१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नवीन प्यासी
२०७५ फाल्गुण १ बुधबार ०९:२३:००
Read Time : > 4 मिनेट
फिचर

मुर्चुंगा मेलोडी  : रैथाने संगीत खोज्दै झुमा

Read Time : > 4 मिनेट
नवीन प्यासी
२०७५ फाल्गुण १ बुधबार ०९:२३:००

झुमा लिम्बूले ‘भञ्ज्याङ कुर्नु गाह्रै भयो ए साइँला’ जस्ता गीत गाइन् । बिस्तारै संगीतको ज्ञान भएपछि मुन्धुमभित्र छिरिन्, आफ्नै संगीत खोज्न । गीत रेकर्डका लागि स्टुडियो पुगिन् । तर, त्यहाँ बजेको मुर्चुंगाले उनको चित्त बुुझेन । संगीतकारलाई भनिन्, ‘जर्क भयो दाइ साउण्ड, यस्तो हुँदैन ।’ प्राविधिक रूपमा मिले पनि उनको मुड आएको थिएन । फेरि भनिन्, ‘अलि मेलोडियस गर्नुस् न !’ संगीतकारले भने, ‘मुर्चुंगामा कहाँ मेलोडी हुन्छ ?’ 

मुर्चुंगामा मेलोडियस हुन्छ भनेर बजाएरै सुनाइन् । संगीतकारले माननेन् । उनले विवाद गरिन् । गीत जसोतसो रेकर्ड भयो, तर उनलाई चित्तै बुझेन । अनि झुमा मुर्चुंगामा मेलोडी खोज्न थालिन् । साथी शम्भु बानियाँलाई मुर्चुंगाको मेलोडी निकाल्न लगाइन् । बिस्तारै सिकाउँदै गइन् । पाँच–सात वर्षको अन्तरालमा शम्भु मजाले मुर्चुंगा बजाउने भए । ‘मेलोडियस बजाउँछन्,’ झुमा मुस्काउँछिन् । 

उनले रैथाने गीतमाथि कार्यक्रम नै गरिसकिन् । गत २४ पुसमा ‘रैथाने संगीत शृंखला–१’ भयो । ‘हाउ भाइ, रैथाने संगीतमाथि बहसको वातावरण बनाऔँ भनेर लागेको तीन–चार वर्ष भयो,’ झुमाले आफ्नो संघर्षको कहानी यहीँबाट सुरु गरेकी थिइन् । नेपालका विभिन्न भेगमा चलनचल्तीमा भएका संगीतलाई स्थापित बनाउन कम्मर कसेर लागेकी छिन् । 

गोलो मंगोलियन अनुहारमा ब्वाइज कट काटिएको कपाल मिलाउँदै भन्छिन्, ‘हाम्रो नेपालमा कलालाई बुझ्ने वातारण बनिसकेको छैन ।’ तनावबाट मुक्त हुनका लागि मात्र संगीत सुन्ने हाम्रो बानी भएकाले नै संगीतको मर्मसम्म पुग्न नसकेको कुरामा सहमत छिन् । भन्छिन्, ‘कलात्मक तवरबाट हेर्ने लेभलमा हामी पुगिसकेका छैनौँ ।’

नेपाली संगीतलाई उठाउन अम्बर गुरुङ, गोपाल योन्जनलगायतले जति काम गरे, त्यसपछि नेपाली संगीत सुस्ताएको बुझाइ छ, उनको । झुमा साथीहरूसँग मिलेर संगीतको ‘जड’ खोजिरहेकी छिन् । स्वपहिचान र अस्तित्वको कुरा आएपछि जडको खोजी हुने उनी बताउँछिन् । रैथाने संगीत हाम्रो जड हो । 

मुर्चुंगामा मेलोडियस हुन्छ भनेर बजाएरै सुनाइन् । संगीतकारले मानेनन् । उनले विवाद गरिन् । गीत जसोतसो रेकर्ड भयो, तर उनलाई चित्तै बुझेन । अनि झुमा मुर्चुंगामा मेलोडी खोज्न थालिन् । 

