१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ फाल्गुण ७ शुक्रबार ०६:१७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कोभिडविरुद्धको खोप ल्याउन निजीलाई पनि खुला

१० प्रतिशतभन्दा बढी मुनाफा लिन नपाउने, निजीले ल्याएको खोप सरकारले खरिद नगर्ने

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण ७ शुक्रबार ०६:१७:००

सरकारले कोरोना भाइरस (कोभिड—१९) विरुद्ध प्रयोगमा आएका खोप खरिद गर्न निजी क्षेत्रलाई अनुमति दिएको छ । तर, लागत मूल्यभन्दा १० प्रतिशत मात्रै मुनाफा लिएर बेच्न पाइनेछ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले १० प्रतिशतभन्दा बढी मुनाफा लिएर बेच्न निजी कम्पनीले नपाउने जानकारी दिए ।

निजीलाई खोप ल्याउन दिए पनि उनीहरूले ल्याएको खोप सरकारले खरिद नगर्ने स्पष्ट पारे । हाल नेपालमा चिनियाँ कम्पनी सिनोफार्मअन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको ‘भेरो सेल’ र अक्सफोर्ड एस्ट्राजेनेका र सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोपले आपत्कालीन रूपमा प्रयोगको अनुमति पाएका छन् । १४ माघदेखि नेपालमा कोभिडविरुद्धको खोप लगाउन थालिएको हो । अहिलेसम्म साढे तीन लाखले कोभिसिल्ड खोप लगाइसकेका छन् । 

‘अहिले पनि हामीले सस्तो र सुलभ मूल्यमा प्रतिडोज चार डलरमा खोप खरिद गर्दै छौँ,’ बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले भने, ‘निजीले ल्याएका खोप निजी क्षेत्रमा प्रयोग गर्न सक्छन् ।’ आगामी जुनसम्ममा २० प्रतिशत नेपाली नागरिकलाई खोप लगाउने लक्ष्यअनुसार काम भइरहेको उनले बताए ।

‘अबको दुई हप्ताभित्र २० लाख डोज खोप भारतबाट आइपुग्छ,’ त्रिपाठीले भने, ‘कोभ्याक्सले पनि २२ लाख डोज दिने सुनिश्चित भएकाले उक्त खोप पनि केही दिनभित्र आइपुग्नेछ । त्यसैले आगामी २३ फागुनबाट उमेर समूहअनुसार समुदायस्तरमा खोप सञ्चालन गर्छौं ।’ सरकारले २३ फागुनबाट ५५ वर्षमाथि उमेर समूहलाई खोप लगाउने भएको छ । 

कोभिसिल्ड खोप खरिदका लागि नेपाल सरकारले भारतीय खोप उत्पादन कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियासँग सम्झौता गरेको छ । कम्पनीले २० लाख डोज खोपका लागि अग्रिम भुक्तानी मागेपछि स्वास्थ्य मन्त्रालयले बुधबार करिब ९३ करोड रुपैयाँ बैंक खातामा हालिदिएको छ ।

औषधि खरिद गर्दा नियमअनुसार अग्रिम भुक्तानी गर्न मिल्दैन । तर, अत्यावश्यक अवस्था भएकाले सरकारले अग्रिम भुक्तानी दिने निर्णय गरेपछि बुधबार कम्पनीलाई २० लाख डोज खोप सुनिश्चित गर्न रकम पठाएको स्वास्थ्यमन्त्री त्रिपाठीले बताए । दुई हप्तामा भारतबाट खोप आउने उनको भनाइ छ ।