मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ माघ २९ बिहीबार २१:५८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ 

Read Time : > 1 मिनेट
२०७७ माघ २९ बिहीबार २१:५८:००

विद्यार्थीमाथि कक्षाकोठामै यौन दुर्व्यवहार गर्ने शिक्षक शालिकराम पोखरेल पक्राउ परेका छन् । पीडित बालिकाका तर्फबाट अभिभावक गीता राईले इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दर्ता गराएसँगै कमल गाउँपालिका– ३ सहिद धर्मभक्त माविका शिक्षक पोखरेललाई प्रहरीले पक्राउ गरेको हो । 

पढाउने क्रममा विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरी जिल्ला अदालत झापाबाट पाँच दिन म्याद थपिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । पोखरेललाई इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान भइरहेको उनले बताए । यो घटनाबारे नयाँ पत्रिका दैनिकले निरन्तर समाचार प्रकाशन गरेपछि राजनीतिक दबाबका बीच एकजना अभिभावकले जाहेरी दर्ता गराएकी हुन् ।

विद्यालयका शिक्षक पोखरेल र शिव भट्टराईले अधिकांश बालिकालाई कक्षाकोठामै यौन दुर्व्यवहार गर्ने गरेको आरोप लगाएका थिए । यद्यपि एकजना अभिभावकले पोखरेलविरुद्ध मात्रै जाहेरी दिएकी हुन् । दशभन्दा बढी अन्य विद्यार्थी र अभिभावक यसअघि जाहेरी दिनका लागि आइतबार इलाका प्रहरी कार्यालय दमक आएका थिए ।

उनीहरूले जाहेरी तयारी पारेर दर्ता गर्न प्रहरी कार्यालय जाँदै गर्दा दर्ता गर्न दिइएको थिएन । विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा कमल– ३ का वडा सदस्य चक्रबहादुर गुरुङ र शिक्षक–अभिभावक संघ अध्यक्ष लेखनाथ खतिवडाले जाहेरी दर्ता नगरी दबाबमा फर्काएका थिए । शिक्षक पोखरेल ओली समूहमा आबद्ध भएका कारण उनका विरुद्ध जाहेरी दिन गुरुङ र खतिवडाले रोक लगाएका हुन् । गुरुङ तत्कालीन एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् भने अहिले ओली समूहको नेकपामा छन् । खतिवडा पनि ओली समूहको नेकपाका स्थानीय नेता हुन् । 

विद्यालय व्यवस्थापन समितिले सोमबार बिहान विद्यालयमा कार्यपालिका सदस्य, गाउँपालिका शिक्षा शाखा, अभिभावक, विद्यार्थी र शिक्षकसहितको बैठक राखेर दुवै शिक्षकलाई माफीसमेत मगाए । माफी मागेपछि शिक्षक भट्टराईले सोही विद्यालयमा पढाने सहमति भएको छ भने पोखरेललाई अन्तै सरुवा गर्ने सहमति भएको थियो । 

महिला आयोगमा पनि उजुरी 

विद्यार्थीमाथि भएको दुर्व्यवहारविरुद्ध राष्ट्रिय महिला आयोगमा पनि उजुरी परेको छ । पोखरेलकी पूर्वविद्यार्थी दीपा दाहालले उजुरी दर्ता गराएकी हुन् । कमल– २ को कमला मदनआश्रित विद्यालय पढ्दा आफूहरूमाथि पनि पोखरेल दुर्व्यवहार गरेको उनको आरोप छ । ‘उहाँ ( पोखरेल) हामीमाथि पनि त्यस्तै दुर्व्यवहार गर्नुहुन्थ्यो । हामी खुल्न सकेनौँ । शिक्षकविरुद्ध बोल्दा सहयोग पाइँदैन भन्ने डर थियो,’ उनले भनिन्, ‘यो घटना सुनेपछि उकुसमुकुस भयो । त्यही भएर आयोगमा दर्ता गरेँ ।’ 

उजुरी दर्ता भएको र इलाका प्रहरी कार्यालय दमक, सम्बन्धित विद्यालय र कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेसँग समन्वय भइरहेको आयोगले जनाएको छ ।