१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ फाल्गुण ३ सोमबार ०७:१८:००
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

यी बलात्कार, हत्या र राज्य

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण ३ सोमबार ०७:१८:००

केही दिनदेखि काठमाडौं र सुदूरपश्चिमका कतिपय भाग आन्दोलित छन् । काठमाडौंमा शुक्रबार महिलाले एउटा भव्य मार्च र सभा आयोजना गरे । बृहत् नागरिक आन्दोलनको ब्यानरमा भएको उक्त मार्च र सभामा नेपाली समाजलाई झकझकाउने र सरकारलाई चेतावनी दिने स्वर गुञ्जिए ।

सामाजिक राजनीतिक अभियन्ताको एउटा नयाँ पिँढी स्थापित शक्तिलाई चुनौती दिँदै अगाडि आएको छ । यो आन्दोलनले झन्डै दुइ सातापहिले बैतडीमा भागरथी भट्टको बलात्कार र हत्याकाण्डमा संलग्न अपराधी किन पक्राउ परेन भन्ने प्रश्न मात्र उठाएन, किन कसैले योनीमा मृत्यु बोकेर हिँड्नु परेको हो भन्ने प्रश्न पनि उठायो । विरोधको सनातन र स्थापित ढाँचालाई तोड्दै एउटा आवेग बोकेको उक्त मार्च समकालीन नेपाली समाज र राज्यका स्त्रीद्वेषी प्रवृत्तिमाथि एउटा चोटिलो प्रहार थियो । 

यस्तै, आन्दोलन बैतडी र धनगढीलगायतका क्षेत्रमा भइरहेका छन् । तर, बलात्कार र हत्यामा संलग्न अपराधी अझै पत्तो लागेको छैन । यो घटनामा पनि निर्मला प्रकरणमा जस्तै अपराधी पत्तो नलगाइने जोखिम बढ्दै गएको छ । गत असारमा कास्कीको मादी गाउँपालिका वडा नम्बर १० मा १८ वर्षकी किशोरी कोपिला परियारको हत्या भयो । देख्ने जान्ने स्थानीय त्यो घटनालाई बलात्कारपछिको हत्या भन्छन् ।

हत्याको एक सातापछि मात्र घटनाबारे थाहा भएको उक्त घटनामा संलग्न को–को थिए भन्ने अहिले आठ महिनासम्म पनि पत्तो लगेको छैन । यस्तो लाग्छ, प्रहरीले सामाजिक राजनीतिक दबाब सिर्जना गर्न नसक्ने परिवारकी सदस्य भएकैले कोपिलाको हत्यारा पत्ता लगाउन चाहेको छैन या ढाकछोपमा लागेको छ । निर्मला, भागरथी र कोपिलाको सम्बन्धमा एउटा समानता देखिन्छ ः तीनैजना बलात्कृत र हत्या हुँदाका बखत सीमान्त परिवारका सीमान्त वर्गमा पर्थे । निर्मला आफ्नै बाबुले छाडेर हिँडेकाले एक्लै घर चलाएकी आमासँग आश्रित थिइन् र आर्थिक रूपले विपन्न परिवारकी । 

न्यायालय छ, प्रहरी प्रशासन छ, स्थानीय सरकार छ र राजनीतिक दलहरू छन्, जसले आममानिसको हितको सुरक्षा गर्ने दाबी गर्छन्, तर निर्मला, भागरथी र कोपिलाहरू निरन्तर न्याय र सुरक्षा प्रणालीकै सिकार बनिरहन्छन्

कोपिला दलित परिवारकी थिइन्, आमा र बाबु दुवैबाट टाढिएर मावलमा शरणार्थीजस्तो अवस्थामा थिइन् । भागरथीका पिता एक महिनाआगाडि मात्र बितेका थिए, घरमा एकल र पीडामा रहेकी आमा मात्र थिइन् । अर्थात् बलात्कार र हत्याको सिकार भएका तीनैजना किशोरी या बालिकाहरू वर्गका दृष्टिले, सामाजिक हैसियतका दृष्टिले र पारिवारिक अवस्थाका दृष्टिले पनि सीमान्तमा रहेका थिए ।

अर्थात् बलात्कारीले यी तीनै घटनामा असुरक्षित परिवारका सदस्यमाथि आँखा लगाएको छ । अर्थात् बलात्कार पीडितको एउटा निश्चित वर्ग छ, राज्यबाटै सीमान्तीकरणमा धकेलिनुको एउटा पीडा छ र सामाजिक सांस्कृतिक उत्पीडनको तल्लो तहमा हुनुको एउटा समानता छ । यी घटनामा प्रहरीको लापर्बाही या असफलताले हाम्रो राज्य सीमान्तीकरणमा परेका समूह या वर्गका सदस्यको सुरक्षाको विषयलाई प्राथमिकतामा राख्दैन भन्ने सन्देश पनि यसले दिन्छ । 

देशमा आफूलाई गरिब र श्रमजीवी वर्गको प्रतिनिधि भन्नेको सरकार छ । भाषणमा समानता र सामाजिक न्यायको चर्को कुरा गर्ने प्रधानमन्त्री छन् । कसैले अन्याय सहनुपर्दैन भन्दै धक्कु लगाउनेहरू राज्य चलाइरहेका छन् । न्यायालय छ, प्रहरी प्रशासन छ, स्थानीय सरकार छ र राजनीतिक दलहरू छन्, जसले आममानिसको हितको सुरक्षा गर्ने दाबी गर्छन्, तर निर्मला, भागरथी र कोपिलाहरू निरन्तर न्याय र सुरक्षा प्रणालीकै सिकार बनिरहन्छन् । जीवित छँदा यही समाजको हेला होचो हत्यापछि यही राज्यबाट न्याय नपाइने अवस्थाको सिकार बन्छन् । सरकारहरू बदलिँदैमा राज्यको नियत बदलिँदैन, राज्यको नियत नबदलीकन भागरथी, कोपिला र निर्मलाहरूको नियति पनि बदलिँदैन ।