मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
दिपेश शाही काठमाडौं
२०७७ माघ २९ बिहीबार ०५:४७:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

युवा नेता झन् आक्रामक

Read Time : > 3 मिनेट
दिपेश शाही, काठमाडौं
२०७७ माघ २९ बिहीबार ०५:४७:००

मुखमा लगाएको कालो टेप च्यातेर रामकुमारी झाँक्री बोलिन्–बोल्न पाइन्छ, हामीले ल्याएको व्यवस्थामा बोल्न पाइन्छ । नागरिकको मुखमा टेप टाँसिएको छैन । सर्वसत्तावादका विरुद्ध बोल्न पाइन्छ । संविधानको चीरहरण गर्नेका विरुद्ध बोल्न पाइन्छ । संविधान र कानुनी राज्यको खिलाफमा सेटिङ र बन्द कोठाभित्र भएका अँध्यारा षड्यन्त्रका विरुद्ध बोल्न पाइन्छ ।

                            ......

नेकपाको प्रचण्ड–नेपाल समूहको विरोध सभामा दोस्रो तहका नेताहरू पनि आक्रामक देखिएका छन् । प्रतिनिधिसभा विघटनपछिको सडक–संघर्षमा ‘फ्रन्टलाइनर’को भूमिकामा रहेका उनीहरूले बुधबार विरोध सभामा छोटो, तर निकै आक्रामक सम्बोधन गरे ।

केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले आफूहरूले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता रहेको बताइन् । ‘बोल्न पाइन्छ, हामीले ल्याएको व्यवस्थामा बोल्न पाइन्छ । नागरिकको मुखमा टेप टाँसिएको छैन । सर्वसत्तावादका विरुद्ध बोल्न पाइन्छ,’ मुखमा लगाएको कालो टेपको क्रस निकालेपछि युवा नेतृ झाँक्रीले विना कुनै सम्बोधन बोल्न सुरु गरिन्, ‘संविधानको चीरहरण गर्नेका विरुद्ध बोल्न पाइन्छ । संविधान र कानुनी राज्यको खिलाफमा सेटिङ र बन्द कोठाभित्र भएका अँध्यारा षड्यन्त्रका विरुद्ध बोल्न पाइन्छ ।’

झाँक्री मञ्चमा निकै आक्रामक र प्रतिरोधी शैलीमा उपस्थित भइन् । ‘प्रतिगमन मुर्दावाद’ लेखिएको ज्याकेट फुकाल्दै मञ्चमा पुगेकी उनललाई दर्शकदीर्घाबाट भव्य स्वागत भयो । उनले धाराप्रवाह करिब सात मिनेटभन्दा बढी बोलिन् । सम्बोधनका क्रममा उनले प्रधानमन्त्री ओलीको कदममा राष्ट्रपति विद्यादेवी भण्डारीले खेलेको भूमिका र त्यस विषयमा आफूले बोल्दा ओली पक्षबाट भइरहेको आक्रमणको कडा प्रतिवाद गरिन् । 

सहिद, घाइते र बेपत्ताहरूको रगत र पसिनाबाट प्राप्त उपलब्धिलाई एकै रातमा च्यातचुत पारेको भन्दै प्रधानमन्त्री ओलीको कदमविरुद्ध निरन्तर बोल्ने बताइन् । काठमाडौंका सडकमा उर्लेको मानवसागरले ओली कागजी वादशाहका रूपमा ढलिसकेको र अन्तिम घोषणा गर्न मात्रै बाँकी रहेको उनको भनाइ थियो । उनले आज दरबारमा जस्तै रजाइँ गर्नेहरू संघर्षका दिनमा कहाँ थिए भन्ने हिसाबकिताब दुनियाँलाई थाहा भएको भन्दै ओली पक्षको आलोचना गरिन् । 

केही दिनअघि प्रधानमन्त्री ओलीले नारायणहिटीको प्रांगणमा आयोजना गरेको कार्यक्रममा राखिएका प्रतिमाहरूलाई इंगित गर्दै झाँक्रीले राज्यको ढुकुटी दोहन गरेको बताइन् । ‘तानाशाहले जब आफ्नो कदलाई घटाउँदै–घटाउँदै जान्छन् त्यतिवेला राज्यको सम्पत्तिको दोहन गर्दै कागजका अग्लाअग्ला प्रतिमा मात्रै होइन बुख्याँचा बनाउँछन् । खड्गप्रसादले त्यही गरेका हुन्,’ उनले भनिन् । 

