मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रमेश सापकोटा
२०७५ मङ्सिर २८ शुक्रबार ११:२३:००
Read Time : > 2 मिनेट
समाचार

कांग्रेस बैठकमा देउवा–पौडेल जुहारी

कांग्रेसको आम्दानीभन्दा खर्च झन्डै दुई करोड बढी

Read Time : > 2 मिनेट
रमेश सापकोटा
२०७५ मङ्सिर २८ शुक्रबार ११:२३:००

कांग्रेसको राजनीतिक तथा सांगठनिक प्रस्तावमाथिको छलफलमा शीर्ष नेताहरू नै आरोप–प्रत्यारोपमा उत्रिएका छन् । बिहीबारको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच चुनावी हारका विषयमा भनाभन नै चल्यो । 

नेतृत्वले राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा चुनावी पराजय स्विकारेर नयाँ कार्यक्रम नल्याएको भन्दै पौडेल र उनी पक्षधर नेताहरूले आपत्ति जनाएपछि देउवाले प्रतिवाद गरे । ‘चुनाव जित्न नसक्नेले नै चुनावी हारबारे टिप्पणी गरेको सुहाउँदैन’ भन्दै उनले रामचन्द्र पौडेलको आलोचना गरे ।

पौडेल पक्षधर गगन थापा, प्रदीप पौडेल र कल्याण गुरुङले पनि प्रतिवेदनमा नेतृत्वले चुनावी परिणाम कमजोर भएको विषय नसमेटेकोमा आपत्ति जनाए । बैठकले राजनीतिक र विधानबाहेक सांगठनिक प्रतिवेदन र आर्थिक प्रस्ताव पारित गरेको छ । राजनीतिक प्रस्ताव र विधानबारे थप छलफल गर्न शुक्रबार बैठक डाकिएको छ । राजनीतिक प्रस्तावमा कमजोरी नै नकेलाइएको भन्दै नेता रामचन्द्र पौडेलले आपत्ति जनाएपछि शुक्रबार थप छलफल गरेर मात्र प्रस्ताव पारित गर्ने सोचमा सभापति शेरबहादुर देउवा पुगेको एक केन्द्रीय सदस्यले जानकारी दिए । 

कसले के भने ? 
कमजोरी केलाए मात्रै पार्टी बलियो : गगन थापा

पार्टीबाट महासमितिमा प्रस्तुत हुने प्रतिवेदनले कांग्रेस नेतृत्वमा संविधान जारी भएको, निर्वाचन गराएको भनेर उल्लेख ग-यो । हाम्रै नेताले गराएको निर्वाचनमा पार्टी पराजय कसरी भयो भन्नेबारेमा बोल्दै बोलेन । हाम्रो राजनीतिक प्रस्तावले निर्वाचन नै चिनेन । एमाले र माओवादीबीचको गठबन्धनका कारण हामी निर्वाचन हार्न पुग्यौँ भन्दै छौँ । तर, यो गठबन्धनभन्दा अगाडि नै हामी स्थानीय तहको निर्वाचनमा पराजय भएको विषय प्रस्तावमा आएनन् । राजनीतिक प्रस्तावमा पार्टी संगठन प्रभावकारी नभएको, प्रतिपक्षीय भूमिका कमजोर रहेको कुरा कहीँ गरिएको छैन । संघीय संसद् र प्रदेशको निर्वाचनमा धेरै ठाउँमा हारे पनि स्थानीय तहमा हामी दुई सयभन्दा बढी ठाउँमा जितेका छौँ । हामीले जितेका ठाउँमा के गरिरहेका छौँ, के गर्ने तयारी छ भनेर पनि उल्लेख गरेका छैनौँ । 

अधिवेशन नभएको भ्रातृ संस्थाको उस्तै दुरावस्थाबारे हामी केही बोल्दैनौँ । भएका कमजोरीलाई स्विकारौँ, ढाकछोप नगरौँ भन्ने हाम्रो भनाइ हो । कमजोरीलाई लुकाएर होइन, स्विकार्दै संगठनमा सुधार गरे मात्रै पार्टी बलियो बन्छ । 

राजनीतिक प्रतिवेदनमा संगठनको चित्र आएन : प्रदीप पौडेल
सांगठनिक प्रस्तावमा संगठनको चित्र आएन । अर्को महासमिति बैठकसम्मको योजना पनि आएन । कुनै पनि प्रस्तावले कांग्रेसको अवस्था बुझाएनन् । केन्द्रीय समितिले निर्वाचन पराजयको सामूहिक निर्वाचनको जिम्मा लिने भन्यो । तर, अहिले दुई कम्युनिस्ट पार्टी मिलेकाले हामी हा-यौँ भनेर पहिले स्वीकारेका आन्तरिक कमजोरीलाई पनि लुकाउने काम भयो । 