अहिले जति पनि संगीत सिर्जना भइरहेका छन्, तिनमा भाषा मात्र हाम्रो छ । त्यसकारण संगीतको अस्तित्व गुमाउँदै छौँ । यो कुरा राज्यलाई थाहै छैन । त्यसैले संरक्षणको जिम्मेवारी व्यक्तिबाटै सुरु हुन्छ । झुमा भन्छिन्, ‘पहिले संगीतको जरालाई संरक्षण गरौँ, अनि कुन संगीत कसरी ल्याउनुपर्छ, त्यो छँदै छ, यसको सुरुवात व्यक्तिबाटै हुने हो ।’ राज्यको उच्च स्थानमा पुग्ने मान्छेलाई पहिचानका कारण खासै दुःख पर्दैन । त्यसैले पहिचान बोकेको संगीतमा कामै हुन पाएन । 

गफिँदागफिँदै झुमा केही दार्शनिक हुन्छिन् । कसरी नाच्ने, कति खाने, लाउने भन्ने कुरा संस्कृतिले निर्धारण गर्छ । संस्कृतिलाई राज्यले धर्मको बाटो अपनाएर बढाउनु नै गलत हो । उनी भन्छिन्, ‘धर्मले राजनीति जन्माउँछ र त्यही राजनीतिबाट राज्य अगाडि बढेको हुन्छ ।’ त्यस्तो अवस्थामा राज्यले अन्य पहिचानलाई गायब बनाउने गर्छ । जति धेरै भाषा र संस्कृति भयो, राज्य उति नै समृद्ध हुन्छ । तर, त्यही कुरा राज्यलाई टाउको दुखाइ हुनु आश्चर्य हो । फेरि राज्यलाई कुनै दिन दायित्वबोध त पक्कै होला । यस्तो सोचपछि भने झुमा केही शान्त हुन्छिन् । 

त्यसो त नेपालमा अधिकांश गीत गाउनका लागि मात्र गाइयो । संगीततिर ढल्किएर गाइएन । झुमा यस्ता धेरै समस्या केलाउँछिन् । भन्छिन्, ‘जब अर्गानिक संगीत मर्दै जान्छ, संस्कृति पनि स्वतः मर्दै जान्छ ।’ नेपाली भाषा हुम्लाबाट काठमाडौं आइपुग्दा आधा मरेर आयो । यदि यस्तै स्थितिमा नेपाली संगीत अगाडि जाने हो भने हामी उपनिवेशतिर पुग्छौँ । ‘कुनै हिन्दी गीत नबजी पार्टी सकिन्न, यसले हामीलाई कृत्रिमतातिर धकेलिरहेको छ ।’

विदेशतिर आदिवासी संगीतका लागि फरक थिएटर र स्टुडियो हुने गर्छ । उनले नेपालमा पनि आदिवासी संगीतका लागि त्यस्तै फरक स्टुडियो बनाउने कल्पना गरिन् । जहाँ फरक–फरक संगीत रेकर्ड गराउन सकियोस् । तर, पैसा थिएन । तैपनि केही काम त गर्नैपर्छ भनेर टिम बनाइन् । उनको टिमले बिनायो स्टुडियोमा सिक्किमबाट मान्छे नै झिकायो । अनि काम सुरु भयो । उनले लिम्बू भाषाको एल्बम ‘खास्साम’ पनि ल्याइन् ।

नेपालका सबै ठाउँमा भाषा जानेका मान्छेबाट संगीतको काम होस् भनेर पाँच वर्षअघि प्रयास गरिन् । त्यतिवेला काठमाडौंको पुतलीसडकमा भेटघाट हुने ठाउँ थियो । भन्छिन्, ‘तर, सकिनँ ।’ पहिला हिन्दू राज्य हुँदा पनि ‘हिन्दुइजम’भित्रको बलिया पक्षहरूमाथि काम नै नभएको उनको ठहर छ । भारतले सामवेदभित्रको धुनहरूलाई रेकर्ड गराएर कपीराइट खाइरहेकोप्रति आरिस लाग्यो, उनलाई । एकजना साथीलाई यो कुरा भनिन् । तर साथीले भने, ‘कति पैसा पाइन्छ ?’ झुमा फेरि खिन्न भइन् । भन्छिन्, ‘पैसा त मैले कहाँबाट दिने ?’