झाँक्रीले राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्रीको असिस्टेन्टजस्तै भएर हरेक निर्णयमा सहीछाप गरेको भन्दै राष्ट्रपति पदमाथि नभएर भण्डारीको प्रवृत्तिमाथि आफू बोलेको र बोल्न पाइने जिकिर गरिन् । राष्ट्रपतिका विषयमा झाँक्रीले दिएको अभिव्यक्तिले महिला अस्मिता मिचिएको भन्दै ओली पक्षको अखिल नेपाल महिला संघले उनलाई कारबाही गर्न माग गरेको थियो । उनले संविधानविरोधी काम गर्ने खलपात्रविरुद्ध बोल्दा होइन, भागरथी भट्ट र निर्मला पन्तहरूको बलात्कार र हत्या हुँदा महिला अस्मिता मिचिएको बताइन् । उनले अंहकारी, सन्की, तानाशाहको प्यादा बन्ने व्यक्तिका विरुद्ध बोल्दा महिला अस्मितामाथि प्रश्न नआउने तर्क गरिन् ।

पार्टीका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्माले ओलीले संघीयता र संविधानलाई पद र कुर्सीसँग साटेको आरोप लगाए । उनले त्यसका विरुद्ध शान्तिपूर्ण आवाज ल्याएर सडकमा आएका जनताको आवाज नसुने विद्रोहमा उत्रिने चेतावनी दिए । ‘जनताका आवाज सुन्दैनन् भने शान्तिपूर्ण आन्दोलन गरिरहेका जनता विद्रोहमा उत्रिन्छन् र संघीयताविरोधीलाई समाप्त पार्नेछन्,’ उनले भने । 

उनले ओलीजस्ता मानिस कसरी पैदा भए भनेर समीक्षा गर्नुपर्ने बताए । ‘यो सीमित अधिकारको परिणाम हो । केपी ओली कसरी पैदा भए ? यसको समीक्षा गर्नुपर्छ । अन्यथा यो स्वीकार गरेनौँ भने फेरि महेन्द्र र ओलीहरू जन्मिन्छन्,’ उनले भने, ‘नेताहरू दलालको बीचमा नभई जनताको बीचमा हुर्कनुपर्छ ।’ उनले जनताका समस्या समाधान गर्न नयाँ कुलमान घिसिङहरू नियुक्त गर्नुपर्ने तथा गाउँगाउँमा शिक्षा र स्वास्थ्यमा लगानी गर्नुपर्ने बताए । त्यसका लागि सक्षम नेतृत्व पनि चाहिने बताए ।

पार्टीका स्थायी कमिटी सदस्य रघुजी पन्तले ओलीको पशुपति यात्राले आफूलाई राजा वीरेन्द्रको याद आएको बताए । उनले सधैँ पशुपति गुहार्ने तत्कलीन राजा वीरेन्द्रले पशुपति गुहार्दा वंशनाश भएको र ज्ञानेन्द्रले पशुपति गुहार्दा नारायणहिटीबाट नागार्जुन पुग्नुपरेको स्मरण गरे । उनले पशुपतिनाथभन्दा ठूलो जनता भएकाले जनताको पक्षमा काम गर्न अनुरोध गरे । उनले केही दिनअघि नारायणहिटी प्रांगणमा बोल्ने क्रममा आफूले तमाम काम गरेको दाबी गरेको पाँच मिनेटपछि नै आफूलाई प्रचण्ड र माधवले काम गर्न नदिएको भनेर जनतालाई ढाँटेको बताए ।

