मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ फाल्गुण ५ बुधबार ०९:४७:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

गण्डकी प्रदेशले मनायो वार्षिकोत्सव

मुख्यमन्त्री भन्छन्– सिंहदरबार प्रदेशलाई अधिकार दिन चाहँदैन

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण ५ बुधबार ०९:४७:००

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सिंहदरबारमा बस्नेहरूले प्रदेशमा अधिकार दिन नचाहेको आरोप लगाएका छन् । गण्डकी प्रदेश सरकार स्थापनाको तेस्रो वार्षिकोत्सवको अवसरमा मुख्यमन्त्री प्रांगणमै आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो आरोप लगाएका हुन् । 

नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी समिति सदस्यसमेत रहेका गुरुङ प्रधानमन्त्री ओली समूहतिर लागेका छन् । तर, उनको भनाइ प्रधानमन्त्री ओलीतिरै लक्षित थियो । मुख्यमन्त्री गुरुङले संघ सरकारका कारण प्रदेश सरकारले सोचेजस्तो काम गर्न नसकेको टिप्पणी गरे । सिंहदरबारमा बस्नेहरूको केन्द्रीकृत मानसिकताका कारण काम गर्ने वातावरण नबनेको उनको भनाइ थियो । ‘अझै पनि सिंहदरबारमा बस्नेहरूले प्रदेश सरकारको अधिकार तल–माथि पार्ने कसरत गरिरहेकै छन् । उनीहरूमा केन्द्रीकृत मानसिकता छ,’ उनले भने । 

मुख्यमन्त्री गुरुङले विभिन्न पूर्वाधार बनाउनका लागि जग्गा प्राप्ति संघीयता कार्यान्वयनको मुख्य बाधक भएको बताए । जग्गा प्राप्तिको प्रावधानलाई झन् केन्द्रीकृत गरिएको उनको भनाइ छ । ‘हिजो स्थानीय निकायले सिफारिस गरेर सिडिओले निर्णय गर्दा जग्गा प्राप्ति हुन्थ्यो ।

आज संघीयता आएपछि झन् स्थानीय तहमार्फत प्रदेश सरकार हुँदै केन्द्र सरकार पठाउँदा पनि जग्गा प्राप्ति हुँदैन । अधिकार झन् केन्द्रीकृत गरिएको छ,’ उनले भने । जग्गा प्राप्ति एक महिनामा भइसक्नुपर्नेमा तीन वर्ष पुग्दा पनि नपाउँदा काम गर्न नपाएको उनले बताए । संघीयताको विरोध गर्नेहरू संविधानविरोधी भएको आरोप लगाउँदै उनले भने, ‘संघीयताविरोधी कुरा किन गरेको ? तपाईंले संविधान मान्नुपर्दैन ?’

केन्द्रमा पानी पर्दा प्रदेशमा छाता ओड्न जरुरी छैन
मुख्यमन्त्री गुरुङले राष्ट्रिय रजानीतिको प्रभाव प्रदेश र स्थानीय तहमा पर्न नहुने विश्लेषण गरेका छन् । संघीयताको मर्म भनेकै प्रदेश संरचना भएकाले प्रदेश सरकारलाई स्थिरता दिनुपर्नेमा उनको जोड थियो । ‘केन्द्रीय राजनीतिको प्रभाव यहाँ पर्नुपर्ने जरुरी छैन ।’ उनले भने, ‘केन्द्रमा पानी पर्दा यहाँ किन छाता ओड्ने । यहाँ सबै मिलेर काम गरेकै छौँ । प्रदेशले आफ्नो काम गरिरहेकै छ ।’

तीन वर्ष पार गरेपछि प्रदेशमा बल्ल सरकार हुनुको महसुस गर्ने गरी काम गर्ने आधार तयार भएको उनले बताए । अब जग्गा प्राप्तिदेखि प्रदेश प्रहरी तथा कर्मचारीसमेत आफैँले भर्ना गर्न पाउनेलगायतका व्यवस्था भएपछि सरकार हुनुको महसुस बल्ल भएको उनको भनाइ छ । उनले गण्डकी प्रदेश उज्यालो प्रदेश, एक घर एक धारा, सडक, पानी, मुख्यमन्त्री नमुना कृषि गाउँ, होम–स्टेलगायतका कार्यक्रमले प्रदेशको काम अलिअलि भए पनि देखिएको बताए ।

स्थानीय तहको जग नबिर्सौं : प्रदेश प्रमुख
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकारले लोकप्रियता हासिल गर्न स्थानीय तहको जगलाई बिर्सन नहुने बताए । प्रदेश सरकारले ल्याएका योजनाहरू प्रभावकारी र गरिबमुखी हुनुपर्नेमा प्रदेश प्रमुखको जोड थियो । ‘सुशासनका लागि त्यति नै ध्यान दिन जरुरी छ,’ उनले भने, ‘प्रदेशमा रहेका खनिजहरूको उत्खनन गर्न प्रदेश सरकार लाग्नुपर्छ ।’

गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले संविधानमा उल्लेख गरिएको आधारभूत आवश्यकता हामीले जनतामाझ पुर्‍याउन सकेनौँ भने सरकार चुक्ने हुँदा जनता केन्द्रित भएर काम गर्न सुझाब दिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रदेश सरकारले सरकार हुनुको महसुस गराउन नसकेको टिप्पणी गरे । उनले प्रदेशवासीले अनुभूति गर्ने गरी काम नभएको बताए ।