मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नवीन गुरुङ संखुवासभा
२०७७ फाल्गुण २ आइतबार ०८:१३:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

अरुण तेस्रोको ड्यामसाइटमा शनिबार पनि प्रदर्शन

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७७ फाल्गुण २ आइतबार ०८:१३:००

टिपरको ठक्करबाट एक स्थानीयको मृत्यु भएको विरोधमा अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइटमा शनिबार पनि प्रदर्शन भएको छ । मकालु गाउँपालिका– ५ फ्याक्सिन्दाबेंसीस्थित ड्यामसाइटमा शुक्रबार टिपरको ठक्करले स्थानीय खड्गबहादुर राईको मृत्यु भएको थियो ।

दोषीलाई कारबाही, पीडित पक्षलाई क्षतिपूर्ति, मृतकका छोराछोरीलाई शिक्षा, स्वास्थ्यको ग्यारेन्टीलगायतका माग राखेर स्थानीयले शनिबार दोस्रो दिन पनि प्रदर्शन गरेका हुन् । उनीहरूले अरुण तेस्रोको कार्यालयमा तोडफोड गरेका छन् । कार्यालय परिसरमा रहेको गाडी तथा कार्यालयका केही कागजपत्र पनि जलाएका छन् । स्थानीयको ढुंगा प्रहारबाट कार्यालयका अधिकांश सिसा फुटेका छन् । 

प्रदर्शनको अगुवाइ गरिरहेका नवराज कार्कीले पीडित परिवारलाई उचित क्षतिपूर्ति र मृतकका छोराछोरीलाई शिक्षा, स्वास्थ्यको ग्यारेन्टी नहुँदासम्म आन्दोलन नरोकिने बताए । स्थानीय हिंसात्मक प्रदर्शनमा उत्रिएपछि आयोजनामा कार्यरत कर्मचारीलाई सुरक्षा दिन बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । 

सहमतिका लागि शुक्रबार र शनिबारका प्रयास असफल भएका छन् । शनिबार सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको नेतृत्वमा वार्ताको पहल भएको थियो । तर, सहमति जुट्न नसकेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले जानकारी दिए ।

प्रदर्शनकारीले वार्ताका लागि भारतीय सतलज कम्पनी एसजेभिएनकै प्रतिनिधि भारतबाट आउनुपर्ने अडान दोहोर्‍याएका छन् । शुक्रबार पनि यस्तै अडानका कारण वार्ता हुन सकेको थिएन ।