Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ माघ २९ बिहीबार ०८:५०:००
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

ब्ल्याक कफी स्वास्थ्यका लागि कति फाइदाजनक ?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ माघ २९ बिहीबार ०८:५०:००

यदि ब्ल्याक कफी नियमित पिउनुहुन्छ भने, यो तपाईंका लागि स्वस्थ्यकर हुने अध्ययनले देखाएको छ । अमेरिकन हर्ट एसोसिएसन (एएचए)ले गरेको तीन ठूला अध्ययनले दैनिक एक वा त्योभन्दा बढी कफी पिउने व्यक्तिमा मुटुसम्बन्धी रोग कम लाग्ने देखाएको छ । ब्ल्याक कफी नियमित पिउने व्यक्तिहरूमा ‘हर्ट फेलर’को समस्या कम हुने अध्ययनको निष्कर्ष छ ।

अध्ययनअनुसार क्याफिनरहित कफीले भने यो फाइदा दिनेछैन । अध्ययनबाट प्राप्त तथ्यांकको विश्लेषणले क्याफिनरहित कफी र मुटुबीच अचम्मको सम्बन्ध देखाएको छ । यसको अर्थ, क्याफिनसहितको कफीले मानव मुटुलाई धेरै नै फाइदा पुर्‍याउनेछ ।

जब मुटुले शरीरलाई स्फूर्त बनाई राख्न आवश्यक अक्सिजनका लागि पर्याप्त रगत उपलब्ध गराउन सक्दैन, त्यसवेला ‘हर्ट फेल’ भएको मानिन्छ । हर्ट फेल भएको अवस्थामा थकान र सास फेर्न गाह्रो भएको महसुस हुनेगर्छ । यसले खुड्किलो उक्लिन बाहिर हिँडडुल गर्न र अरू दैनिक क्रियाकलापमा पनि मुस्किलहुने गर्छ ।

एएचएका लाइफस्टाइल एन्ड कार्डियोमेटाबोलिक हेल्थ काउन्सिल लिडरसिप कमिटीका निवर्तमान अध्यक्ष पेन्नी क्रिस–इथर्टाेन भन्छिन्, ‘यी तीन अध्ययनहरूले के देखाएको छ भने नियमित कफी पिउने बानीले मुटुसम्बन्धी समस्या कम भएको पाइएको छ । क्रिमजस्तो धेरै मात्रामा चिल्लो हुने डेरीउत्पादन र धेरै चिनीविनाको साधा व्ल्याक कफीले मानव मुटुलाई निक्कै फाइदा पुर्‍याउने देखाएको छ ।’ उनी यो अध्ययनमा भने सहभागी थिइनन् ।

सात दशकभन्दा लामो अध्ययन 
एएचएको जर्नल हर्ट फेलरमा मंगलबार प्रकाशित यो रिपोर्टलाई कफी र मुटुसम्बन्धी निकै महत्वपूर्ण मानिएको छ । यो अध्ययनलाई ‘फ्रमिङहम हर्ट स्टडी’ भनिएको छ । यो अध्ययनका लागि कफी पिउने व्यक्तिहरूले स्वतःस्फूर्त रूपमा जवाफ दिएका छन् । यो अध्ययन सन् १९४८ देखि थालिएको हो, जसमा फ्रमिङहम र मासासेचुट्समा बस्ने पाँच हजारजना सहभागी भएका छन् । ७२ वर्ष लामो यो अध्ययनमा तीन पुस्ताका व्यक्तिहरू सहभागी भएका छन् ।

अध्ययनसँगै कफी पिउनुले मानव मुटुलाई स्वास्थ्य बनाउने निष्कर्ष निकाल्नुअघि अध्ययनकर्ताहरूले अरू दुई अध्ययनलाई पनि समावेश गरेका छन्, कार्डियोभास्कुलर हेल्थ स्टडिज र एथेरोस्क्लेरोसिस रिस्क इन कम्युनिटी स्टडी । यी तीनै रिसर्चमा समग्रमा २१ हजार अमेरिकी सहभागी भएका थिए ।

कफी नपिउने व्यक्तिहरूसँग गरिएको तुलनात्मक अध्ययनले दैनिक कफी पिउने व्यक्तिमा मुटुसम्बन्धी समस्यामा धेरै नै कम हुने देखाएको छ । फ्रमिङहममा आधारित रहेर गरिएको अध्ययनले कफी नपिउने व्यक्तिहरूको तुलनामा दैनिक एक कप ब्ल्याक कफी पिउने व्यक्तिमा हर्ट फेल हुने सम्भावना पाँच प्रतिशतले कम देखिएको छ । यस्तै, कार्डियोभास्कुलर हेल्थ स्टडिजका अनुसार भने दैनिक एक कप कफी पिउने व्यक्तिमा हर्ट फेल हुने सम्भावना १२ प्रतिशतले घटेको देखिएको छ । 

एथेरोस्क्लेरोसिस रिस्क इन कम्युनिटी स्टडीले भने कफी नपिउने वा दिनमा एक कप मात्रै पिउने व्यक्तिमा हर्ट फेल हुने सम्भावना उत्तिकै रहेको देखाएको छ । यद्यपि, दिनमा दुई वा त्योभन्दा बढी कप कफी पिउने व्यक्तिहरूमा भने ३० प्रतिशतसम्म हर्ट फेल हुने सम्भावना घटेको देखाएको छ ।

‘क्याफिन र मुटुबीचको सम्बन्ध आश्चर्यजनक देखिएको छ’, अमेरिकाको अउरोरास्थित युनिभर्सिटी अफ कोलोराडो स्कुलअन्तर्गतको कोलोराडो सेन्टर फर पर्सनलाइज्ड मेडिसिनका मेडिकल डाइरेक्टर डा. डेभिड काओ भन्छन्, ‘मानिसहरू क्याफिनसहितको कफीले मुटुलाई नराम्रो गर्ने ठान्छन् । किन भने यसले मुटुको धड्कनलाई छिटो बनाउने, रक्तचाप बढाउनेजस्ता व्यवहार देखिनेगर्छ । यद्यपि, यी अध्ययनहरूले नतिजा उल्टाएको छ ।’

सावधानी
यी सबै अध्ययन ब्ल्याक कफीमा आधारित रहेर गरिएको छ । यद्यपि, व्ल्याक कफीमा पनि कतिपयले डेरी उत्पादन, चिनी वा अन्य कुरा मिसाएर खाने गर्छन् । बढी क्यालोरी, चिनी र चिल्लोको मात्रा बढी भएका खाने कुरा खाँदा भने ब्ल्याक कफीले दिने फाइदा पूर्णरूपमा प्राप्त नहुने एएचएले सचेत गराएको छ । यसमा कफीको मात्राले पनि फरक पार्न सक्छ । तपाईंले आफ्नो कफी कसरी तयार पार्नुभयो भन्ने कुराले पनि स्वास्थ्यमा अर्थ राख्नेछ ।

यस्तै, केही व्यक्तिलाई धेरै मात्राको क्याफिनले पनि असर गर्न सक्छ । गर्भवती महिलाले पनि कफी पिउँदा सावधानी अपनाउन आवश्यक छ । दिनमा चार कपभन्दा बढी कफी पिउने गर्भवती महिलाका लागि हानिकारक हुन सक्छ । केही व्यक्तिले कफी पिउँदा निद्रा नआउनेजस्ता समस्या आएको पनि बताएका छन् । यस्ता व्यक्तिले भने धेरै मात्रामा कफी पिउनुअघि सावधानी अपनाउनु आवश्यक छ ।