मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण ६ बिहीबार ०८:५१:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

राष्ट्ररक्षाका लागि सेना सक्षम छ : प्रधानसेनापति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण ६ बिहीबार ०८:५१:००

 प्रधानसेनापति पूर्णचन्द्र थापाले अहिलेको सुरक्षा वातावरण अस्थिर, अनिश्चित, अस्पष्ट र तरल रहेको बताएका छन् । जंगी अड्डामा आयोजित संस्थागत परिवर्तन सुदृढीकरण र दिगोपनसम्बन्धी चारदिने सेमिनारको अन्तिम दिन बुधबार प्रधानसेनापति थापाले दक्षिण एसियाको सबैभन्दा पुरानो इतिहास बोकेको नेपाली सेना राष्ट्ररक्षाका लागि सक्षम र समर्पित रहेको पनि बताए । 

‘आजको अस्थिर, अनिश्चित, अस्पष्ट र तरल सुरक्षा वातावरणमा परिवर्तनबाहेक अरू सबै अस्थायी हो,’ थापाले भने, ‘परिवर्तनको प्रकृति अपरिवर्तनीय छ र हरेक संगठनमा परिवर्तनको निरन्तरता मात्र नभई सुदृढीकरण तथा दिगोपनाको विषयमा सबैमा समान समझदारीको विकास र प्रवद्र्धन आवश्यक छ ।’ प्रधानसेनापति थापाले परिवर्तन संस्कृतिको निर्माण गर्ने सम्पूर्ण जिम्मेवारी नेतृत्वको मात्रै नभएको बताए ।  परिवर्तनको सुरुवात गर्न अहिलेको समय सबैभन्दा उपयुक्त भएको पनि उनको भनाइ थियो । 

कार्यक्रममा सेनाका बलाधिकृत रथी प्रभुराम शर्माले सांगठनिक परिवर्तन सामूहिक प्रयास तथा जिम्मेवारीबाट मात्र सम्भव हुने र नेपाली सेना पेसेवर संगठनको रूपमा लक्ष्य प्राप्त गर्न निरन्तर लागिपर्ने बताए । सेमिनारमा रक्षा मन्त्रालय तथा अन्य सुरक्षा निकायका उच्च तहका अधिकृतहरू र नेपाली सेनाका अधिकृत सहभागी थिए ।  सेमिनारमा ६ जना गैरसैनिक तथा ११ जना सैनिक विषयविज्ञले विभिन्न विषयमा प्रस्तुतीकरण दिएका थिए ।