मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण ३ सोमबार ०६:४३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्रतिव्यक्ति ऊर्जा खपत ५ सय युनिट पुर्‍याउने प्राधिकरणको लक्ष्य 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण ३ सोमबार ०६:४३:००

नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चार वर्षभित्रमा प्रतिव्यक्ति ऊर्जा खपत ५ सय युनिट पुर्‍याउने घोषणा गरेका छन् । आइतबार प्राधिकरणको १७औँ कार्यकारी निर्देशकका रूपमा पदबहाली गरेपछि उनले प्रतिव्यक्ति विद्युत् खपत वृद्धि गर्ने बताएका हुन् । अहिले नेपालको प्रतिव्यक्ति विद्युत् खपतदर २ सय ६७ युनिट रहेको छ । 

त्यस्तै, कार्यकारी निर्देशक शाक्यले संस्थागत विकास योजनालाई अद्यावधिक गरी कार्यान्वयन गर्ने, निर्माणाधीन उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरू सम्पन्न गर्ने र दूधकोसी, माथिल्लो अरुणजस्ता रूपान्तरणकारी आयोजनाको निर्माण अगाडि बढाइने बताए । ‘विद्युत् चुहावट नियन्त्रण, विश्वसनीय विद्युत् वितरण प्रणालीका लागि प्रणालीको सुदृढीकरण तथा विस्तारका कामहरू प्राथमिकताका साथ अगाडि बढ्नेछन्,’ उनले भने । शाक्यलाई नेपाल सरकार मन्त्रिपरिषद्को गत २६ माघको बैठकले कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । 

‘लेऊ या तिर’ (टेक अर पे)को सर्त राखी विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) गरिएका जलविद्युत् आयोजनाको बर्सातको विद्युत् बिक्री चुनौतीपूर्ण रहेको शाक्यले उल्लेख गरे । आन्तरिक खपत बढाउने र बढी भएको विद्युत् बिक्रीका लागि छिमेकी मुलुकसँगको व्यापार आफ्नो उच्च प्राथमिकता रहेको उनले बताए । ‘विद्युत् आपूर्तिका लागि पर्याप्त विद्युत् छ, पुरानो संरचना बदल्न तथा नयाँ सुरु गर्न एकातर्फ स्रोतको अभाव छ भने अर्कोतर्फ स्थानीयको अवरोधले चुनौती थपिदिएको छ, यस्ता चुनौतीलाई सामना गर्दै सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत प्रणालीलाई अत्याधुनिक तथा स्वचालित बनाइनेछ,’ उनले भने ।  

कार्यक्रममा अर्थ निर्देशनालयका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले आन्तरिक रूपमा खपत गरेर बढी भएको विद्युत्को बिक्री व्यवस्थापन नै प्राधिकरणका लागि सबैभन्दा ठूलो चुनौती रहेको बताए । ‘विश्वसनीय विद्युत् आपूर्ति, चुहावट नियन्त्रण, मुलुकलाई पूर्ण रूपमा विद्युतीकरण गर्नु पनि चुनौतीपूर्ण देखिएको छ,’ उनले भने ।

यस्ता चुनौतीको सामना गर्न कार्ययोजनाका साथ अगाढि बढ्ने उनको भनाइ छ । प्राधिकरणको आधिकारिक ट्रेड युनियनका संयोजक रामेश्वर पौडेलले बढी भएको विद्युत् बिक्री, चुहावट नियन्त्रण, संस्थागत पुनर्संरचना विगतमा हासिल भएका उपलब्धिको निरन्तरतालगायतका विषय नयाँ व्यवस्थापनको चुनौती रहेको बताए ।