मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ माघ २९ बिहीबार १४:४४:००
Read Time : > 1 मिनेट
विश्व

सुरुङ प्वाल पारेर उद्धारको प्रयास

Read Time : > 1 मिनेट
२०७७ माघ २९ बिहीबार १४:४४:००

भारतको उत्तराखण्डमा गत आइतबार गएको हिमपहिरोको कारण  विद्युतगृहको सुरुङमा फसेका व्यक्तिहरूलाई सुरुङमा प्वाल पारेर उद्धारको प्रयास गरिएको छ । उद्धारमा संलग्नहरूद्वारा जारी विज्ञप्तिअनुसार बिहीबारबाट सुरुङ प्वाल पारेर उद्धार थालिएको हो ।

भारतको उत्तराखण्डको तपोवनमा हिमपहिरो पसेर क्षतिग्रस्त बनेको जलविद्युत् प्लान्टमा आइतबारदेखि श्रमिकहरूले रातदिन ढुंगा र माटो सफा गर्दै आएका छन् । 

बिहीबारसम्म हिमपहिरोमा परेका ३४ जनाको शव फेला परेको छ । हिमपहिरोका कारण अरू एक सय ७० भन्दा बढी अझै पनि हराइरहेको अधिकारीले जानकारी दिएका छन् । बेपत्ता भएका अधिकांश व्यक्ति विद्युतगृहमा कार्यरत मजदुर हुन् । सरकारी अधिकारीले बेपत्ता भएका व्यक्तिको खोजी तथा उद्धार जारी राखिएको पनि बताएका छन् । 

मृतक तथा बेपत्ता हुनेहरूमा भारतको उत्तराखण्ड, उत्तर प्रदेश, पश्चिम बंगाल, बिहार, झारखण्डका व्यक्तिहरू छन् । केही व्यक्ति भने नेपाली पनि हुन सक्ने अधिकारीको भनाइ छ । दुईवटा जलविद्युत् परियोजना बनाइरहेको ठाउँमा हिमपहिरो गएको हो । आइतबार आएको हिमपहिरोका कारण तीव्र वेगको पानी र हिउँले पुल, सडक र दुईवटा विद्युतगृहमा क्षति पुगेको छ । 

स्थानीयवासी ओम अग्रवालले हिमपहिरोपछि नदीको भेल पहाड खसेजस्तै देखिएको र नदी वरपरको जमिनमा भूकम्प गएझैँ अनुभव गरिएको बताए । विद्युतगृहको सुरुङमा पसेको बाढी, माटो र ढुंगाका कारण केही मानिस सुरुङभित्रै थुनिएको उद्धारकर्मीको भनाइ छ । धेरैजना उद्धारकर्मी सोमबार बिहानैदेखि खटिएका छन् । राष्ट्रिय र राज्य उद्धार टोली, सेना र प्रहरीका टोली घटनास्थलमा खटिएका छन् ।

भारतीय अधिकारीले हिउँको ठूलो हिस्सा एकाएक नदीमा खसेपछि ठूलो बाढी आएको बताएका छन् । तर, यो हिमताल विस्फोट भएर हिमपहिरोमा परिणत भएको र त्यो नदीमा खसेको पाइएको छ । विश्वव्यापी तापमान वृद्धिको प्रभावका कारण यस क्षेत्रमा हिमनदीका मुहान क्षेत्र बिस्तारै सुक्दै गएका छन् भने जलविद्युत् निर्माणले पनि हिमपहिरा बढी नै जान थालेको विज्ञले औँल्याएका छन् । सन् २०१३ मा आएको बाढीले ६ हजार व्यक्तिको ज्यान गएको थियो ।