मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ फाल्गुण ३ सोमबार ०७:२६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हिउँ परेपछि मनाङको आगो नियन्त्रण

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण ३ सोमबार ०७:२६:००

हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका– २ घ्यारूस्थित मुखुङ सामुदायिक वनमा माघ २९ गतेदेखि लागेको आगो नियन्त्रणमा आएको छ । आइतबार साँझदेखि हिमपातसँगै वर्षा भएपछि मानव संसाधनले नियन्त्रणमा लिन नसकेको आगो अहिले नियन्त्रण भएको छ ।

 मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले तीन दिनसम्म आगो निभाउन स्थानीय र सुरक्षाकर्मी लागिपरे पनि नियन्त्रणमा आउन नसकेको आगो हिउँसँगै आएको वर्षाले नियन्त्रणमा आएको बताए । भौगोलिक कठिनाइ र भिरालो वनमा आगो लागेकाले नियन्त्रण गर्न कठिन भएको सशस्त्र प्रहरी बल नेपाल मनाङका प्रमुख डिएसपी होमनाथ पन्थीले बताए । स्थानीयवासी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको संयुक्त टोली दुई दिनदेखि घटनास्थलमै आगो निभाउन खटिएको थियो ।

स्थानीय र सुरक्षाकर्मी आगो नियन्त्रणमा लिन निरन्तर लागिपरेको र हिमपातसँगै वर्षा भएकाले आगो नियन्त्रणमा आएको मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले बताए ।  मनाङको जंगलमा संरक्षित पशुपक्षीको वासस्थान मासिँदा स्थानीयवासी चिन्तित बनेका छन् । मानव बस्ती जोगिए पनि जंगली पशुपक्षीको वासस्थान भने जोगिएको छैन ।

यसअघि लामो समयदेखि मनाङका विभिन्न जंगलमा लागेको आगोले केही गाउँ, बस्ती जोगाउन हम्मेहम्मे परेको थियो । हिउँ नपर्दा लागेको आगोले मानवीय क्षति नभए पनि जंगली जनावरको वासस्थान मासिएका छन् । हिउँ परेपछि आगो नियन्त्रणमा आउँदा सुरक्षित महसुस भएको मनाङ ङिस्याङ गाउँपालिका– ३ का वडाध्यक्ष सोनाम गुरुङले बताए । हिउँ परेपछि मनाङवासी अहिले हर्षित भएका छन् ।