त्यस्तै नेकपाका केन्द्रीय सदस्य रामचन्द्र झाले प्रधानमन्त्री केपी ओली झुटलाई डेन्टिङ–पेन्टिङ गरेर सत्य बनाउन सक्ने तानाशाह भएको टिप्पणी गरे । ‘ओली ती तानाशाह हुन्, जो झुटलाई डेन्टिङ–पेन्टिङ गरेर सत्य नै त्यही हो भन्ने बनाउन सक्छन्, त्यो हामीलाई पहिल्यैदेखि थाहा भएकै कुरा हो,’ नेता झाले भने । झाले ओलीको विकास भ्रष्टाचार गर्ने र कमिसन खाने मात्रै भएको बताए । ‘मदन भण्डारीका नाममा ब्रह्मलुट मच्चाइएको छ, उहाँका भित्ता हेर्नुहोस्, उहाँका गाडीहरू हेर्नुहोस्, कहाँबाट प्रायोजित छन् ? यो कस्तो राष्ट्रवाद हो ?’ झाले प्रश्न गरे ।

अर्का स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले ओलीले लोकतन्त्रको अपहरण गरेर मनपरीतन्त्रको शासन सुरु गरेको बताए । ‘संसद् विघटन भयो भने संविधान विस्थापित हुन्छ, संविधान अपांग हुन्छ र संविधान कोमामा जान्छ,’ उनले भने, ‘आज यो संविधान कोमामा पुर्‍याउने काम भएको छ । लोकतन्त्रको अपहरण गरेर मनपरीतन्त्रको शासन सुरु गरिएको छ ।’ सभामा गुरुङले कामचलाउमा परिणत भइसकेको सरकारले तथानामी रूपले राजनीतिक नियुक्ति गरिरहेकोप्रति समेत विरोध गरे । गुरुङले ताजा जनादेशका नाममा वैशाखमा चुनावको मिति घोषणा गरे पनि त्यो निर्वाचन नहुने बताए । 

अनेमसंघकी अध्यक्ष अमृता थापाले प्रधानमन्त्री ओलीलाई बालकोट गएर बस्न सुझाब दिइन् । उनले राजा–महाराजालाई सत्ताबाट हटाएका जनताले राजा–महाराजा बन्न खोज्ने ओलीलाई सहजै हटाउन सक्ने बताइन् । प्रधानमन्त्री ओलीले एकपटक पनि संसदीय दलको बैठक नराखेको भन्दै थापाले झुटको राजनीति नगर्न चेतावनी दिइन् ।

त्यस्तै, पार्टी केन्द्रीय सदस्य अञ्जना विशंखेले राष्ट्रपति भण्डारीको नेपाली महिला आन्दोलनमा भूमिका भए पनि ओलीको कार्यकर्ताका रूपमा आफ्नो भूमिकालाई खुम्च्याएकाले त्यसले सिंगो नेपाली महिला आन्दोलनको शिर निहुरिएको बताइन् । उनले चुनावी घोषणापत्रअनुसार प्रधानमन्त्रीले काम नगरेकाले आफू सबैले माफी माग्दै जनतामा जानुपर्ने बताइन् । ‘हाम्रा मुद्दाहरू सडकमा छरिए, हामीले सत्तामा हाम्रा मुद्दाहरूलाई एड्जस्ट गराउन सकेनौँ । ती मुद्दाहरू हाम्रा थिए, केपी ओलीका थिएनन् । उनी मात्र प्रधानमन्त्री बन्नलाई साक्षी बसेका थिए । अब प्रधानमन्त्रीको नाटकलाई सडकले नंग्याइसकेको छ,’ उनले भनिन् ।

नेकपाका केन्द्रीय सदस्य सन्तकुमार चौधरीले प्रधानमन्त्री ओलीको दिनगन्ती सुरु भएको बताए । उनले संविधान र संघीयतामाथि आक्रमण भएको भन्दै ओलीले संघीयता मास्न नसक्ने जिकिर गरे । ‘खबरदार ! केपीजी, संघीयतालाई मास्न पाइँदैन । लाखौँलाख जनता गाउँगाउँबाट सडकमा उत्रिसके,’ उनले भने, ‘तपाईंको दिनगन्ती सुरु भइसक्यो । तपाईंलाई समाप्त पार्ने आन्दोलनमा जनता होमिइसकेका छन् ।’ उनले ओलीको प्रतिगामी कदमका विरुद्ध २० जिल्लाका थारूहरूले विद्रोहको झन्डा उठाएको बताए । ‘२० जिल्लाका लाखौँलाख थारूहरूले विद्रोहको झन्डा उठाइसके । अब २०औँ लाख थारूहरूले ओलीलाई बालुवाटारबाट घिसारेर सडकमा फाल्नेछन्,’ उनले भने ।