१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
रिचर्ड सिल्बर/लियाम टोर्पी
२०७७ फाल्गुण २ आइतबार ०७:३९:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

तातेको हिमालयको चेतावनी

Read Time : > 2 मिनेट
रिचर्ड सिल्बर/लियाम टोर्पी
२०७७ फाल्गुण २ आइतबार ०७:३९:००

विश्वव्यापी जलवायु परिवर्तनका कारण पृथ्वीका अन्य भागको तुलनामा हिमालय क्षेत्र निकै छिटो तातिरहेको छ र त्यसको परिणाम देखिन सुरु भएको छ

अघिल्लो आइतबार भारतको हिमालय क्षेत्रमा अवस्थित एउटा हिमनदी फुट्दा तल्लो भेगमा ठूलो बाढी आयो । बाढीले कम्तीमा ३२ जनाको ज्यान लिएको छ भने अझै दुई सयजना हराइरहेका छन् । अकस्मात् आएको बाढीको भेलले तल्लो भेगमा रहेको एउटा जलविद्युत् पूर्ण रूपमा ध्वस्त बनायो भने एउटामा क्षति पुर्‍याएको छ । यो प्रकोपमा जलवायु परिवर्तनको प्रत्यक्ष हात देखिन्छ । हरितगृह ग्यासको अत्यधिक उत्सर्जनका कारण पृथ्वी तातिरहँदा हिमालय क्षेत्रमा देखिन थालेका प्रभाव बाँकी विश्वका लागि पनि चेतावनी हो । 

राष्ट्रपति पद सम्हालेदेखि जो बाइडेनले पर्यावरणसम्बन्धी वैज्ञानिकहरूका धारणालाई पछ्याउने बताइरहेका छन् । आफ्नो सरकारले वैज्ञानिक समुदायसँग सहकार्य गरेर अगाडि बढ्ने बाइडेनले बताएका छन् । त्यसो हो भने सबैभन्दा महत्वपूर्ण पहिले उनले जलवायु परिवर्तनविरुद्ध उठाइने कदमलाई बलियो अनुसन्धानमा आधारित बनाउनुपर्छ । हिमालय क्षेत्रको अनुसन्धान महत्व दिइनुपर्ने क्षेत्रमा पर्छ । 

यी दुर्गम हिमाली भेगमा अनुसन्धान सञ्चालन गर्न वैज्ञानिकहरूले धेरै कठिनाइ बेहोर्नुपर्छ । मौसम तथा पर्यावरणीय परिवर्तनमाथि नियमित निगरानी गर्न थप कठिन हुन्छ । विश्वव्यापी उष्णताले पानीको चक्रमा असर गरेको छ, त्यस सम्बन्धमा पनि पर्याप्त अनुसन्धान भएको छैन । दक्षिणी र उत्तरी ध्रुवजस्तै हिमालय विश्वका अन्य क्षेत्रको तुलनामा तीव्र गतिमा तातिरहेको छ । त्यस क्षेत्रको तात्ने दर विश्वका अन्य भागको भन्दा तीन गुणा बढी छ । हिमालय क्षेत्रमा सन् २००० यता औसतमा १.८ डिग्री फरेनहाइट तापक्रम बढेको देखियो । जलवायु परिवर्तनको असर अध्ययनका लागि हिमालय एक प्राकृतिक प्रयोगशालामा बदलिएको छ । हरितगृह ग्यास उत्सर्जनमा हामीले आजकै स्थितिलाई निरन्तरता दियौँ भने आइपर्ने संकटबारे तिनले जानकारी दिएका छन् । 

पाकिस्तानदेखि भुटानसम्म १५ सय माइल लम्बाइमा फैलिएको यो उच्च हिमाली शृंखलाको केही हिस्सा निकै धेरै तातेको छ । तापक्रम बढेसँगै एउटा सम्पूर्ण क्षेत्रको पानीचक्र नराम्ररी प्रभावित भएको छ । हिमनदीहरूमा उलेख्य क्षय देखिएको छ । सबैभन्दा आशाप्रद प्रक्षेपणअनुसार पनि यो शताब्दीको अन्त्यसम्ममा हिमालयको हिउँमा ६० प्रतिशतसम्म कमी आउनेछ । कैयौँ हिमनदी हराउन सुरु भएका छन् । इन्डियन इन्स्टिच्युट अफ ट्रोपिकल मेटेरोलोजीको अनुसन्धानअनुसार ‘बृहत्तर हिन्दूकुश हिमालय क्षेत्र निरन्तर तात्ने हो भने हिमपात र हिमनदीको क्षय बढ्नेछ र त्यसले पानी र कृषि क्षेत्रमा ठूलो प्रभाव पार्नेछ ।’ हिमालय क्षेत्र उत्तर तथा दक्षिणी ध्रुवपछि सबैभन्दा ठूलो क्षेत्रमा स्थायी बरफको च्यादर भएको क्षेत्र हो ।

