मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
दिपेश शाही काठमाडाैं
२०७७ माघ ३० शुक्रबार ०८:५३:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चार कम्युनिस्ट पार्टीको संयुक्त रणनीतिक मोर्चा घोषणा

‘राजनीतिक समिक्षा सभा, वैकल्पिक संयुक्त सरकार’ को माग

Read Time : > 2 मिनेट
दिपेश शाही, काठमाडाैं
२०७७ माघ ३० शुक्रबार ०८:५३:००

पार्टी एकताको उद्देश्यसहित चारवटा कम्युनिस्ट पार्टीहरूको रणनीतिक संयुक्त मोर्चा घोषणा भएको छ । घोषणा भएको संयुक्त मोर्चाले मुलुकको समस्या समाधानका लागि राजनीतिक समीक्षा सभा र वैकल्पिक संयुक्त सरकार निर्माण गरेर वैज्ञानिक समाजवादमा जानुपर्ने माग राखेको छ ।

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच संयुक्त मोर्चा घोषणा भएको हो ।

घोषणा सभामा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव किरणले मोर्चाले वर्तमान संसदीय व्यवस्था र राज्यसत्ताको अन्त्य गरी जनगणतन्त्र र वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्यले संयुक्त मोर्चा घोषणा भएको बताए । मोर्चाले क्रान्तिकारी कम्युनिस्टहरूलाई गोलबद्ध गरी पार्टी एकता गरेर राष्ट्रियता, राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने र जनजीविकाको समस्या समाधान गर्न निरन्तर संघर्ष गर्ने उनको भनाइ थियो । 

वैद्यले प्रतिनिधिसभा विघटन संसदीय व्यवस्थाको असफलताको अभिव्यक्ति भएको बताउँदै सरकारले समाजवाद र समृद्धिको कुरा गरे पनि साम्राज्यवादी नवउदारवादको सिरानी हालेको आरोप लगाए । साथै नेपालमा संसदीय व्यवस्था असफल भएको र त्यसको फाइदा लिन विदेशी शक्तिहरू लागिरहेको वैद्यको दाबी थियो ।

उनले यो समस्या समाधानका लागि २००७ सालदेखि दश वर्ष लामो जनयुद्धको समयसम्म भएका विभिन्न आन्दोलनले गणतन्त्र र राजनीतिक स्वतन्त्रताजस्ता विषयमा मात्रात्मक उपलब्धिहरू हासिल भए पनि गुणात्मक परिवर्तन हुन नसकेको निष्कर्ष मोर्चाको छ । साथै ०६२/६३ को जनआन्दोलन र त्यसपछि भएका विभिन्न समुदायका आन्दोलनका उद्देश्य पनि पूरा नभएकाले त्यसका लागि संयुक्त मोर्चा हुँदै पार्टी एकतासम्म पुग्ने लक्ष्य रहेको मोर्चाको अवधारणा पत्रमा उल्लेख गरिएको छ । 

त्यस्तै वर्तमान संसदीय व्यवस्थाबाट नेपाली समाजका आधारभूत समस्या समाधान गर्न असफल भएर आर्थिक, राजनीतिक र सांस्कृतिक हिसाबले संकटग्रस्त हुन पुगेको भन्दै मोर्चाले विद्यमान व्यवस्थाभित्रबाटै समस्याको समाधान सम्भव नभएको उल्लेख गरेको छ । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुतिले अहिले केही राजनीतिक दलहरूले संसद् पुनर्स्थापना गरेर समस्या समाधान हुने गरेको भने पनि त्यसको कुनै तुक नरहेको बताए ।

‘अहिले केही साथीहरू पुस ५ मा भएको संसद् विघटन प्रतिगामी हो, पुनर्स्थापना  गर्नुपर्छ भनिरहेका छन् । तर, त्यसो हुँदा पनि पुस ४ भन्दा अघि मुलुकमा जे भइरहेको थियो त्यही मात्रै हुने हो,’ आहुतिले भने, ‘त्यसो भएको हुनाले हामीले थप अघि बढेर संघर्ष गर्नुपर्ने अवस्था आएको छ । उनले यो समस्या समाधानका लागि विगतमा भएका गल्ती–कमजोरीको राजनीतिक समीक्षा सभा गर्नुपर्ने र वैकल्पिक संयुक्त सरकार गठन गर्नुपर्ने माग राखे ।

घोषित मोर्चाले पनि आफ्नो अवधारणापत्रमा मुलुकको वर्तमान समस्या समाधानका लागि ‘राजनीतिक समीक्षा सभा, वैकल्पिक संयुक्त सरकार र जनगणतन्त्र–वैज्ञानिक समाजवाद’ स्थापनाको राजनीतिक शृंखला हुँदै अघि बढ्नुपर्ने दाबी गरेको छ ।

पार्टी एकता गर्ने मुख्य लक्ष्यका साथ घोषणा भएको मोर्चाले विभिन्न वामपन्थी, देशभक्त, सच्चा लोकतन्त्रवादी शक्ति, व्यक्तित्वहरूलगायत उत्पीडित वर्ग र समुदायका प्रतिनिधिसँग सहकार्य गर्नेसमेत जनाएको छ । ‘मोर्चा गठनको मुख्य लक्ष्य कम्युनिस्ट पार्टीहरूबीच ध्रुवीकरण र एकता हो । त्यसैले यस रणनीतिक संयुक्त मोर्चामार्फत पार्टीहरूबीच गरिने सहकार्य र सैद्धान्तिक–व्यावहारिक अन्तरक्रियालाई व्यवस्थित गर्दै पार्टी एकतासम्म पुग्ने प्रयत्नलाई घनीभूत पारिनेछ,’ मोर्चाको अवधारणापत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै, मोर्चाको संरचना पनि सार्वजनिक गरिएको छ । जसअन्तर्गत केन्द्र, प्रदेश, जिल्ला र आवश्यकताअनुसार स्थानीय तहसम्म गठन गर्न सकिने भनिएको छ । केन्द्र र प्रदेश समितिमा हाललाई १५ जना रहनेछन् भने जिल्ला तहमा ११ सदस्यीय समिति बनाइने बताइएको छ । साथै सबै कमिटीलाई समावेशी बनाउनुपर्नेछ ।

मोर्चाको केन्द्रीय समितिमा सिपी गजुरेल, रामसिंह श्रीस, पवनमान श्रेष्ठ, सन्तोष बुढा, नवीनकुमार विश्वकर्मा, अज मोहम्मद, ऋषिराम कट्टेल, रामदुलार महतो, राजेश बान्तवा, जागृत रायमाझी, धनकुमारी सुनार र नवीन रिमाल गरी १२ जना रहेका छन् । समितिमा थप तीनजना पछि परिपूर्ति गर्ने जनाइएको छ ।

मोर्चाले पहिलो चरणको संघर्षको कार्यक्रमअन्तर्गत फागुन ६ गते बुटवल,  १४ गते धनगढी र १८ गते इटहरीमा जनसभा गर्ने भएको छ । उक्त सभामा मोर्चाले भन्न खोजेका विषय जनतासामु राख्ने र प्रचार गर्ने उद्देश्य रहेको बताइएको छ । यसपछि दोस्रो चरणका कार्यक्रम सार्वजनिक गरिने जनाइएको छ ।