१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ फाल्गुण १ शनिबार ०८:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जनयुद्धबाट प्राप्त उपलब्धिको फल खाने, तर जनयुद्ध नस्विकार्नेप्रति सचेत रहन मुख्यमन्त्री शाहीको आग्रह 

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण १ शनिबार ०८:५२:००

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले जनयुद्धका कारण प्राप्त राजनीतिक उपलब्धिको उपभोग गर्ने, तर जनयुद्धलाई अस्वीकार गर्ने र यसको महानतालाई खिसिट्युरी गर्ने प्रवृत्तिप्रति सचेत रहन आवश्यक रहेको बताएका छन् ।

शनिबार २६औँ जनयुद्ध दिवसको अवसरमा विज्ञप्तिमार्फत शुभकामना व्यक्त गर्दै  मुख्यमन्त्री शाहीले ठूलो बलिदानीपूर्ण संघर्षवाट प्राप्त राजनीतिक उपलब्धिलाई खोस्ने र मुलुकलाई फेरि पनि प्रतिगमनतर्फ लैजाने कुचेष्टा पनि भइरहेको भन्दै जनयुद्ध दिवसको अवसरमा सबैखाले प्रतिगमनकारी, निरंकुश र असंवैधानिक दुस्प्रयत्नका विरुद्ध खबरदारी गर्दै समाजवादी व्यवस्था निर्माणको बाटोमा दृढतापूर्वक अघि बढ्न अपिल गरेका छन् । 

तत्कालीन जनयुद्धकले गाउँ–गाउँसम्म नेपाली जनतालाई जागृत गर्दै सामन्तवादका विरुद्धको राजनीतिक लहर ल्याएको उनको भनाइ छ । जनयुद्धकै जगमा भएको ०६२/६३ को जनआन्दोलनले नेपालमा सदियौंदेखिको सामन्ती राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको भन्दै  मुलुकमा भएको यो राजनीतिक परिवर्तनले आज हामीले समावेशिता, समानुपातिक, धर्मनिरपेक्षता, संघीयतालगायतका महत्त्वपूर्ण राजनीतिक उपलब्धि प्राप्त गरेको बताए । 

उनले जनयुद्धमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । ‘महान् जनयुद्ध र जनआन्दोलन एवं विभिन्न न्यायपूर्ण संघर्षका क्रममा आफ्नाे जीवन आहुति दिने महान् सहिदहरूप्रति यस ऐतिहासिक अवसरमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । बेपत्ता, घाइते तथा अपांगता भएका योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु । साथै, ऐतिहासिक जनयुद्धको पहलकदमी लिने, सुरुवात गर्ने र सहभागी सबै नेतृत्व, कार्यकर्ता, लडाकु योद्धा एवं आमजनसमुदायप्रति हार्दिक आभार प्रकट गर्दछु । ’

उनले भनेका छन्, ‘निरंकुश जहाँनिया सामन्ती राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना गर्ने उद्देश्यका साथ नेपाली जनताले सुरु गरेको सशस्त्र संघर्षको ऐतिहासिक दिन आज फागुन १ गते स्मरण गर्दै यस २६औँ महान् जनयुद्ध दिवसको गौरवमय अवसरमा कर्णाली प्रदेशवासी एवं सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’