अहिले दक्षिण एसियाको सुक्खा सिजन थप सुक्खा र खडेरीमय र मनसुन सिजनमा भीषण वर्षा हुन थालेको छ । ठूलो वर्षाका कारण बाढी–पहिरो र तिनले निम्त्याउने हताहती बढिरहेको छ । यी परिवर्तनले एसियाका ठूला नदीको बहावमै असर पर्ने खतरा बढेको छ । यी नदीहरू यस क्षेत्रका एक अर्ब मानिसको पानीको प्रमुख स्रोत हो । विशेषतः हिन्दूकुश हिमालय क्षेत्रका २४ करोड बासिन्दा प्रत्यक्ष प्रभावित हुनेछन् । आफूवरिपरिको पर्यावरण बदलिरहँदा परिवर्तनसँग अनुकूलित हुन संघर्ष गरिरहेका मानिसले विभिन्न खालका कठिनाइ महसुस गर्न थालिसके । 

गोठालाहरूले आफ्ना वस्तुभाउका लागि घाँसपात भेट्न कठिन हुन थालेको छ । सुक्खाका कारण किसानले पनि अन्न उब्जाउन सकिरहेका छैनन् । युरोपको वन अवलोकनका आधारमा अनुसन्धानदाताले तल्लो भेगका रूख माथिल्लो चिसो भागमा सर्ने अनुमान गर्न सक्थे । अन्यत्र त्यस्तो देखिएको छ । तर, हिमालय क्षेत्रका केही वनमा त्यसको उल्टो वन सखाप हुने अवस्थामा छ । यसले जलवायु परिवर्तनका असर हामीले अनुमान गरेअनुसार नहुने देखाउँछ । 

अन्य अनिश्चिततामा पनि ध्यान जानु जरुरी छ । जस्तो– हजारौँ मिटर अग्ला हिमालहरूले कसरी उत्तरी गोलाद्र्धको हवाई गतिको मार्गलाई असर गर्छ भन्ने एउटा अध्ययन क्षेत्र हो । त्यस्तै, पर्माफ्रस्टको पग्लने गति र स्तरमा यसले के असर पार्छ भन्नेमा त्यति अध्ययन भएको छैन । अत्यधिक चिसो स्थानमा जमिनको एक निश्चित गहिराइसम्म जम्ने स्थानलाई पर्माफ्रस्ट भनिन्छ । त्यस्तै, विश्वव्यापी उष्णताले दक्षिण एसिया क्षेत्रको मनसुन सिजनमा कस्तो खालको दिगो असर पार्छ र यसको भूराजनीतिक प्रभावबारे पनि अध्ययन हुन आवश्यक छ । 

अनुसन्धानदातासँग अहिले क्षति न्यूनीकरण रणनीति विकास गर्ने अवसर छ । उदाहरणका लागि तीव्र गतिमा पग्लिरहेको हिमनदीले निम्त्याउने बाढी रोक्नका लागि अन्तर्राष्ट्रिय संगठनले जोखिमपूर्ण हिमताल पहिचान गरेर तिनको पानीको सतह घटाउने कार्य गरिरहेका छन् । तल्लो भेगका बस्तीमा बाढीसम्बन्धी पूर्वचेतावनी प्रणाली पनि विकास गरिएको छ । बाढी नियन्त्रणसम्बन्धी केही प्रयास सफल भएका छन् भने अन्य असफल देखिएका छन् । तर, सबै परिणामले सीमित कोषलाई कसरी उपभोग गर्ने भन्ने पाठ सिकाएको छ । मानव जातिले सामना गर्न लागेको सबैभन्दा ठूलो संकटको सामना गर्न हामीले विश्वभरका परिवर्तनमा नजर राख्नुपर्छ । यस सन्दर्भमा हिमालयको दीर्घकालीन वातावरणीय अनुसन्धान महत्वपूर्ण छ । 

सिल्बर हिमालय क्लाइमेट एन्ड रिसर्च इन्स्टिच्युटका संस्थापक तथा कार्यकारी निर्देशक हुन् भने टोर्पी सो संस्थाका वरिष्ठ कार्यक्रम निर्देशक हुन् । 

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य