१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण ५ बुधबार २१:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जलवायु सम्मेलनमा नेपालको सहयोग होस् : बेलायत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण ५ बुधबार २१:४८:००

बेलायत सरकारले कोप २६ (जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन)मा उच्चस्तरीय प्रतिनिधित्व तथा सहयोग र समर्थनका लागि नेपाललाई आग्रह गरेको छ । सम्मेलनका लागि अध्यक्ष तोकेका सांसद आलोक शर्माले प्रधानमन्त्री केपी ओलीसँग बुधबार भएको शिष्टाचार भेटमा यो आग्रह गरेका हुन् । उनी नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डल दुईदिने भ्रमणका सिलसिलामा बुधबार आएको हो ।

कोभिड– १९ का कारण रोकिएको सम्मेलन बेलायतको ग्लाजगो सहरमा आगामी १५–२६ कात्तिकमा आयोजना हुने तय भइसकेको छ । माघ पहिलो साता नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटमा बेलायतले सम्मेलनमा नेपालबाट उच्चस्तरीय प्रतिनिधित्वको अपेक्षा गरेको बताएकी थिइन् । 

बुधबार प्रधानमन्त्री ओलीलाई अध्यक्ष शर्माले पनि उच्चस्तरीय सहभागिताको अपेक्षा बेलायतले गरेको उल्लेख गरेका थिए । त्यसबारे कूटनीतिक च्यानलबाट छलफल गर्दै उपयुक्त समयमा टुंगो लगाउने प्रधानमन्त्री ओलीको जवाफ थियो । शर्मा पाँच सदस्यीय प्रतिनिधिमण्डलसहित बुधबार काठमाडौं आएका हुन् । शर्मा नेतृत्वको प्रतिनिधिमण्डले यसअघि अफ्रिका र युरोप भ्रमण गरिसकेको छ । 

प्रतिनिधिमण्डलले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

परराष्ट्र मन्त्रालयद्वारा बुधबार जारी विज्ञप्तिमा नेपाल–बेलायत सम्बन्ध, जलवायु परिवर्तन, ऊर्जालगायत अन्य विषयमा सहकार्यबारे छलफल भएको थियो । सम्मेलनका अध्यक्ष शर्माले सम्मेलनको तयारी, प्राथमिकता तथा योजनाबारे प्रधानमन्त्री ओलीलाई जानकारी दिएका थिए । प्रधानमन्त्री ओलीले सम्मेलनमा नेपालको पूर्ण सहयोग र समर्थन रहने पनि जवाफ दिएका थिए ।