो । सो मुद्दामा सुरुदेखि बहस गर्ने सरकारी वकिल गोकुल खनालले न्यायाधीशको फैसला बदनियतपूर्ण रहेको भनेर सार्वजनिक गरेका थिए । लगत्तै खनाललाई १६ पुसमा जिल्ला वकिलको कार्यालय सप्तरी सरुवा गरिएको थियो । नयाँ पत्रिकासँगको टेलिफोन कुराकानीमा उनले सो मुद्दामा आफूले लामो समय काम गरेकाले पुनरावेदन गर्न सुनसरीलाई सक्दो सहयोग गर्ने बताए । 

 ओरेक पनि पुनरावेदनमा जाने
पीडित महिलाको पक्षमा लड्दै आएको ओरेक सुनसरीले पनि अदालतको पूर्णपाठ आएपछि उच्च अदालतमा पुनरावेदन गर्ने जनाएको छ । ओरेकले पनि यस विषयलाई गम्भीर रूपमा लिएको जनाएको छ । ओरेकले मुद्दाको सुरुआती दिनमा पीडित महिलाको पक्षमा अदालत परिसरमा धर्नासमेत दिएको थियो ।

पीडितले न्याय नपाई पीडकले उन्मुक्ति पाउँदा दण्डहीनताले प्रश्रय पाउने भएकाले आफूहरू माथिल्लो अदालतमा जाने ओरेक संयोजक सुनिता दनुवारले बताइन् । महिलाले जाहेरी दिएपछि गिरीलाई प्रहरीले १६ मंसिर ०७६ मा विराटनगरस्थित विराट नर्सिङ होमबाट पक्राउ गरेको थियो ।

पक्राउ गर्न प्रहरी आउन लागेको थाहा पाएपछि विरामी भएको बहाना बनाएर उनी विराट नर्सिङ होमको आइसियूमा भर्ना भएर बसेका थिए । प्रहरीले उनलाई आइसियूमै निगरानीमा राखेर अदालतमा हाजिर गराउँदै आएको थियो । अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएकै दिन उनी अस्पतालबाट भागेर भारत गएका थिए । पछि फागुन ०७६ मा नेपाल आएर अदालतमा हाजिर भएका थिए ।