मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण ६ बिहीबार ०८:५०:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

जलवायु सम्मेलनमा नेपालको सहयोग होस् : बेलायत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण ६ बिहीबार ०८:५०:००

बेलायत सरकारले कोप २६ (जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन) मा उच्चस्तरीय प्रतिनिधित्व तथा सहयोग र समर्थनका लागि नेपाललाई आग्रह गरेको छ । सम्मेलनका लागि अध्यक्ष तोकेका सांसद आलोक शर्माले प्रधानमन्त्री केपी ओलीसँग बुधबार भएको शिष्टाचार भेटमा यो आग्रह गरेका हुन् । उनी नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डल दुईदिने भ्रमणका सिलसिलामा बुधबार आएको हो ।

कोभिड–१९ का कारण रोकिएको सम्मेलन बेलायतको ग्लाजगो सहरमा आगामी १५–२६ कात्तिकमा आयोजना हुने तय भइसकेको छ । माघ पहिलो साता नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटमा बेलायतले सम्मेलनमा नेपालबाट उच्चस्तरीय प्रतिनिधित्वको अपेक्षा गरेको बताएकी थिइन् । 

प्रधानमन्त्री ओलीलाई अध्यक्ष शर्माले पनि उच्चस्तरीय सहभागिताको अपेक्षा बेलायतले गरेको उल्लेख गरेका थिए । त्यसबारे कूटनीतिक च्यानलबाट छलफल गर्दै उपयुक्त समयमा टुंगो लगाउने प्रधानमन्त्री ओलीको जवाफ थियो । शर्मा नेतृत्वको प्रतिनिधिमण्डलले यसअघि अफ्रिका र युरोप भ्रमण गरिसकेको छ । 

प्रतिनिधिमण्डलले बिहीबार राष्ट्रपति भण्डारी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

परराष्ट्र मन्त्रालयद्वारा बुधबार जारी विज्ञप्तिमा नेपाल–बेलायत सम्बन्ध, जलवायु परिवर्तन, ऊर्जालगायत अन्य विषयमा सहकार्यबारे छलफल भएको थियो । सम्मेलनका अध्यक्ष शर्माले सम्मेलनको तयारी, प्राथमिकता तथा योजनाबारे प्रधानमन्त्रीलाई जानकारी दिएका थिए । प्रधानमन्त्री ओलीले सम्मेलनमा नेपालको पूर्ण सहयोग र समर्थन रहने पनि जवाफ दिएका थिए ।