मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ माघ ३० शुक्रबार ०१:४२:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

भागरथी भट्ट बलात्कारपछि हत्या प्रकरण : आठ दिनसम्म शव उठेन, गाउँ हुँदै अब सिंगो जिल्ला आन्दोलनमा

Read Time : > 1 मिनेट
२०७७ माघ ३० शुक्रबार ०१:४२:००

बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको आठ दिन बित्दा पनि प्रहरीले हत्याराको सुइँको पाउन सकेको छैन । हत्यामा संलग्नहरूलाई कारबाहीको माग गर्दै गाउँबाट सुरु भएको आन्दोलनमा अब सिंगो जिल्ला नै उत्रिएको छ ।

सुदूरपश्चिम प्रहरी प्रमुख उत्तम सुवेदी आफैँ दोगडाकेदार गाउँपालिकामै बसेर पाँच दिनदेखि अनुसन्धानको नेतृत्व गरिरहेका छन् । घटनास्थलबाट करिब दुई किलोमिटरको दूरीमा रहेको खोचलेक प्रहरी चौकीमा बसिरहेका उनले बैतडी आएको तेस्रो दिन नै अनुसन्धान साँघुरिएको दाबी गरेका थिए । तर, उनको दाबीअनुसार प्रगति भएको छैन ।

स्रोतका अनुसार आठौँ दिनसम्म आइपुग्दा जिल्लाभित्र तीन र जिल्लाबाहिर दुईजनालाई प्रहरीले विशेष निगरानीमा राखेको छ । भागरथीसँगको फोन सम्पर्क, घटनाको दिन गाउँ छोडेका र यसअघिका ‘क्राइम हिस्ट्री’ देखिएका व्यक्तिहरूमा अनुसन्धान केन्द्रित गरिएको प्रहरी स्रोतले बताएको छ । 

स्थानीय सनातन माविमा १२ कक्षामा पढ्ने भागरथीको गत २१ माघमा विद्यालयबाट फर्किने क्रममा बलात्कारपछि हत्या भएको थियो । उनको स्तनमा टोकेको घाउ देखिएकाले त्यो भागको नमुनासमेत संकलन गरेर प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको छ भने भजाइनल स्वाब प्रयोगशाला पठाइसकिएको छ । 

चर्किँदै विद्यार्थी आन्दोलन 

भागरथीको बलात्कारपछि हत्यामा संलग्नहरूलाई कारबाहीको माग गर्दै बैतडीमा आन्दोलन चर्किएको छ । बिहीबार सदरमुकाम गोठालापानीमा विद्यार्थीले बृहत् प्रदर्शन गरेका छन् । 

विभिन्न विद्यालय र जगन्नाथ बहुमुखी क्याम्पसका विद्यार्थीले शाहिलेक र गोठालापानी बजार हुँदै गढीस्थित जिल्ला प्रशासन कार्यालयअगाडि पुगेर दुई घन्टासम्म नाराबाजी गरेका छन् । भागरथीको जस्तो नियति अन्त्य गर्न बलात्कारीहरूलाई फाँसीको सजाय हुनुपर्ने उनीहरूको माग छ । ‘हामीले छोरीहरू निकै असुरक्षित भएको महसुस गरेका छौँ,’ भागरथी हत्याविरुद्धको आन्दोलनकी अगुवा निशा भट्टले भनिन्, ‘हत्यारा पक्राउ नपर्दासम्म आन्दोलन रोकिँदैन ।’ 

‘सानो ठाउँमा जघन्य अपराध भएको आठ दिन बितिसक्दासमेत प्रहरीले किन अपराधीको सुइँको पाउन सकेको छैन’ भन्दै प्रदर्शनकारीले प्रश्न गरेका छन् । विद्यार्थीको आन्दोलनमा समर्थन जनाउँदै सदरमुकामका स्थानीय पनि सडकमा उत्रिएका छन् । आन्दोलनको नेतृत्व भने स्थानीय किशोरीहरूले नै गरिरहेका छन् । ‘प्रहरीले जतिजति ढिलासुस्ती गर्छ त्यतित्यति आन्दोलन उग्र बन्ने खतरा छ,’ आन्दोलनकारी निरु टेरले भनिन् । बिहीबारको आन्दोनलनका क्रममा पनि केही उग्र प्रदर्शनकारीले प्रशासनको गेट तोडेर भित्र प्रवेश गर्ने प्रयास गरेका थिए । जसका कारण आन्दोलनको नेतृत्व गरिरहेकाहरूले पूर्वनिर्धारित तालिकाविपरीत कोणसभा नगरीकनै कार्यक्रम समापन गरेका थिए । 

हत्या भएको तेस्रो दिन जिल्ला अस्पताल बैतडी पु¥याइएको भागरथीको शव भोलिपल्ट मात्रै पोस्टमार्टम गरियो । दोषी पत्ता नलाग्दासम्म शव नउठाउने आफन्तको अडानपछि अस्पतालको शवगृहमा उनको शव राखिएको छ । 

शव सुरक्षित राख्न मिल्ने ‘मर्सरी बक्स’ नभएका कारण अस्पतालले विभिन्न उपाय अपनाएर शव जोगाउने प्रयास गरेको छ । तर, त्यसरी धेरै समय राख्न नसकिने अस्पतालको भनाइ छ । भागरथीको शव काठको बाकसमा राखिएको छ । ‘डिपफ्रिजमा आइस बनाएर बाकसभित्र राख्दै शव चिस्याइरहेका छौँ,’ जिल्ला अस्पतालका डा. वसन्त जोशीले भने, ‘दिनहुँ आइस फेर्दै गरे पनि यो सुरक्षित हुँदैन ।’ 

अस्पतालका अनुसार आठौँ दिनसम्म आइपुग्दा भागरथीको अनुहार चिन्न सकिने अवस्थामा छ । तर, गन्हाउने क्रम बढ्दै गइरहेको छ । जिल्ला अस्पतालले ‘मर्सरी बक्स’ मगाउने प्रयास गरे पनि तत्काल सम्भावना न्यून देखिन्छ । ‘धनगढी र काठमाडौंसम्म खोजी गर्दा पनि मिलेन । बाहिरबाटै मगाउनुपर्ने देखिन्छ,’ डा. जोशीले भने, ‘प्रदेशको सामाजिक विकास मन्त्रालयदेखि मुख्यमन्त्रीसम्मलाई जानकारी गराएका छौँ । प्रक्रिया सुरु भइसकेको भन्ने सूचना पाइएको छ ।’