आफ्ना संगीतहरू युनोस्कोलाई दिइयो भने हाम्रै कपीराइट हुन्छ भन्ने थाहा पाएपछि त्यता पनि लागिन् । युनेस्कोले काम पनि गरिदिने भयो । संगीत विभागबाट चिठी ल्याउन भन्यो । संस्कृति मन्त्रालय गइन् । तर, संगीत विभाग नै रहेनछ । त्योवेला मन्त्री कृपाशुर शेर्पा थिए । १५–१६ पटक धाएपछि चिठी त पाइन्, तर युनेस्कोले लिएन । ‘संगीत विभागकै चिठी चाहिने रहेछ,’ उनी भन्छिन्, ‘त्यसपछि थाहा भयो, सत्तामा बसेकाहरू कति केयरलेस छन् भनेर ।’ 

एउटा विभाग बनाइदिनु भनेर धेरैपटक भनिन् । एउटा टेबल र संस्कृति विभागकै एक कर्मचारी भए हुन्छ भनेर भन्दा पनि कसैको कान खुलेन । उनी भन्छिन्, ‘म डिप्रेस्ड भएँ त्यसपछि, काम गर्ने माहोल छैन, एउटा चिठी पनि दिन मान्दैनन्, त्यतिवेला त नागरिकता नै च्यातेर जाउँ कि जस्तो लागेको थियो ।’ 

जति गरे पनि काममा प्रगति नभएपछि उनी लन्डन लागिन् । उतैबाट मुन्धुममा संगीतको खोजीलाई निरन्तरता दिने उद्देश्य थियो । लन्डनका विश्वविद्यालय, पुस्तकालय, थिएटर सबै धाइन् । लन्डनको सोयस विश्वविद्यालयमा केयूबाट क्षात्रवृत्ति पाएर गएका विद्यार्थीहरूसँग संगत भयो । मिलेर काम गरिन् । काम त राम्रो भयो, तर विश्वविद्यालयले भन्यो, ‘विश्व संगीतमा प्रस्तुति दिनका लागि लायक भएन, रिएरेन्ज गर्नुपर्छ ।’ फेरि काम सुरु भयो ।

जति धेरै भाषा र संस्कृति भयो, राज्य उति नै समृद्ध हुन्छ । तर, त्यही कुरा राज्यलाई टाउकोदुखाइ हुनु आश्चर्य हो । फेरि राज्यलाई कुनै दिन दायित्वबोध त पक्कै होला । यस्तो सोचपछि भने झुमा केही शान्त हुन्छिन् । 

विश्वविद्यालयका डिनले जम्माजम्मी २०–२५ हजार पाउन्ड लाग्ने जनायो । उनी लन्डनमा पैसा उठाउनतिर लागिन् । स्टुडियोमा काम पनि सुरु भयो । २०१५ तिर नेपाल आइन् । यताबाट ट्रयाक बनाउँदै इमेलमा पठाइन् । भन्छिन्, ‘एउटा ट्र्याक बनाउनका लागि मात्रै नौ महिना लाग्यो ।’ त्यसपछि भने सजिलो भयो । 

पछि प्रभाकर गौतमसँग मार्टिन चौतारीको कार्यक्रममा यही विषयमा छलफल सुरु भयो । अब तीन वर्षदेखि गर्न नसकेको काम गर्न आँट आयो । ‘माइतीघर चोकमा अफिस बनाएर प्रभाकरले नयाँनयाँ मान्छे ल्याएर चिनाउन थाल्यो,’ उनी सम्झन्छिन् । रैथानेको टिम बन्दै गयो । केही काम भए । हाँस्दै भन्छिन्, ‘मिडियाका, एन्थ्रोपोलोजीका मान्छेहरू पाखुरा सुर्कंदै आए ।’ संगीतमाथि साप्ताहिक छलफल, मुन्धुममाथि केही क्लास भए । 

मासिक बहसमा लोचन रिजाल, आहुतीलगायतलाई बोलाइयो । त्यसपछि टिमलाई लन्च गरौँ भन्ने सल्लाह भयो । टिमको नाम ‘फोल्क टार्गेट’तिर थियो र न्वरान भयो– रैथाने । गत पुस २४ गते बैरागी काइँला र चैतन्य सुब्बालाई ल्याएर शिल्पी थिएटरमा एक कार्यक्रम पनि भयो । अहिले झुमा पाकिस्तानको कराँची गएकी छिन् । भन्छिन्, 

‘त्यहाँको कलाकारसँग रैथाने संगीतको प्रस्तुति दिँदै छु ।’ पाकिस्तानबाट फर्किएपछि उनको ब्यान्ड युरोपको अन्तर्राष्ट्रिय ‘एथ्निक फेस्टिभल’मा प्रस्तुति दिन जाँदै छ ।