१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ माघ ३० शुक्रबार ०५:५६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सत्याग्रह घोषणा गर्दै डा. गोविन्द केसीले भने- केपी ओली प्रधानमन्त्री रहेसम्म संविधान मात्रै नभई सिंगो देशको स्वार्थ र सुरक्षासमेत खतरामा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ माघ ३० शुक्रबार ०५:५६:००

डा. गोविन्द केसीले देशमा अधिनायकवादी व्यवस्था संस्थागत गर्ने प्रयास भइरहेको भन्दै विभिन्न तीनबुँदे मागसहित २०औँ सत्याग्रह घोषणा गरेका छन् । ‘अवैधानिक रूपमा गरिएको प्रतिनिधिसभा विघटनको प्रयासबाट संविधानको रक्षा गरियोस्’ र ‘अवैध रूपमा संवैधानिक निकायहरूमा गरिएका नियुक्ति रद्द गरियोस्’ भन्ने नारासहित डा. केसीले १२ फागुनदेखि सत्याग्रह बस्ने बताएका छन् । 

आगामी कैयौँ पुस्ताका नेपालीको भविष्य अन्धकार हुने गरी संविधान नकुल्चियोस् भन्नका लागि नागरिक प्रतिरोधको सर्वोच्च अस्त्र सत्याग्रह सुरु गर्न थालेको भन्दै डा. केसीले संविधानमाथि भएको निरंकुश प्रहारलाई निस्तेज पार्ने आफ्नो मौलिक कर्तव्य पूरा गर्न अहिंसात्मक पहलकदमी लिन सम्पूर्ण नागरिक पंक्तिलाई समेत अपिल गरेका छन् । डा. केसीले अहिलेकै रफ्तारमा प्रतिगमन हुने हो भने निषेध, हिंसा र मुठभेडको राजनीतिले टाउको उठाउने खतरा औँल्याएका छन् । उनले केपी ओली प्रधानमन्त्री रहेसम्म संविधान मात्रै नभई सिंगो देशको स्वार्थ र सुरक्षासमेत खतरामा पर्ने दाबी गरेका छन् ।

‘अहिले देशमा जुन संवैधानिक संकट छ, जसरी एक व्यक्तिले सिंगो राज्यसंयन्त्र कब्जा गर्ने कुटिल प्रपञ्च चलिरहेको छ, यो पूर्ण रूपमा सफल भयो भने भविष्यमा हामीलाई सुधार र सुशासनका लागि लड्ने धरातल नै बाँकी रहनेछैन । केपी ओली देशको प्रधानमन्त्री रहेसम्म हाम्रो संविधान मात्रै नभई सिंगो देशको स्वार्थ र सुरक्षासमेत खतरामा रहनेछ । अहिलेकै रफ्तारमा प्रतिगमन हुने हो भने निषेध, हिंसा र मुठभेडको राजनीतिले टाउको उठाउने सम्भावना प्रचुर छ,’ डा. केसीको विज्ञप्तिमा छ । 

डा. केसीले लोकतान्त्रिक अधिकार र स्वतन्त्रताको रक्षा गर्ने जिम्मेवारी रहेको बताएका छन् । ‘देश अहिले गम्भीर राजनीतिक संकटमा छ । तर, त्योभन्दा ठूलो संवैधानिक संकट अहिले हाम्रासामु छ । झन्डै आठ दशकसम्म नागरिकहरूले रगत–पसिना बगाएर ल्याएको लोकतान्त्रिक व्यवस्था जोखिममा छ । संविधानको मर्म मारेर एक व्यक्ति सर्वेसर्वा हुने र राज्यका सबै संस्थाले उसको स्वार्थअनुसार काम गर्ने अधिनायकवादी व्यवस्था संस्थागत गर्ने प्रयास अहिले भइरहेको छ,’ सत्याग्रह घोषणा गर्दै डा. केसीले जारी गरेको विज्ञप्तिमा छ, ‘अहिलेको नेपालमा हामी नागरिक सार्वभौम हौँ । त्यसैले हामीसँग बोल्न, लेख्न पाउने र सम्माजनक जीविका आर्जन गर्ने अधिकार मात्रै होइन लोकतान्त्रिक अधिकार र स्वतन्त्रताहरूको रक्षा गर्ने जिम्मेवारी पनि छ । यसअगाडि राज्यका जुनसुकै र जतिसुकै शक्तिशाली व्यक्तिहरूले हाम्रो स्वतन्त्रता र अधिकारहरू हनन गर्न खोज्दा नागरिकहरूले तिनलाई परास्त गरेको इतिहास छ ।’ डा. केसीले राजनीतिक संकटका विरुद्ध शान्तिपूर्ण रूपमा हस्तक्षेप गर्ने उपयुक्त समय आएको पनि बताएका छन् ।