मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ फाल्गुण २ आइतबार ०७:१७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कोभिडले थलिएका अति प्रभावित व्यवसायीलाई थप राहत ल्याइँदै

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण २ आइतबार ०७:१७:००

कोभिडका कारण भएको लकडाउनले असर गरेका अति प्रभावित व्यवसायीहरूलाई राष्ट्र बैंकले थप राहतको प्याकेज ल्याउने तयारी गरेको छ ।

दोलखा उद्योग वाणिज्य संघले शुक्रबार आयोजना गरेको कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले कोभिडका कारण अहिलेसम्म लयमा फर्किन नसकेका अति प्रभावित व्यवसायीहरूलाई थप राहतको प्याकेज ल्याउने गृहकार्य भइरहेको जानकारी दिएका हुन् ।

उनका अनुसार राष्ट्र बैंकले निर्देशिका जारी गरी अति प्रभावित, मध्यम र न्यूनका आधारमा प्राथमिकता पहिचान गरी थप प्याकेजको व्यवस्था गर्न लागेको छ ।

कार्यक्रममा उनले सहुलियत कर्जा प्रवाह नगर्ने बैंकहरूलाई कारबाही गरिने चेतावनी दिएका छन् । सरकारले गरिब, विपन्न, असहाय र पिछडिएका वर्गहरूलाई उद्यमी बनाई स्वरोजगार हुने वातावरण तयार गर्न सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई २ वर्षदेखि प्राथमिकताका साथ अघि बढाएको, तर बैंकहरूका कारण लक्षित वर्गसँग उक्त कार्यक्रम नपुगेको गुनासो आएको बताए ।

कार्यक्रममा सहभागी बैंकहरूलाई लक्षित गर्दै उनले उक्त कर्जा यथाशीघ्र प्रवाह गर्न निर्देशनसमेत दिएका छन् । २ वर्षसम्म झन्डै ६५ हजार उद्यमीहरूले यस्तो कर्जा उपयोग गरेको भए पनि सन्तोषजनक नभएको बताउँदै उनले साना व्यवसायीलाई प्राथमिकता दिनु बैंकहरूको दायित्व भएको बताएका हुन् । दोलखाका बैंकहरूले सहुलियत कर्जा प्रवाहमा आनाकानी गरेको गुनासो कार्यक्रमका सहभागीहरूले गरेका थिए । 

कार्यक्रममा राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले कोभिडको समयलाई लक्षित गर्दै राष्ट्र बैंकले कर्जाको ब्याजमा १० प्रतिशत छुट गरेको बताए । त्यसमा पनि बैंकहरूले कन्जुस्याइँ गरेकाले देशभरका ऋणीहरूले झन्डै ५७ करोड छुट पाएको ढकालले बताए ।