मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण १ बुधबार ०९:५६:००
Read Time : > 4 मिनेट
सेयर बजार

मंगलबार सामान्य अंक घट्यो नेप्से

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण १ बुधबार ०९:५६:००

माघ महिनाको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य घटेको छ । नेप्से ओरालो लागेसँगै यस दिन कारोबार रकम पनि सामान्य घटेको छ । लगानीकर्ताहरूले अहिले ‘पर्ख र हेर’ को रणनीति अपनाएका छन् । बजार लामो समयदेखि सुस्त रहेकाले लगानीकर्ताहरू पर्खन बाध्य भएका हुन् । बजारले गति लिन नसकेपछि अल्पकालिन लगानीकर्ताहरूले बजारबाट केही समयका लागि ब्रेक लिएको एक ब्रोकरले बताए । अहिले दीर्घकालीन लगानीकर्ताहरू भने राम्रा कम्पनीहरूको सेयरमूल्य सस्तोमा खरिद गरिरहेको उनको भनाइ छ । बजार घटेसँगै कम्पनीहरूको सेयरमूल्य पनि सस्तिएको छ । कम्पनीको आधारभूत तथा वित्तीय अवस्था हेरी लगानी गरे दीर्घकालमा फाइदा हुनेछ । 

 बजार सारांश
नेप्से परिसूचक बुधबार शून्य दशमलव ६७ अंक घटेर १ हजार १ सय २८ दशमलव १९ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव २ अंक घटेर २ सय ४० दशमलव २० बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव शून्य २ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव शून्य ४ अंक बढेको छ । यस दिन १ सय ६४ कम्पनीको ४ हजार १ सय १९ पटकको कारोबारमा १९ करोड ४१ लाख ५९ हजार ९ सय ६५ रुपैयाँबराबरको ८ लाख ४६ हजार ७ सय ८० कित्ता सेयर खरिद–बिक्री भएको छ । 

प्राविधिक विश्लेषण
आरएसआई : नेप्सेको १४ दिने आरएसआई यस दिन २८ दशमलव ७८ स्केलमा पुगेको छ । ओभरसोल्ड जोनमा रहेको यस आरएसआईले बजारमा सेयर बिक्री चाप बढी रहेको संकेत गर्दछ । 

एडि रेसियोः नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव ८९ रहेको छ । यसले बजार वियरिस प्रवृत्तिमा रहेको संकेत गर्दछ । यस दिन कारोबारमा आएका १ सय ६४ कम्पनीमध्ये ६१ कम्पनीको सेयरमूल्य बढेको छ भने ६८ कम्पनीको सेयरमूल्य घटेको छ । 

यस दिनको पिभट विश्लेषण गर्दा, बुधबार नेप्से ओरालो लागे १ हजार १ सय २५ दशमलव ३२ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ भने उकालो लागे १ हजार १ सय ३१ दशमलव ७७ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । त्यसैगरी, नेप्सेले १ हजार १ सय २२ दशमलव ४६ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । पहिलो प्रतिरोध बिन्दु तोडेर उकालो लागे नेप्सेले १ हजार १ सय ३५ दशमलव ३६ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ ।

 सर्वाधिक कमाउने जेबिल्स
यस दिन जेबिल्स फाइनान्स लिमिटेडको सेयरमूल्य ७ दशलमव ६३ प्रतिशत बढेको छ । त्यसैगरी, चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडको सेयरमूल्य यस दिन ४ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएका महालक्ष्मी विकास बैंक, खानीखोला हाइड्रोपावर कम्पनी र राधी विद्युत्् कम्पनीको सेयरमूल्य ३ प्रतिशतभन्दा बढी घटेको छ । 

६ को बढ्यो, ५ को घट्यो
यस दिन कारोबारमा आएका ११ समूहमध्ये ६ समूहको परिसूचक बढेको छ भने ५ समूहको परिसूचक घटेको छ । उत्पादनमूलक समूहको परिसूचक यस दिन १ दशमलव २४ प्रतिशत बढेको छ । त्यसैगरी, व्यापार समूहको परिसूचक १ दशमलव १४ प्रतिशत, वित्त समूहको शून्य दशमलव ५२ प्रतिशत, जलविद्युत्् समूहको शून्य दशमलव ५ प्रतिशत, निर्जीवन बिमा समूहको शून्य दशमलव २७ प्रतिशत र जीवन बिमा समूहको शून्य दशमलव १८ प्रतिशत बढेको छ । 

अन्य समूहको परिसूचक यस दिन शून्य दशमलव ७२ प्रतिशत घटेको छ । कारोबारमा आएको विकास बैंक समूहको परिसूचक शून्य दशमलव ५७ प्रतिशत, होटेल समूहको शून्य दशमलव ४३ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ३ प्रतिशत र वाणिज्य बैंक समूहको शून्य दशमलव शून्य ५ प्रतिशत घटेको छ । 

१ अर्बभन्दा बढी स्ट्यान्डर्डको नाफा
चालू आवको दोस्रो त्रैमाससम्ममा स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडले १ अर्ब १४ करोड ५३ लाख खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ६ दशमलव ७९ प्रतिशत बढी हो । नाफा बढेसंगै बैंकको वितरणयोग्य मुनाफा पनि सामान्य बढेको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४ दशमलव शून्य ३ प्रतिशत बढेर ९९ करोड ८१ लाख पुगेको छ ।

गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा ९५ करोड ९४ लाख रहेको थियो । गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा बैंकको जगेडा कोष ४५ दशमलव ९९ प्रतिशत बढेर ७ अर्ब ३ करोड ९८ लाख पुगेको छ । बैंकको चुक्तापुँजीमा भने समीक्षा अवधिमा केही परिवर्तन भएको छैन । बैंकको चुक्तापुँजी सो अवधिसम्ममा ८ अर्ब १ करोड १४ लाख रहेको छ । त्यसैगरी, समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सामान्य बढेको छ ।

गत आवको पुस मसान्तमा १ अर्ब ५३ करोड रहेको बैंकको सञ्चालन मुनाफा चालू आवको सोही अवधिमा ६ दशमलव ७९ प्रतिशत बढेर १ अर्ब ६३ करोड पुगेको छ । त्यसैगरी, गत आवमा १ अर्ब ६१ करोड रहेको बैंकको खुद ब्याज आम्दानी चालू आवमा २ दशमलव ३१ प्रतिशत बढेर १ अर्ब ६५ करोड पुगेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप शून्य दशमलव १३ प्रतिशत घटेको छ भने कर्जा तथा सापटी १८ दशमलव ६० प्रतिशत बढेको छ । सो अवधिसम्ममा बैंकले ६५ अर्ब ९८ करोड ४१ लाख निक्षेप संकलन गरी ५० अर्ब ९६ करोड ८६ लाख कर्जा प्रवाह गरेको छ । गत आवको पुस मसान्तमा ४१ रहेको बैंकको मूल्य आम्दानी अनुपात चालु आवमा घटेर २० दशमलव ६३ मा सीमित भएको छ । बैंकको प्रतिसेयर आम्दानी गत आवको तुलनामा १ दशमलव ८१ रुपैयाँ बढेर २८ दशमलव ५९ रुपैयाँ पुगेको छ ।  

सिभिलको नाफा करिब ५० प्रतिशत बढ्यो 
गत आवको पुस मसान्तको तुलनामा चालू आवको सोही अवधिमा सिभिल बैंक लिमिटेको नाफा ४९ दशमलव ७९ प्रतिशत बढेको छ । सो अवधिसम्ममा बैंकले ३५ करोड ९७ लाख खुद नाफा आजर्न गरेको छ । बैंकको वितरणयोग्य मुनाफा भने सामान्य मात्र बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो मुनाफा १० दशमलव ५४ प्रतिशत बढेर २३ करोड ९८ लाख पुगेको छ । सो अवधिसम्ममा बैंकले ४३ अर्ब ८ करोड ४५ लाख निक्षेप संकलन गरी ४३ अर्ब ५५ करोड ६ लाख कर्जा प्रवाह गरेको छ ।

बैंकको निक्षेप गत आवको तुलनामा १६ दशमलव ५७ प्रतिशत बढी हो भने कर्जा २६ दशलमव ९४ प्रतिशत बढी हो । पुस मसान्तसम्ममा बैंकले १ अर्ब ९ करोड ८० लाख खुद ब्याज आम्दानी गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ६० दशमलव ६१ प्रतिशत बढी हो । बैंकको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ६४ दशमलव ९५ प्रतिशत बढेर ५१ करोड ९ लाख पुगेको छ । समिक्षा अवधिमा बैंकको जगेडा कोष १० दशमलव ५० प्रतिशत बढेर २ अर्ब ७१ करोड ५६ लाख पुगेको छ ।

गत आवको सोही अवधिमा बैंकको यस्तो कोष २ अर्ब ४५ करोड ७५ लाख रहेको थियो । बैंकको चुक्तापुँजी समीक्षा अवधिमा ५४ दशमलव ३५ प्रतिशत बढेर ८ अर्ब ३३ लाख पुगेको छ । नाफामा सामान्य सुधार भएपछि बैंकको प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी शून्य दशमलव ६७ रुपैयाँ बढेर ९ दशमलव शून्य १ रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी ८ दशमलव ३४ रुपैयाँ रहेको थियो । बैंकको मूल्य आम्दानी अनुपात समीक्षा अवधिमा घटेर १८ दशमलव शून्य ८ मा सिमित भएको छ । त्यसैगरी, बैंकको प्रतिसेयर नेटवर्थ १ सय ३३ दशमलव ९३ रुपैयाँ पुगेको छ ।

सहयोगीका सञ्चालकको राजीनामा
सहयोगी विकास बैंक लिमिटेडका सञ्चालक गिरधारी शर्मा (भुसाल)ले राजीनामा दिएका छन् । माघ २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शर्माको राजीनामा स्वीकृत गरेको हो ।

विजय लघुवित्तका सञ्चालकको राजीनामा
विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक प्रेमसागर सुवेदीले सञ्चालक पदबाट राजीनामा दिएका छन् । माघ २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले माघ २८ गतेदेखि लागू हुने गरी सुवेदीको राजीनामा स्वीकृत गरेको हो ।