१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ फाल्गुण ५ बुधबार १०:३७:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

चोटले सावित्रा एक वर्ष मैदानबाहिर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ फाल्गुण ५ बुधबार १०:३७:००

एपिएफ र नेपाली राष्ट्रिय फुटबल टोलीकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ आगामी एक वर्ष मैदानबाहिर रहने भएकी छिन् । उनी महिला राष्ट्रिय लिगअन्तर्गत नेपाल पुलिस क्लबविरुद्धको खेलको क्रममा सोमबार चोटग्रस्त बनेकी हुन् । 

खेलको ७९औँ मिनेटमा पुलिसको डी बक्सभित्र हेडिङ गर्ने प्रयासमा उफ्रिएकी उनी ‘ल्यान्डिङ’ नमिल्दा चोटग्रस्त बनेकी थिइन् । मैदानमै सामान्य उपचार गरेपछि बाहिर निकालिएकी उनलाई थप उपचारका लागि सातदोबाटोस्थित बिएन्डबी अस्पताल पुर्‍याइएको थियो । थप परीक्षणपश्चात् डाक्टरले उनलाई आगामी एक वर्ष आराम गर्न सुझाब दिएका हुन् ।

घुँडाको एसियल टियर भएकाले उनको शल्यक्रिया पनि गर्नुपर्नेछ । शल्यक्रिया जति चाँडो भयो, उनी त्यति नै छिटो मैदानमा फर्कने सम्भावना छ । ‘डाक्टरले एक वर्षसम्म मैदानबाहिर रहनुपर्ने जनाएको छ । उनको शल्यक्रिया पनि गर्नुपर्नेछ’, एपिएफकी प्रशिक्षक भगवती थापाले नयाँ पत्रिकासँग भनिन्, ‘उनको उपचार प्रक्रिया सुरु त भएको छ । तर, समय लाग्न सक्छ । उनीजस्तो खेलाडी चोटग्रस्त हुनु देशकै लागि ठूलो दुर्भाग्य हो ।’

जारी लिगमा सावित्राको ४३ गोल
जारी लिगमा सावित्रा एक्लैले ४३ गोल गरेकी छिन् । अग्रपंक्तिमा उनको सशक्त प्रदर्शनले एपिएफले १० खेलसम्म निरन्तर जितको नतिजा आत्मसात् गरेको छ । सर्वाधिक ३० अंक जोडेको एपिएफ उपाधिको निकै नजिक पनि पुगेको छ ।
एपिएफले प्रतियोगितामा बाँकी रहेको आफ्नो दुईमध्ये एकमा मात्रै जित हात पारे पनि उपाधि जित्ने छ । पाँच अंकले पछि रहेको दोस्रो स्थानको त्रिभुवन आर्मी क्लब उसको दुईमध्ये एक खेलमा बराबरीमै रोकिएको अवस्थामा समेत एपिएफले प्रतियोगिता जित्नेछ । 

यद्यपि, सावित्रा चोटग्रस्त बन्दा एपिएफको उपाधि यात्रा सोचेजस्तो सहज भने पक्कै हुनेछैन । ‘उनी नहुँदाको अवस्थाका लागि पनि हामीसँग योजना त छ । प्रतिस्पर्धामा सहभागी भएपछि जितको तयारी त जसरी पनि गर्नु नै पर्छ’, भगवती भन्छिन्, ‘यद्यपि मैदानमा उनको अभाव खड्किनेछ । प्रतियोगितामा हाम्रा लागि आधाभन्दा बढी गोल उनैले गरेकी छिन् ।’

चौदण्डीगढीको ११औँ हार
प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिकाले लगातार ११औँ पराजय व्यहोरेको छ । चौदण्डीगढी रौतहटको चन्द्रपुर नगरपालिकासँग २–१ गोल अन्तरले पराजित भएको हो ।  सातदोबाटोस्थित एन्फा एकेडेमीको मैदानमा आफ्नो गोलरक्षकको गल्तीमा चौदण्डीगढी लिगमा पहिलो अंक जोड्नबाट चुक्यो । चन्द्रपुरको जितमा रजनी थोकर र दिलकुमारी मगरले गोल गरेका थिए ।

चन्द्रपुरले चौदण्डीगढीकी गोलरक्षक देवीका श्रेष्ठको गल्तीमा अग्रता बनाएको थियो । पहिलो हाफको अतिरिक्त समयमा रजनीको फितलो प्रहारलाई देवीकाले नियन्त्रणमा लिन नसक्दा चन्द्रपुर खेलमा अघि बढेको थियो ।  खेलको ६७औँ मिनेटमा दिलकुमारीले पनि देवीकाकै गल्तीको फाइदा उठाउँदै टोलीको अग्रता दोब्बर पारेकी थिइन् । त्यसको एक मिनेटपछि नै मनिता तामाङले चौदण्डीगढीका लागि एक गोल त फर्काइन् । यद्यपि, टोलीलाई जितसम्म डोहोर्‍याउन भने सकिनन् ।

पराजयका बाबजुद चौदण्डीगढीका प्रशिक्षक दीपक थापाले आफ्नो खेलाडीको प्रदर्शनको प्रशंसा गरे । ‘आज हामी पराजित रह्यौँ । यद्यपि, अघिल्ला खेलको प्रदर्शनसँग तुलना गर्दा यो खेलमा निकै सुधार आएको छ’, उनले भने, ‘अब नेपाल पुलिससँग हुने हाम्रो अन्तिम खेलमा राम्रो प्रदर्शनको अपेक्षा गरेको छु ।’

चन्द्रपुरका प्रशिक्षक नुरराज काफ्लेले पनि खेलाडीको प्रशंसा गरे । ‘आजको खेलमा खेलाडीहरूले राम्रो प्रदर्शन गरे’, उनले भने, ‘यद्यपि जित या हारको नतिजाले लिगमा अब हामीलाई खासै असर पार्नेछैन ।’ सात टोली सहभागी रहेको जारी लिगमा चन्द्रपुर छैटौँ स्थानमा रहने निश्चित भइसकेको छ ।