मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ माघ ३० शुक्रबार ०६:२८:००
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

सम्पादकीय : झाँक्रीहरू बोल्नैपर्छ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ माघ ३० शुक्रबार ०६:२८:००

सरकारले हिजो नेकपाको प्रचण्ड–माधव समूहकी युवानेतृ रामकुमारी झाँक्रीलाई घरैबाट गिरफ्तार गर्‍यो र तीव्र विरोध र दबाबपछि साँझ रिहा पनि गर्‍यो । आरम्भमा पक्राउ पुर्जीविना उनलाई लिन पुगेको नायव प्रहरी उपरीक्षक नेतृत्वको महानगरीय अपराध अनुसन्धानको प्रहरी टोलीसमक्ष पक्राउ पुर्जी नपाएसम्म नजाने अडान लिएपछि तत्कालै पक्राउ पुर्जी बनाएर उनलाई गिरफ्तार गरियो । उनलाई राज्यविरुद्धको कसुरका सम्बन्धमा अनुसन्धान गर्न भन्दै पुर्जी थमाइएको थियो । उनको गिरफ्तारीभन्दा पहिले प्रधानमन्त्री अध्यक्ष रहेको सत्ताधारी दलको महिला संगठनले झाँक्रीको गिरफ्तारी र कार्बाहीको माग गर्दै दबाब दिएको थियो । केही दिनपहिले गोरखामा आयोजित एउटा सभामा व्यक्त भएको भनाइलाई लाक्षणिक अर्थ लगाएर राष्ट्रपतिलाई अपमान गरेको भन्दै ओली समूहका नेता–कार्यकर्ताले त्यसमाथि व्यापक टिप्पणी गरेका थिए र पक्राउको वातावरण तयार पार्न भूमिका खेलेका थिए । 

झाँक्रीको गिरफ्तारी सबै स्वतन्त्रताप्रेमी नागरिकका लागि चेतावनीको घन्टी हो । प्रेस र अभिव्यक्ति स्वतन्त्रता, सभा, सम्मेलन, विरोध तथा असहमति जाहेर गर्ने सबै आलोचकहरूलाई मौन रहन दिइएको सन्देश हो ।

जबकि झाँक्रीले आफ्नो मन्तव्यमा राष्ट्रपति विद्या भण्डारीलाई चुनावमा आउन चुनौती दिएकी मात्र थिइन् । यस्ता आलोचना र चुनौती तत्कालीन राजा या महारानीलाई पञ्चायतकालमा समेत दिने गरिन्थे । गणतन्त्र आइसकेपछि राष्ट्रपतिजस्तो संस्थाले आफूलाई सक्दो विवादमा नल्याई कार्यसम्पादन गर्नुपर्नेमा ऊ कुनै न कुनै बहानामा विवादको घेरामा तानिँदै आएको छ । प्रथम राष्ट्रपति रामवरण यादवको समयमा भएको कटवाल काण्डदेखि राष्ट्रपति कार्यालय विवादमा तानिन थालेको हो । त्यसपछि राष्ट्रपतिजस्तो गरिमामय संस्थामा पुगेकी विद्यादेवी भण्डारी त निकैपटक विवादको घेरामा तानिएकी छन् र पछिल्लो झाँक्रीको पक्राउ पनि यसैसँग सम्बन्धित छ । अध्यादेश प्रकरण, प्रतिनिधिसभाको विघटन, असंवैधानिक रूपमा संवैधानिक आयोगमा पदाधिकारीको नियुक्तिलगायत प्रकरणमा यो संस्था विवादित र आलोचित बन्दै गएको छ । यस्तो पृष्ठभूमिमा कुनै पनि राजनीतिक पृष्ठभूमि बोकेको व्यक्तिले राष्ट्रपतिलाई अथवा उनको कार्यालयलाई आलोचना गर्नु, चुनौती दिनु स्वाभाविक हो । 

यही आलोचनाको विषयलाई लिएर कसैलाई गिरफ्तार गर्नु र राज्यविरुद्धको अपराधमा मुद्दा चलाउने प्रयास गर्नु सर्वथा आपत्तिजनक छ । यो घटनाले प्रधानमन्त्री केपी ओली शक्तिको आडमा कति असहिष्णु र निर्लज्ज बन्दै गइरहेका छन् भन्नेतर्फ संकेत गरेको छ । साथसाथै यसले सरकार मुठभेड निम्त्याउँदै मुलुकलाई थप अन्धकारतिर धकेल्न चाहन्छ भन्ने प्रस्ट पार्छ । ०६२/०६३ को आन्दोलनबाट राष्ट्रिय राजनीतिमा आफ्नो छुट्टै पहिचान बनाएकी झाँक्री अहिलेको प्रतिगमनविरोधी आन्दोलनकी पनि प्रतिमान हुन् । ओली सरकारले यो चाल त्यतिवेला चालेको छ, जतिवेला प्रतिनिधिसभा विघटनविरुद्ध सडक प्रदर्शन चर्किंदै गएको छ । ओली आफैँ अनेक ढंगले वर्तमान संविधान ध्वस्त पार्ने हरकत गरिरहेका छन् । संवैधानिक आयोग र अंगहरूलाई स्वतन्त्र तथा भयरहित वातावरणमा काम गर्न नदिएर धम्की एवं दबाबमा आफ्नो पक्षमा निर्णय गराउन लागिपरेका छन् । 

राज्यको स्रोत–साधन र शक्तिको अनुचित एवं गैरकानुनी प्रयोगबाट आफ्नो दललाई बलियो बनाउने, त्यसो गर्न नसके निर्वाचन पनि हुन नदिने तथा संवैधानिक संकट खडा गरेर सर्वसत्तावादी ढंगले शासन गर्ने अकांक्षाका साथ ओली अघि बढिरहेका छन् । झाँक्रीको गिरफ्तारी सबै स्वतन्त्रताप्रेमी नागरिकका लागि चेतावनीको घन्टी हो । प्रेस र अभिव्यक्ति स्वतन्त्रता, सभा, सम्मेलन, विरोध तथा असहमति जाहेर गर्ने सबै आलोचकहरूलाई मौन रहन दिइएको सन्देश हो । झाँक्रीलाई पक्राउ गरेर प्रतिगमनविरुद्ध सडकमा निस्केका लेखक, कलाकार, पत्रकार, राजनीतिक कार्यकर्ता, युवा अभियन्ता सबैलाई दिइएको चेतावनी हो कि अब अरूले पनि झाँक्रीकै नियति व्यहोर्नुपर्नेछ । त्यसैले यसविरुद्ध झाँक्रीहरू बोल्नैपर्छ ।