१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण ५ बुधबार ०६:५३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्रदेश १ को पूर्वाधार विकासका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंकसँग सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण ५ बुधबार ०६:५३:००

सार्वजनिक–निजी साझेदारीका माध्यमबाट प्रदेश १ को पूर्वाधार क्षेत्रको विकासका लागि सार्वजनिक–निजी साझेदारी तथा लगानी प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडबीच सम्झौता भएको छ । परियोजना विकास तथा कार्यान्वयनको चरणमा आवश्यक वित्तीय तथा प्राविधिक सहकार्य तथा सहयोग र अन्य आवश्यक सेवाहरूको सम्बोधन गर्ने विषयमा सम्झौता भएको हो । 

सम्झौताको मुख्य उद्देश्य प्राविधिक र आर्थिक रूपमा सम्भावित प्रादेशिक पूर्वाधारका परियोजनाहरू पहिचान गर्नु र सम्भावित परियोजनाहरूमा वित्तीय तथा प्राविधिक विश्लेषण, परियोजनाको बजारीकरण र विकासकर्ता छनोटका लगानी आवश्यक सहयोग प्राप्त गर्नु रहेको जनाइएको छ ।

बैंकको तर्फबाट वा बैंकको अगुवाइमा स्वपुँजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी सार्वजनिक–निजी साझेदारीको माध्यमबाट प्रदेश १ मा पूर्वाधारका परियोजनाहरूको विकास तथा कार्यान्वयन गर्नु रहेको बैंकले जनाएको छ । 

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा प्रदेश १ को सार्वजनिक–निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरणका निर्देशक डा. सरोज कोइराला र बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेको जनाइएको छ ।

कार्यक्रममा निर्देशक डा. कोइरालाले प्रदेश १ मा कोसी रिफ्रेसमेन्ट सेन्टर, बिमा बाम्बो प्रोजेक्ट, इलेक्ट्रिक बस प्रोजेक्ट, उदयपुर सिमेन्ट रिभाइटजाइजेसन प्रोजेक्टलगायतका केही पूर्वाधारका परियोजनाहरूको प्रारम्भिक अध्ययन विश्लेषण सम्पन्न भइसकेको जनाएका थिए ।

देशको आर्थिक समृद्धिका लागि पूर्वधार परियोजनाहरूलाई आवश्यक सहयोग पु¥याउने उद्देश्य लिई सार्वजनिक–निजी साझेदारीको अवधारणामा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैंकले प्रदेश १ सँग समझदारीपत्रमा हस्ताक्षर गरेसँगै आगामी दिनमा अन्य प्रदेश सरकार एवं स्थानीय निकायसँग समेत सहकार्य गरेर अघि बढ्ने बैंकले जनाएको छ ।