१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ फाल्गुण ३ सोमबार ०८:४०:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कैलालीमा बाघको आक्रमण बढ्दो आइतबार एक महिलाको ज्यान गयो

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण ३ सोमबार ०८:४०:००

कैलालीको गौरीगंगा नगरपालिकामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । गौरीगंगा– ५ अन्डैयामा पाटेबाघले आक्रमण गर्दा स्थानीय २६ वर्षीया कला धामीको मृत्यु भएको हो ।पुष्पाञ्जली सामुदायिक वनमा घाँस काट्न गएकी धामीलाई बाघले आक्रमण गरेर लगेको थियो । बाघले लगेको ठाउँभन्दा केही पर उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । बाघले आक्रमण गरेको स्थानीयले खबर गरेपछि प्रहरी टोली पुगेको थियो । 

यसअघि गत शुक्रबार बिहान पनि कैलालीको कैलारी गाउँपालिकामा बाघको आक्रमणबाट एकजना घाइते भएका थिए । विवाह प्रयोजनका लागि सालको पात टिप्न जंगलमा गएका कैलारी– ८ दुधियाका २७ वर्षीय दुर्गा चौधरी बाघको आक्रमणबाट घाइते भएका हुन् । 

बाघले मान्छे लगेको देखेपछि छुटाउनका लागि स्थानीय बासिन्दा गएका थिए । घाइते चौधरीको छेउमा बाघ बसेको अवस्थामा भेटेपछि स्थानीयले होहल्ला गरेर बाघलाई भगाएर चौधरीको उद्धार गरेका थिए । बाघको पन्जाले टाउको र पिठ्युँमा चोट लागेर घाइते भएका चौधरीको नेपालगन्जमा उपचार भइरहेको छ ।

केही दिनयता कैलालीमा बाघको आक्रमण बढ्न थालेको छ । जंगलमा बाघ देखिन थालेपछि सुरक्षा सतर्कता बढाइएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत गौरीगंगा नगरपालिकाको राजीपुर र बडैपुरबीच पर्ने जंगलमा शनिबार साँझ वयस्क बाघ देखिएको थियो । स्थानीयका अनुसार शनिबार दिउँसै गौरीगंगा– ८ स्थित गौरीगणेश सामुदायिक वनमा बाघले गाईको एउटा बाछोलाई मारेर खाएको थियो ।

बाघले आक्रमण गर्न थालेपछि सामुदायिक वनहरूले सुरक्षा सतर्कता बढाएका छन् । बाघले आक्रमण गर्न सक्ने भएकाले सबै वनमा मान्छेलाई जान रोक लगाइएको सामुदायिक वन समन्वय समिति मसुरियाका सदस्य गोविन्द शर्माले बताए । डिभिजन वन कार्यालयले पनि सतर्कता अपनाउन आग्रह गरेको छ । डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले जंगलमा नजान आग्रह गरिएको बताए ।

 बाघ नियन्त्रणको पहल हुँदै
बाघलाई बेहोस गरी नियन्त्रणमा लिएर राष्ट्रिय निकुञ्ज वा चिडियाखानामा राख्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँग समन्वय भइरहेको कँडेलले बताए । बाघ नरभक्षी भएकाले नियन्त्रणमा लिनु अनिवार्य भएको उनले बताए । ‘एउटा उपाय बाघलाई बेहोस गरेर निकुञ्जमा छोड्ने वा चिडियाखानामा राख्ने हो । त्यो सम्भव नभए अर्को विकल्प मार्ने हो,’ डिभिजन वन प्रमुख कँडेलले भने, ‘सकभर बेहोस गरेर अन्यत्र लैजान सकियोस् भन्ने हो । यसबारे समन्वय भइरहेको छ ।’ 

कैलालीका जंगल बाघको बसोवास स्थान नभएकाले बाघ कहाँबाट आएको हो भन्ने पुष्टि हुन सकेको छैन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज वा कैलालीको वसन्ता जैविक मार्गसँग जोडिएको दुधुवा नेसनल पार्कमध्ये एक ठाउँबाट बाघ आएको संरक्षणकर्मीले बताएका छन् ।