मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ फाल्गुण ५ बुधबार ०६:३३:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

नरभक्षी बाघ नियन्त्रणमा ढिलाइ हुँदा स्थानीय त्रसित

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण ५ बुधबार ०६:३३:००

नरभक्षी बाघ नियन्त्रणमा ढिलाइ भएपछि कैलालीको वसन्ता जैविक मार्गआसपासका स्थानीय त्रसित भएका छन् । वसन्ता जैविक मार्गमा पर्ने विभिन्न वन क्षेत्रमा देखिएको बाघले मान्छे र घरपालुवा जनावरलाई निरन्तर आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका हुन् ।

बाघको आक्रमणबाट गौरीगंगा नगरपालिका– ५ मा आइतबार २६ वर्षीया कला धामीको मृत्यु भएको थियो । स्थानीय पुष्पाञ्जली सामुदायिक वनमा घाँस काट्न गएकी उनलाई बाघले आक्रमण गरेको थियो । यस्तै, कैलारी गाउँपालिकामा पनि गत शुक्रबार बाघको आक्रमणबाट एकजना घाइते भएका थिए । जंगलमा सालको पात टिप्न गएका कैलारी– ८ का दुर्गा चौधरीलाई बाघले आक्रमण गरेर जंगलमा लगेपछि स्थानीयले उद्धार गरेका थिए ।

आक्रमणसँगै वन क्षेत्रमा बाघ निरन्तर देखिन थालेपछि स्थानीय त्रसित छन् । वसन्ता जैविक मार्गअन्तर्गत कैलारी गाउँपालिका र गौरीगंगा नगरपालिकाका विभिन्न वन क्षेत्रमा नरभक्षी बाघ देखिने गरेको स्थानीयको भनाइ छ । गौरीगंगा नगरपालिकाको खुरखरियाकी हिरा चौधरीले राजमार्गमा पनि हिँड्न असुरक्षा देखिएको बताइन् । काम गर्न यताउता गइराख्नुपर्ने भए पनि बाघको त्रासले जान नसकिएको उनले बताइन् ।

 पूर्व–पश्चिम राजमार्गअन्तर्गत गौरीगंगाको राजीपुरदेखि बडैपुरबीचको जंगलमा गत शनिबार बाघ देखिएपछि स्थानीय बासिन्दा राजमार्गमा आवतजावत गर्दा त्रसित छन् । सोमबार पनि गौरीगंगा नगरपालिका– ८ स्थित गौरीगणेश सामुदायिक वनमा बाघ देखिएको स्थानीयले बताएका छन् । बाघले मान्छेलाई आक्रमण गर्न थालेपछि वसन्ता जैविक मार्गआसपासका स्थानीय त्रसित बनेका हुन् । सामुदायिक वनले वन क्षेत्रमा मान्छे प्रवेशमा रोक लगाएका छन् ।

बाघ देखिएपछि सामुदायिक वन समन्वय समिति मसुरियाले राजमार्गमा एक्लै यात्रा नगर्न आग्रह गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत गौरीगंगा नगरपालिकाको राजीपुरदेखि बडैपुर खण्ड तथा उदासीपुर–राजीपुर र अन्डैया–राजीपुर सडकमा पैदल, मोटरसाइकल, रिक्सा, साइकलजस्ता सवारीसाधनमा यात्रा नगर्न समन्वय समितिले आग्रह गरेको हो ।

समन्वय समितिले विज्ञप्ति जारी गरेर यी सडकमा खुला सवारीसाधनमा यात्रा नगर्न र गर्नैपरे समूहमा जान आग्रह गरेको छ । सामुदायिक वनहरूमा पनि मान्छे प्रवेशमा रोक लगाइएको सामुदायिक वन समन्वय समिति मसुरियाका उपाध्यक्ष विष्णुमाया जोशीले बताइन् । डिभिजन वनले पनि वसन्ता जैविक मार्गमा पर्ने जंगलमा नजान आग्रह गरेको छ भने प्रहरीले बाघ देखिएको ठाउँआसपासमा गस्ती बढाएको छ ।

सतर्कता बढाउनुका साथै नरभक्षी बाघको खोजी थालिएको डिभिजन वन कार्यालय धनगढीले जनाएको छ । बाघको ‘लोकेसन’ पत्ता लगाएर नियन्त्रणमा लिनका लागि सम्भावित ठाउँमा क्यामेरा राखेर ‘ट्र्यापिङ’ गरिरहेको डिभिजन वन प्रमुख रामचन्द्र कँडेलले बताए ।

बाघ देखिएको विभिन्न सामुदायिक वनमा ट्र्यापिङका लागि चारवटा स्वचालित क्यामेरा जडान गरिएको र मंगलबार थप क्यामेरा जडान गरिने उनले बताए । बाघ कुन क्षेत्रमा छ भन्ने पत्ता लागेपछि नियन्त्रणमा लिइने उनले बताए । बाघ नियन्त्रणका लागि बर्दिया राष्ट्रिय निकुञ्जको टोली आउन लागेको कँडेलले जानकारी दिए । ‘बाघ एकै ठाउँमा बस्दैन, घुमिरहन्छ । कहाँ छ भन्ने ‘लोकेसन’ थाहा पाउन क्यामेरा जडान गर्दै छौँ,’ उनले भने, ‘लोकेसन थाहा भएपछि नियन्त्रणमा लिन टोली आउँछ ।’