कम्युनिस्ट पार्टीले सरकार चलाएको १० महिनापछि प्रस्ताव आउँदा पनि सरकारका विकृति केलाउन सकिएन । कार्यकर्ताले पढ्दा तागत भरिने गरी आउनुपर्ने राजनीतिक प्रस्ताव साह्रै फितलो भयो । संविधान जारी गरेको श्रेय लिन खोज्ने तर, संविधानको मूलभूत विषयमा प्रश्न उठाउने अवस्था बन्यो । धर्मको विषय अहिले उठाइएको छ । यसलाई विवादित नबनाईकन छलफलबाट टुंग्याउनुपर्छ । 

चुनावमा टिकट बेचिएको बारेमा पनि बोलौँ : कल्याण गुरुङ
हामीले एकपछि अर्को गल्ती गर्दा गत निर्वाचनमा पराजय बेहो-यौँ । निर्वाचनमा समानुपातिकको टिकट बेच्नेको बारेमा राजनीतिक प्रस्तावमा लेख्नुपथ्र्यो । 

कांग्रेसको आम्दानीभन्दा खर्च झन्डै दुई करोड बढी
कांग्रेसले आर्थिक वर्ष ०७४/७५ मा कुल आयको तुलनामा एक करोड ८४ लाख बढी खर्च गरेको छ । आम्दानी भने पाँच करोड पाँच लाख आम्दानी गरेको कांग्रेसले ६ करोड ९० लाख खर्च गरेको हो । 

आव ०७२/७३ मा पनि पार्टीको आम्दानीको तुलनामा दुई करोड ४८ लाख खर्च बढी भएको थियो । यस्तै, ०७३/७४ मा आम्दानीको तुलनामा दुई करोड बढी खर्च गरेको थियो । 

खर्च पारदर्शी र व्यवस्थित कोष सञ्चालन गर्न सुझाब
पार्टी सदस्य एवं शुभेच्छुकबाट आउने सदस्यता शुल्क, नवीकरण शुल्क, चन्दा एवं लेबी नै पार्टीको आर्थिक स्रोत भएको कांग्रेसले जनाएको छ । व्यावसायिक क्षेत्रबाट खर्चिला कार्यक्रममा मात्रै सहयोग प्राप्त हुने भएकाले नियमित पार्टी सञ्चालन आन्तरिक कोषबाटै गर्नुपर्ने पद्धति बसाल्न सुझाब दिइएको छ । क्रियाशील सदस्यता शुल्क, संघीय र प्रदेश सांसदबाट प्राप्त हुने लेबी नियमित र व्यवस्थित बनाउन सुझाब छ । यस्तै, कार्यकर्ता एवं पेसाकर्मीलगायतका शुभचिन्तकबाट प्राप्त रकम पारदर्शी रूपले खर्च गर्ने र व्यवस्थित रूपले अभिलेखीकरण गर्ने व्यवस्था पार्टीका सबै तहका आर्थिक कोषमा गर्न सुझाइएको छ । लेखापरीक्षण समितिका संयोजक श्याम घिमिरेले केन्द्रीय समितिमा यो प्रतिवेदन पेस गर्दै सुझाब दिएका हुन् । 

ऋण काढेर खर्च व्यवस्थापन
आम्दानीको तुलनामा खर्च बढी भएपछि कांग्रेसले ऋण काढेर आर्थिक व्यवस्थापन गर्ने गरेको जनाएको छ । पार्टीनिकट शुभेच्छुकहरूको सहयोगमा यस्तो खर्च जुटाएको जनाएको छ । ‘आम्दानीभन्दा खर्च बढी भएको चुनावले गर्दा हो । खर्च सापटीबाटै अहिले व्यवस्थापन गरेका छौँ,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘अब झन्डै पाँच लाख सदस्यको नवीकरण शुल्कबाट एक सयका दरले पाँच करोड उठ्दा पार्टी नाफामा जान्छ । ऋण पनि तिरिन्छ ।’

बचत चार करोडभन्दा बढी
लेखापरीक्षणमा पार्टीको आम्दानीको तुलनामा खर्च बढी देखाइए पनि कांग्रेसँग ‘फिक्स्ड डिपोजिट’मा २ करोड २० लाख र अर्को एउटा छुट्टै बचत एक करोड ९० लाख रहेको लेखापरीक्षण समितिका संयोजक श्याम घिमिरेले बताए । पार्टी खर्च घाटा पूर्ति गर्ने गरी बचत भए पनि भैपरी आउने खर्चका लागि ‘फिक्स्ड डिपोजिट’ खाता सञ्चालन गरिएको उनले बताए ।