१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका
२०७७ फाल्गुण ६ बिहीबार ०७:२७:००
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

खोप लगाउन आनाकानी नगरौँ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७७ फाल्गुण ६ बिहीबार ०७:२७:००

धनी राष्ट्रहरूले एकलौटी गरिहाल्लान् भनेर चिन्ता गरिएको कोरोनाविरुद्धको खोपको उपलब्धता नेपालमा यति छिटै होला भनेर आशा गरिएको थिएन । यतिवेला नेपाल कोरोनाविरुद्धको अक्सफोर्ड युनिभर्सिटीले विकास गरेको खोप एस्ट्राजेनेका भ्याक्सिन उपलब्ध हुने र जोखिम समुदायका सबैले लगाउन पाउने अवस्थामा पुगेको छ ।

भारत सरकारले सुरुमै १० लाख मात्रा उपलब्ध गराएको छ भने विश्व स्वास्थ्य संगठनले २० लाख उपलब्ध गराउने भएको छ । पहिलो चरणको खोप आएर पनि लगाउन सुरु भइसकेको छ । सरकारले थप २० लाख खोप खरिद गर्ने तयारी गरिरहेको छ । यसप्रकार हामी छिटै खोप लगाउन पाउने अवस्थामा पुगेका छौँ । यो हाम्रा लागि खुसीको विषय हो । यसमाथि चीनले पनि आफ्नो देशमा विकास र उत्पादन गरेको खोप पाँच लाख मात्रामा उपलब्ध गराउने प्रस्ताव गरिरहेको छ । 

तर, पहिलो चरणको खोप अभियान सकिँदा लक्ष्यअनुसार खोप लगाउनेको संख्या पुगेको छैन । स्वास्थ्यकर्मी, सफाइ कर्मचारी र अग्रमोर्चामा खटिने सुरक्षाकर्मीप्रति लक्षित गरिएको खोप उक्त समुदायका कतिपय सदस्यले नलगाएको र कतिपय सरकारको तथ्यांकमा गल्ती भएका कारण तोकिएको संख्यामा नलगाइएको बताइन्छ ।

काठमाडौं उपत्यकामा १३ हजार पत्रकारलाई प्राथमिकतामा राखेर खोप लगाउन तोकिएको समयमा त्यसको एकचौथाइ संख्याले मात्र लगाएको पाइएको छ । अर्थात् सबै लक्षित समूहले सहज रूपमा खोप लिन चाहिरहेको देखिएन । यसको मुख्य कारण खोपप्रतिको विश्वासमा समस्या रहनुलाई मानिएको छ । कोभिड–१९ का विरुद्धको खोप संसारमा यस प्रकारका रोगको प्रतिकारमा सबैभन्दा छिटो विकास गरिएको औषधी हो । विज्ञान, प्रविधि र मानवीय ज्ञानको दायरा विस्तार हुँदै जाँदा यस्तो सम्भावना भएको हो । 

सबैले खोप लगाउनु नागरिक अधिकार र दायित्व दुवै हो । त्यसैले खोप लगाऊँ, यसका लागि सरकारले चालेको अभियान सफल बनाऊँ । आफू पनि सुरक्षित होऊँ, सबैलाई सुरक्षित बनाऊँ ।
 

यो शतप्रतिशत सफल उपचार पद्धतिचाहिँ होइन । तर, यो ९० प्रतिशतभन्दा बढी सफलता दर भएको विश्वसनीय उपचार पद्धति हो । यस्तो खोप लगाउनेले आवश्यक सतर्कता अपनाएको खण्डमा रोग नसर्ने, संक्रमित व्यक्तिले खोप लगाएको छ भने ऊबाट अरूलाई नसर्ने र कोही संक्रमित भइहाले पनि उसलाई जोखिम र समस्या कम हुनेचाहिँ निश्चित छ ।

यसैगरी अहिलेसम्म यसका उप–प्रभावहरू एकदम कम पाइएका छन् । खोप लगाउनेलाई त्यसको नकारात्मक प्रभाव खासै देखिएको छैन । खोप लगाउनु आफूलाई सुरक्षित गर्नु हो । आफ्ना नजिकका मानिसलाई सुरक्षित बनाउनु हो । संक्रमणको अझै पनि उच्च जोखिममा रहेका हाम्रा सहर र गाउँवासीको जीवनरक्षा गर्न सहयोग गर्नु हो र हाम्रा सबै ज्येष्ठ नागरिकको पनि सुरक्षा गर्नु हो । 

सबैले खोप पाऊन् भनेर राज्यले गरिरहेको प्रयास लक्षित समूहले खोप लगाएको अवस्थामा मात्र सफल हुन्छ । अहिले पनि संक्रमणको भयका कारण हाम्रो बाह्य व्यापारमा प्रभाव परेको छ । कतिपय ठूला निर्माण आयोजनाहरू प्रभावित भइरहेका छन् । पर्यटन व्यवसाय खासै सुचारु भएको छैन । अर्थतन्त्रमा यसका नकारात्मक प्रभाव छन् । यसबाट पार पाउन नेपालमा सबैले खोप लगाएका छन् र यहाँ अब संक्रमणको जोखिम छैन भन्ने सन्देश प्रवाहित गर्नु आवश्यक छ ।

त्यसै भएर पनि स्वास्थ्यसम्बन्धी जोखिम भएका समूहमा कसैले लगाउन नहुने भए स्वास्थ्यकर्मीको सल्लाहमा नलगाए पनि बाँकी सबैले खोप लगाउनु नागरिक अधिकार र दायित्व दुवै हो । त्यसैले खोप लगाऊँ, यसका लागि सरकारले चालेको अभियान सफल बनाऊँ । आफू पनि सुरक्षित होऊँ, सबैलाई सुरक्षित बनाऊँ ।